अन्तराष्ट्रिय क्रिकेट काउन्सिल द्वारा नेपाललाई वान-डे अन्तर्राष्ट्रिय मान्यता

१ चैत्र, नेपालगञ्ज/ विश्वकप छनोटको प्लेअफ अन्तर्गत बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वान-डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

अर्को प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले वान-डे अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।नेपालले अब विश्वकप छनोटको सातौं स्थानको खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

नेपालले विश्वकप छनोटको प्लेअफमा पपुवा न्यूगिनी (पीएनजी) लाई ६ विकेटले पराजित गरेको छ । पीएनजीले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको नोक्सानीमा २३ ओभर खेल्दै प्राप्त गरेको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे । ५८ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्का प्रहार गरेका थिए । मध्यक्रममा आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रनको योगदान दिएका थिए ।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले २७.२ ओभरमा पीएनजीलाई १ सय १४ रनमा अल आउट गरको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४(४ विकेट तथा सोमपाल कामी र करण केसीले १/१ विकेट लिएका थिए ।

एकदिवसीय मान्यता पाएको नेपाली टिमलाई अब अन्तराष्ट्रिय खेलमा वृद्धि हुनेछ। जसबाट नेपाली टिमले राम्रा र ठूला टिमसँग खेल्न पाउनेछन्। त्यस्तै, अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले पनि नेपाललाई क्रिकेटको विकासका लागि थप आर्थिक सहयोग प्रदान गर्नेछ। नेपालको घरेलु क्रिकेट संरचना बलियो नभएको र क्रिकेटको विकासमा ध्यान दिनुपर्ने नेपाल क्रिकेट संघ लामो समयदेखि विवाद र निलम्बनमा रहनुका बाबजुद नेपालको यो सफलता महत्वपूर्ण मानिएको छ।