२६ चैत्र, काठमाण्डौं/ प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिनको औपचारिक राजकीय भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको छ ।
स्वेदश फर्केपछि आइतबार साँझ नै काठमाण्डौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतिय समकक्षीको आमन्त्रणमा नेपाली जनताको अभिमत र भावनाको प्रतिनिधित्व गर्दै भारतको राजकीय भ्रमणमा गएको र त्यसलाई भारतले स्वागत गरेको बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा भ्रमण टोलीमा रहनु भएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको लिखित वक्तव्य पढेर सुनाउनु पनि भएको थियो । लिखित वक्तव्यमा नेपाल र भारतबीचका पुराना सम्झौता सहित रेलमार्ग, जलमार्ग लगायत नयाँ विषयमा भएका सहमतिबारे उल्लेख गरिएको छ।
प्रधानमन्त्री ओलीले भम्रणका क्रममा नेपाल भारतको एतिहासिक सम्वन्धमा थप बलियो बनाउन दुबै मुलुक बीच उत्पन्न भएका र हुने समस्याहरु आपसमा सहमतीको आधारमा समाधान चाहन्छौं भनेर छिमेकी राष्ट समक्ष गम्भीरतापूर्वक राखेको बताउनु भयो।
२२ वर्ष अघि नेपाल र भारत बीच हस्ताक्षर भएको पञ्चेश्वर परियोजनाको डिपिआर टुंग्याउने र नेपालमा सिमरा बाहेक भारतीय आकाशबाट हवाई रुट दिने विषयमा छलफल भएको छ। दुई पक्षीय भेटमा नेपाल र भारतबीच विभिन्न ठाउँमा देखिएका सीमा विवाद, डुबान समस्याका बारेमा पनि छलफल भएको प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा शनिबार १२ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो । वक्तव्यमा नेपालका नदी हुँदै समुद्र सम्म वाटरवेज चलाउने विषयलाई नेपाल भारतको यातायात तथा पारवहन सन्धिमा समावेश गर्ने, रक्सौल–काठमाडौं रेलमार्गको एक वर्ष भित्र सम्भाव्यता अध्ययन गर्ने र नेपालको कृषिलाई व्यवसायिकरण गर्न भारतीय प्रविधिको हस्तान्तरण गर्ने विषयमा सहमति गरिएको छ।
प्रधानमन्त्री ओलीले भन्नु भयो ‘नेपालको नयाँ जनमतलाई भारतले स्वागत गरेको छ । ‘हाम्रो सम्बन्धबारे तस्बिर आफैं बोल्छ,’ ‘नेपाल–भारत सम्बन्ध सौहार्दपूर्ण छ र कसैले बिगार्न चाहेमा बिग्रदैन।’
,‘हामी छिमेकीहरुसंग सम्बन्ध बिगार्दैनौं र बिग्रिदैन, पारस्परिक लाभमा आधारित मित्रतापूर्ण सम्बन्ध अघि बढ्छौं।’
प्रधानमन्त्री ओलीले ‘भ्रमणले विश्वास अभिवृद्धि भएको छ । भ्रमणका क्रममा उल्लेखनीय सम्झौताहरु भएको छ । विगतका सम्झौताहरु कार्यान्वयनमा विषेश पहल भएको जानकारी दिनुभएके छ।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सँगको भेटमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनकै विषयमा बढी केन्द्रित भएको र जलमार्ग, रेलमार्ग कृषिमा सहयोग गर्ने विषयमा पनि कुराकानी भएको बताउनु भयो ।
उर्जा, व्यापार सम्झौता, पञ्चेश्वर परियोजना प्रतिवेदन प्रागमिकतासाथ अघि बढाउनुपर्ने, हुलाकी मार्ग शिघ्र कार्यान्वय गर्ने विषयमा पनि कुराकानी भएको प्रधानमन्त्री जानकारी दिनुभएको छ।
भारतिय सञ्चार माध्यममा नेपाली भ्रमणदलका समाचारमा उच्च प्राथमिकता
प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्ने लगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्या्उने उद्घोष गरेको चीनलाई भारत सरकारको कूटनीतिक जवाफ रहेको भारतिय मिडियाहरुले टिप्पणी गरेका छन् ।
