फेरी भौतीक संरचनामा आक्रमण: देशभरका १७ वटा एनसेलको टावरमा बम विस्फोट, विप्लवका कार्यकर्तामाथि प्रहरीको आशंका

 

२ फागुन,नेपालगञ्ज/ सञ्चार सेवा प्रदायक संस्था एनसेलका बिभिन्न ठाउंमा रहेका १७ टावरमा बम बिस्फोट गरी  टावरमाथि पूर्ण र आंशिक क्षति पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ।

सोमबार राति र मंगलबार दिउँसै गरिएका आक्रमणबाट एनसेलका टावर पूर्ण र आंशिक क्षति भएका छन ।  मंगलबार काठमाडौंका ३ वटा टावर त पूर्णतः ध्वस्त भएका प्रहरीले जानकारी दिएको छ।

काठमाडौंको जोरपाटी, दक्षिणकाली र जहरसिंह पौवामा रहेका ३ टावर ध्वस्त भएका छन्।  त्यस्तै, सुनसरीको इटहरी उप-महानगरपालीका ११ खनारमा रहेको एनसेल टावरमा आगजनी तथा तोडफोड गरिएको छ।

धनकुटा नगरपालिका वडा नम्बर १० थुम्कीडाँडामा रहेको एनसेल टावर ध्वस्त पारिएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ८ मा रहेको टावरमा पनि क्षति पुर्‍याइएको छ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको एनसेलको टावरमा ताडफोड र आगजनी भएको छ। कञ्चनपुरको बेदकोट र शुक्लाफाँटामा रहेका एनसेलका टावर ध्वस्त पारिएको छ।

डडेल्धुराको काफलीमा रहेको क्षेत्रिय टावर पनि ध्वस्त पारिएको छ। कैलालीको टिकापुर र जानकीनगरमा रहेका टावरमा आक्रमणबाट क्षति पुर्‍याइएको छ।

सुर्खेतका ३ वटा टावरमा पूर्ण रुपमा क्षति पुर्‍याइएको छ। त्यस्तै, जाजरकोटका २ वटा टावरमा आक्रमण भएको छ भने रोल्पाको माडी गाउँपालिका ६ को मेनै डाँडामा रहेको टावरमाथि आक्रमण गरिएको छ।

उता मकवानपुरको मनहरीमा पनि एउटा एनसेल टावर ध्वस्त बनाइएको छ। यसरी आक्रम गरेर मुलुकभरका १७ एनसेल टावर ध्वस्त गरिएको प्रहरीले जानकारी दिएको छ।

आक्रमण नेत्र विक्रम चन्द नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले गराएको प्रहरीको आशंका छ। माओवादीको जनयुद्ध दिवसको अवसरमा एनसेलका टावरमाथि क्षति पुर्‍याएको हुनसक्ने प्रहरी आशंका छ।