कैलालीको बौनियांमा चक्काजाम


दिनेश पाण्डे/१७ चैत, बौनिया/
सेती लोकमार्ग निर्माणका लागि दवाब दिन कैलालीको बौनियां बजारमा शनिबार विहान चक्काजाम गरिएको छ ।

कैलालीको टीकापुरदेखि बौनिया बजार हुँदै चीनको ताप्लाकोट जोड्ने प्रदेश ७ को बहुप्रतिक्षित सेती लोकमार्ग छिटोभन्दा छिटो निर्माण गर्न दवाब दिने उदेश्यले गठित संघर्ष समितीले दवाव स्वरुप आज बिहान ८ बजेदेखी १० बजेसम्म चक्काजाम गरिएको संघर्ष समितीका अध्यक्ष भोजराज भट्टले बताउनुभयो ।

चक्काजाम अघि बौनियां बजारबाट शुरु भएको र्याली चौराहमा कोण सभामा परिणत भएको थियो । संघर्ष समितीका अध्यक्ष भोजराज भट्टको अध्यक्षतामा भएको कोण सभामा बौनियां बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक सुनार विशिष्ट अतिथी रहनुभएको थियो ।

कोण सभामा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर साउंद , माओवादी केन्द्र बदगोरीयाका सचिव कौशल महतरा , समाजसेवी विर बहादुर चौधरी , बौनियां बजार व्यवस्थापन समितीका पुर्व महांसचिव वृजेश रावल मुडा बजार विकास समितीका अध्यक्ष मिथुन गौतम लगायतले सम्बोधन गर्नुभएको थियो ।

कोण सभामा बोल्ने वक्ताहरुले मागको सुनुवाई नभए सेती लोकमार्ग निर्माणका लागी जस्तोसुकै आन्दोलन गर्न पनि पछी नपर्ने बताएका थिए ।

लोकमार्ग निर्माणको चर्चा चलेको करिब १ दशक बितेपनी यसले अपेक्षाअनुरूप गति लिन नसकेपछि स्थानीय स्तरदेखी केन्द्रसम्म दवाब सृजना गर्न भोजराज भट्टको अध्यक्षता ५१ सदस्यीय संघर्ष समिती गठन गरिएको छ ।
टीकापुरलाई शून्य प्वाइण्ट मानेर निर्माण शुरू भएको लोकमार्ग सुस्तगतिमा अघि बढेकोप्रति यतिबेला चिन्ताको बिषय बनेको छ ।

सरकारले भने चालू आर्थिक वर्ष २०७४/७५ मा लोकमार्ग निर्माणका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

लोकमार्ग निर्माणले पूर्णता पाए चीनसँगको नाका खुल्नुका साथै कैलाश मानसरोवर यात्राका लागि ७ नम्वर प्रदेशबाटै बाटो खुल्ने छ । यसका साथै तिब्बत र ७ नम्बर प्रदेशमा उत्पादित वस्तुले बजार पाउने अपेक्षा प्रदेशवासीले गरेका छन् ।