‘गत वर्ष नेपालका ततकालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको बेइजिङ भ्रमणका बेला तिब्बत हुँदै सीमासम्म रेल सञ्जाल विस्तार गर्न आवश्यक प्राविधिक काम थाल्न नेपाल र चीनबीच भएको सहमतिको जवाफमा भारतका तर्फबाट पछिल्लो सहयोगको घोषणा भएको भारतीय दैनिक ‘इन्डियन एक्सप्रेस’ ले लेखेको छ ।
प्रधानमन्त्री ओलीले दुई वर्षअघिको आर्थिक नाकाबन्दीलाई लक्षित गर्दै आजको आधुनिक युगमा वस्तु तथा मानिसको आवागमन अवरुद्ध हुनेरनहुने जिज्ञासा राखेको अर्को अंग्रेजी दैनिक ‘द हिन्दु’ ले लेखेको छ ।
‘द्विपक्षीय तथा क्षेत्रीय कनेक्टिभिटी र पारवहन व्यवस्था सधैं बिना अवरोध सहज ढंगले सञ्चालन हुनुपर्छ,’ ओलीलाई उद्धृत गर्दै ‘द हिन्दु’ ले छापेको छ । भारत र चीन नीतिको निर्णय गर्न नेपाल स्वतन्त्र रहेकामा ओलीले विशेष जोड दिएको उक्त दैनिकले उल्लेख गरेको छ । भारतीय पत्रिकाहरूले प्रधानमन्त्री ओलीलाई ‘भारतले नेपालमा नाकाबन्दी लगाएको विषय बाहिर ल्याएर समाधानको पहल गर्ने व्यक्ति’ को संज्ञा समेत दिएका छन् ।
रेल र जलमार्ग विस्तारमा भएको समझदारीमार्फत नेपाल–भारत सम्बन्ध पुनस्परिभाषित गर्ने प्रयास गरिएको अर्को भारतीय अंग्रेजी दैनिक ‘हिन्दुस्तान टाइम्स’ ले लेखेको छ ।
चीनलाई जवाफ दिन पनि सत्तारोहण पछिको पहिलो विदेश भ्रमणमा निस्केका ओलीलाई भारतले रातो कार्पेट ओछ्याएर स्वागत गरेको उक्त दैनिकले उल्लेख गरेको छ । पत्रिकाले भारत भ्रमणका क्रममा ओलीले विश्वासमा आधारित सम्बन्धमा जोड दिएको बताएको छ ।
‘छिमेकसँगको सम्बन्ध अरूसँग भन्दा फरक हुन्छ । समानता, न्याय, आपसी सम्मान जस्ता सिद्धान्त नै शान्तिपूर्ण छिमेकसँगको सहअस्तित्वपूर्ण सम्बन्धका आधार हुन्,’ ओलीलाई उद्धृत गर्दै ‘द हिन्दुस्तान टाइम्स’ ले लेखेको छ ।
अर्को अंग्रेजी दैनिक ‘टाइम्स अफ इन्डिया’ ले पनि पूर्वाधार विकासमा चीनको आक्रामक रणनीतिको जवाफमा भारतले हिमालयको देश नेपाललाई भारतीय रेल सञ्जालमा जोड्न भारतले अन्तरदेशीय रेलमार्ग र जलमार्ग निर्माणका लागि तत्परता देखाएको दाबी गरेको छ ।
जलमार्ग निर्माणले भूपरिवेष्ठित मुलुकलाई सिधै समुद्रसम्म पहुँच विस्तार हुने उक्त दैनिकको निष्कर्ष छ । जलमार्ग सम्बन्धी पछिल्लो समझदारीबाट भारततर्फ बगेर गइरहेका नेपाली नदीमा रहेको जलविद्युत् ऊर्जाको सम्भावनाको सदुपयोग हुने र बाढीका कारण वातावरणीय तथा इकोलोजिकल प्रभावजस्ता समस्या सम्बोधन हुने विश्लेषण पनि पत्रिकाले गरेको छ ।
ओलीको भारत भ्रमणकै क्रममा ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको शिलान्यास गर्ने पूर्वनिर्धारित कार्यक्रम अन्तिम समयमा स्थगन गरिएको थियो ।
यसलाई भारतीय प्रधानमन्त्री मोदीले निकट भविष्यमा हुने आफ्नो नेपाल भ्रमणका अवसरमा शिलान्यास गर्ने योजना बनेकाले स्थगन गरिएको विदेश सचिव गोखलेलाई उद्धृत गर्दै उक्त दैनिकले लेखेको छ । यसमा नेपाली टोलीले पनि मौन समर्थन गरेका छन् ।
प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा गरिसकेका छन् । मोदी पनि नेपाल आउन इच्छुक छन् । उनी नेपाल आउँदा नै यसको शिलान्यास हुने अडकल गरिएको छ ।
भ्रमण सिलसिलामा भारतीय दुई दैनिकले ओलीको अन्तर्वार्ता नै लिएका थिए भने सबैजसो दैनिकले भ्रमणको उल्लेख्य कभरेज गरेका थिए । भेटपछि मोदी र ओलीको पत्रकार सम्मेलन तथा लगत्तै गरिएको संयुक्त प्रेस ब्रिफिङमा पनि भारतीय टेलिभिजन र अखबारका प्रतिनिधिको बाक्लो उपस्थिति थियो ।
हाम्रो संरचना । २६ चैत्र २०७४, सोमबार ०७:२३