न्याय माग्दै सबै निकायमा पुगिसकें,मैले कुनै निकायबाट न्याय पाईन,यताबाट उता जानुस् भन्दै फर्काउछन,अब म कहाँ जाऊ ? : डिएसपि पत्नी गीता

सशस्त्र प्रहरी डीएसपी देव बोहराकी श्रीमती गीता पत्रकार सम्मेलनमा आफुलाई दुर्व्यवहार गर्दै घर निकाला गरिएको विवरण सुनाउँदै ……..

१५ फागुन,नेपालगञ्ज/ शसस्त्र प्रहरीका डिएसपि पदमा रहेका पति देवबहादुर बोहराबाट घर निकालिएपछि न्यायका लागि काखमा ३ वर्षको छोरा लिएर  २४ वर्षीया गीता वली बोहरा न्यायको पुकारका लागी जताततै उजुरी लगाए पनि अझै सम्म न्याय पाउन सकेकी छैनन ।

बांके जिल्लाको राप्ती-सोनारी गाउँपालिका वडा नम्वर २ मदुवाकी गीता वली बोहराका पति देव बहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय प्रशासन, महिला तथा बालवालिका कार्यालयलगायत दर्जन बढी सरकारी निकायमा उजुरी  दिइसकेकी छन ।

‘मैले कुनै निकायबाट न्याय पाईन । यताबाट उता जानुस् भन्दै फर्काउछन्,’ अन्यायबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘न्याय माग्दै सबै निकायमा पुगिसकें । अब म कहाँ जाऊ ।’

०७१ मा डिएसपी बोहरा विवाह गर्ने भन्दै घरमै माग्न गएका थिए । मन मिलेपछि त्यसै बर्ष साउनमा उनीहरुले भागी विहे गरे । त्यसअघि बोहराले जेठी पत्नीसित सम्बन्ध बिच्छेद गरेका थिए । जेठीबाट दुई छोरी छन् । विवाहको एक वर्षपछि अर्कै महिलासंग लागेर आफूलाई यातना दिन थालेको गीताको आरोप छ ।

‘ती महिला घरमै आएर म डिएसपी बोहराको श्रीमती हुँ, तँ को होस् भनेर धम्काउँछिन् । त्यसबारे श्रीमान्संग सोध्दा कुटपिट गर्न थाल्नु भो,’ उनले भनिन्, ‘अहिले आएर सबै परिवार मिलेर घरबाटै निकाला गरिदिए । माइतीको शरणमा बसेकी छु ।’

आफूमाथि हिंसा भइरहेको जानकारी सशस्त्र प्रहरी मुख्यालमा दिएपछि डिएसपी बोहराको आधा तलव उनले पाउँदै आएकी छन् । मुख्यालयमा र विभिन्न निकायमा उजुरी दिएको भन्दै उनले थप शारीरिक तथा मानसिकरुपमा यातना दिन थालेको गुनासो गरिन् ।

‘श्रीमान् प्रहरी अधिकृत भएकाले उहाँको इज्जतमा असर पर्ला भनेर सुरुमा हिंसा सहेरै बसें । तर उहाँ सुध्रिनु भएन । उल्टै ती महिलालाई घरमै पठाएर मार्छु, काट्छु भनेर धम्की दिन लगाउनु भो,’ उनले भनिन्, ‘आफ्नै श्रीमतीलाई बाहिरको महिला लगाएर धम्की दिनु भो । आफै घर आएर कुटपीट गर्नु भो ।’

घरबाट निकाला गर्दा उनले प्रतिकार गरिन् । उनको दाहिने हातको नाडी काटिएको छ । ‘तरवारले हान्न खोजे । प्रतिकार गर्दा काटियो,’ पत्रकार सम्मेलनमा उनको आँखा रसाए । बोहरा अहिले तेह्रथुमस्थित म्याङलुङ सशस्त्र प्रहरी गणका गणपति छन् । यसअघि उनी सिमा सुरक्षा बल नेपालगन्जमा कार्यरत थिए ।

उनले गीता पत्नी भएको स्वीकारे । तर, पछिल्लो समय विवाद गर्न थालेपछि सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेको बताए । ‘मैले उसलाई यातना दिएको र हिंसा गरेको छैन । सुडान गएका बेला केही पैसा तलमाथि गरेपछि विवाद भएको हो,’ उनले कान्तिपुरसित भने, ‘म बिरुद्व २५ ठाउँमा उजुरी दिएकी छन् । मेरो सम्पत्ती खान यो सब गरेको हो ।’ तर गीताले भने उनको दाबीलाई खण्डन गर्दै कुटपिट तथा ज्यान मार्ने धम्कीका कारण अन्तिम स्थितिमा पत्रकार सम्मेलन गरेको बताईन् । ‘घरमा गयो घरपरिवारले लत्ताकपडा बाहिर फाल्दिन्छन् । छोरालाई पनि कुट्छन्,’ उनले भनिन्,‘न्यायका लागि गुहार गर्दै माइतीमा बसेकी छु ।’ कान्तीपुरमा ठाकुर सिह थारुले समाचार लेख्नुभएको छ ।