देउवाद्धारा प्रधानमन्त्री पदबाट राजिनामा: नेकपा एमालेका अध्यक्ष के.पी. ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त

३ फागुन,काठमाडौं/ प्रदेश तथा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बहुमत प्राप्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम उहालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

संविधानको धारा ७६ को उपधारा २ मा “प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।”

निर्वाचन आयोगले निर्वाचनको पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाए सँगै वाम गठबन्धनले संयुक्त सरकारको दाबेदारी प्रस्तुत गरेको थियो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शितल निवास पुगेर आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको भन्दै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिपाउ भनेर दाबेदारी प्रस्तुत गर्नुभएको थियो ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक प्रणालीबाट चुनिएका छन् । सरकार गठनका लागि प्रतिनिधिसभामा १ सय ३८ सिट आवश्यक छ ।
वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी दुई दलको सिट जोडदा १ सय ७४ पुग्छ । प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ । वाम गठबन्धनबाटै चुनाव लडेको राष्ट्रिय जनमोर्चाको १ सिट छ भने राप्रपाले गठबन्धनकै समर्थनमा एक सिट जितेको छ । प्रतिनिधिसभामा कांग्रेस ६३, राष्ट्रिय जनता पार्टी १७, संघीय समाजवादी फोरम १६, नयाँ शक्ति १, नेमकिपा १ र स्वतन्त्रबाट १ जनाको उपस्थिति छ ।

देउवाद्धारा प्रधानमन्त्री पदबाट राजिनामा

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार नै पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै देउवाले पदबाट राजिनामा दिनुभएको छ । राजिनामा दिए लगत्तै देउवा सो पत्र लिएर राष्ट्रपति भवन शितल निवास पुग्नुभएको थियो ।
करिव १५ मिनेट लामो सम्बोधनको क्रममा देउबाले आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी गराउदै तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्वपूर्ण उपलब्धि भएको र स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पुरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पुरा गरेको बताउनु भएको छ ।