अन्तत: गायक उदीत नारायण झा जन्मथलो सप्तरीमा फिर्ता, जेठी श्रीमती रन्जना झासित एक हप्ता बस्ने

गायक उदीतनारायण झा जन्मथलो सप्तरीमा हनुमान नगर कंकालनी नगरपालिका -१ भारदहस्थित घरमा स्थानिय ब्यक्तीहरुसंग …

१६ फागुन,भारदह, सप्तरी/ प्रसिद्ध गायक उदितनारायण झा १० वर्षपछि आफ्नो गाउँ सप्तरीको भारदह आएका छन् । जेठी श्रीमती रन्जना झासितको विवादपछि गाउँका बासिन्दा पनि उदितको विपक्षमा उभिएका कारण उनी घर फर्कन पाएका थिएनन् । केही समयअघि आफू भारतीय भएको भनेर प्रतिक्रिया दिएर विवादमा फसेका गायक झा जेठी पत्नी रञ्जना सहित हनुमान नगर कंकालनी नगरपालिका -१ भारदहस्थित घर आएका हुन् ।

सन् १९८८ मा फिल्म कयामत से कयामत तकको ‘पाप कहते है वडा नाम करेगा’ बोलको गीतबाट प्रसिद्धी पाएका उदितले ३० भाषाका १५ हजार गीतमा आफ्नो स्वर दिएका छन् । पछिल्लो समय जेठी श्रीमती रन्जनासित सम्बन्ध सुधार भएपछि घरायसी कार्यका लागि उदित २ दिनअघि घर भारदह आएका हुन् । उनी बुधबार ससुराली (जेठी श्रीमतीको माइती) बिहारको सुपौल जिल्लास्थित अरर्हा निर्मली गएका छन् ।

झा जेठी पत्नी रञ्जनासँग मेलमिलाप भएपछि घर परिवारसँग भेटघाट गर्न आएको बताइएको छ । उनी बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध बिग्रेको थियो । उदीत र रञ्जनाको सम्बन्धका कारण भारतमा हंगामा समेत भएको थियो । तर अहिले दुबैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकारहरुसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बसेर सबै साथीभाईसँग भेटघाट गर्ने बताए । उनले भारदहमा नयाँ घर बनाउने बताउदै उनले जन्मथलोमा धेरै दिनपछि आएकोमा खुशी लागेको बताए ।

उनी भारदहमा आएर आफ्नो परिवारसँग भेटघाट गरेपछि केही वर्षअघि आफू भारतीय भएको भनी मिडियालाई भनेको कुरा आफैं झुटो सावित पनि भएको छ ।