६ फागुन,बीरेन्द्रनगर(सुर्खेत०) / प्रदेश नम्बर ६ का मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषदलाई आइतबार पूर्णता दिनुभएको छ । मन्त्रिपरिषदमा ४ एमाले र २ मन्त्री माओवादी केन्द्रका छन् ।
मुख्यमन्त्री माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नियुक्त भएको ४ दिनपछि प्रदेश ६ को मन्त्रीपरिषदले पूर्णता पाएको छ । एमाले र माओवादी केन्द्रका ६ सांसदले आइतबार प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनियताको सपथ लिएका छन ।
मन्त्रीपरिषदमा मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ३ र, एमालेका ४ मन्त्री छन् । एमालेबाट प्रकाश ज्वाला, दलबहादुर रावल, नन्दसिंह बुढा र खड्क खत्री तथा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्रीमा नियुक्त भएका छन् ।
एमालेबाट सल्यानबाट निर्वाचित सांसद प्रकाश ज्वाला आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालु भएको छ । ज्वाला पछिल्लो व्यवस्थापिका संसदमा अर्थ समितिका सभापति हुनुहुन्थ्यो ।
एमाले पोलिट्ब्युरो सदस्यसमेत रहेका ज्वालाले संसदीय दलको नेतामा दाबी गरेपनि अन्तिम समयमा अर्का पोलिट्ब्युरो सदस्य यामलाल कंडेललाई समर्थन गरेका थिए । मन्त्रीपरिषद्को दोस्रो वरियतामा ज्वाला हुनुहुन्थ्यो । मुख्यमन्त्रीमा दाबी गरेका जुम्लाका माओवादी केन्द्रका सांसद नरेश भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
एमालेबाट हुम्लाका दल रावलले सामाजिक विकास मन्त्रालय, डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण, सुर्खेतका खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । ।
माओवादी केन्दबाट रुकुमकी विमला केसीले भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
६ नम्बर प्रदेशका नवनियुक्त मन्त्रीहरुले सपथ लगत्तै आ–आफ्नो मन्त्रालय पुगेर पदवहाली गर्नुभएको छ । नवनियुक्त मन्त्रीलाई लिन मन्त्रालयका गाडी सहित मन्त्रालयका कर्मचारीहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । पदवहाली लगत्तै मुख्यमन्त्री तथा प्रदेश मन्त्रीपरिषदको कार्यालयमा मन्त्रीपरिषद्को पहिलो बैठक बसेको थियो ।
हाम्रो संरचना । ७ फाल्गुन २०७४, सोमबार ०५:४८