सिक्टा सिँचाइ आयोजना: प्रगति निराशाजनक : १३ वर्षमा १४ अर्ब खर्च,किसानको खेतबारीमा सिँचाइ सुविधा पुगेन

कृष्ण अधिकारी
नेपालगञ्ज/ बाँके जिल्लाको करिब ३४ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सुरु भएको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको १३ बर्ष पुग्यो । सिक्टा सिँचाइ आयोजनाको नहरबाट बाँकेका किसानको खेतबारीमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैन।

आयोजनाको हेड बक्स तथा मूल नहर निर्माण लगायतका संरचना निर्माणमा १४ अर्ब भन्दा बढी खर्च भइसकेको छ। मूल नहरको पानी शाखा नहर हुँदै किसानको खेतबारीसम्म पुर्‍याउनका लागि निर्माण गर्न लागिएको डुडुवा शाखा नहर निर्माणमा  ढिलासुस्ती र चरम लापरबाहीका कारण नहरको पानी किसानको खेतबारीमा कहिले पुग्छ भन्ने टुंगो लाग्न सकेको छैन।

सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहर प्रणालीबाट बाँकेको करिब १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्छ। डुडुवा शाखा नहर निर्माणको काम सम्पन्न गर्नुपर्ने समय ७५ प्रतिशत सकिए पनि निर्माणको काम भने करिब २ प्रतिशत मात्रै पूरा भएको छ। निर्माणको काममा भएको ढिलाइका कारण सिक्टा नहरको पानी किसानको खेतबारीमा पुग्ने समय भने अनिश्चित बन्दै गएको हो।

ठेकेदार सभासदले काम नगर्दा नहर निर्माण अलपत्र

डुडुवा नहर प्रणाली निर्माणको काम कोष्टलर पप्पु जेभीले लिएको थियो  । पप्पु कन्स्ट्रक्सन पर्सा क्षेत्र नम्बर ३ का निर्वाचित सांसद एवं संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हरिनारायण प्रसाद रौनियारको हो। रौनियारले उक्त कम्पनी छोराको नाममा हस्तान्तरण गर्दै आएको दाबी गर्दै आउनु भएको छ ।

पप्पु कन्स्ट्रक्सन लागत मूल्यभन्दा धेरै कम मूल्यमा धेरै ठाउँमा ठेक्का लिने, गुणस्तरीय काम नगर्ने, काम गरी हाले पनि समयमा काम नगर्ने जस्ता कारणले उक्त कोष्टलर पप्पु जेभी कम्पनी बदनाम छ।

नहर निर्माणको कामको काम लक्ष्य अनुसार नगरेको भन्दै आयोजनाले तत्काल काम सुरु गर्नका लागि निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्नेदेखि पत्रिकामा सूचना प्रकाशित गर्दा पनि निर्माण कम्पनीले अटेर गरेपछि आयोजनाका कर्मचारीहरु हैरान भएको बताउने गरेका  छन्।

निर्माण कम्पनीको चरम लापरबाहीका कारण लक्ष्य अनुसारको काम हुन नसकेको जनाउँदै आयोजनाले २०७४ पुस ३० गते सिँचाइ विभागलाई पत्र लेखेर निर्माण कम्पनीलाई के गर्ने भनेर सुझाब मागे पनि सिँचाइ बिभागले त्यस सम्बन्धमा कुनै निर्देशन सम्वन्धीत पक्षले दिएको छैन । सिँचाइ बिभागको ढिलासुस्ती र चरम लापरबाहीका कारण सिक्टा सिँचाइ आयोजनाको कामले गति लिन सकेको छैन।
निर्माण कम्पनी नै सांसदको भएका कारण सिँचाइ विभागले निर्माण कम्पनीमाथि कारबाहीको प्रकृया सुरु गर्न नसकेको जानकारहरु बताउँछन्।

कमसल निर्माणका कारण बर्षेनी बाढीबाट क्षतीग्रस्त मुल नहर

निर्माण पूरा हुनेगरी काम पनि नगर्ने र काम पनि नछोड्ने रणनीति निर्माण कम्पनीले अवलम्बन गरेको छ। काम गरेको छैन भनौं भने गरिरहेको छ, गरेको छ भनौं भने त्यही गतिमा काम हुने हो भने निर्माण सक्नुपर्ने अवधिसम्म १० प्रतिशत पनि काम पूरा हुन गाह्रो पर्ने अवस्था देखिएको छु, आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले बताउनु भएको छ ।

निर्माण कम्पनीको काम पनि नगर्ने र काम गर्ने समायावबधि भने सक्ने रणनीतिले डुडुवाको नहर निर्माणको काम पुरा हुन अझै थप २ बर्ष लाग्ने सम्भावना बढेको छ।

नहरको काममा ढिलाइ हुँदा सुक्का र खडेरीको मारमा परेका जनताले राम्रोसँग खेती गर्न पाएका छैनन। सिँचाइ सुविधा उत्पादन निक्कै कम हुने र खेती गर्दा लाग्ने लागत खर्च समेत उठाउन गाह्रो हुन थालेपछि किसानहरु खेतबारी बाँझै राख्न विवश छन्। सिँचाइ नहुँदा उत्पादन न्यून भई खेतबारी बाँझै राख्नु पर्दा किसानहरुले वर्सेनी करौडौं नोक्सानी ब्यहोर्न बाध्य छन्।

निर्माण व्यवसायी हुँदै सभासद् समेत बनेका रौनियारले कोष्टलर पप्पु जेभी मार्फत सिक्टा सिँचाइ आयोजना अन्तर्गत डुडुवा नहर प्रणाली निर्माणको कामको ठेक्का लिएका थिए।

कोष्टलर पप्पु जेभीले ३२.२ किलोमिटर नहर निर्माण तथा सिक्टाको मुल नहरलाई डुडुवा शाखा नहरसँग जोड्ने संरचना निर्माण लगायतका काम गर्ने गरी ९८ करोड ८१ लाखमा १९ डिसेम्बर २०१८ सम्म काम सक्ने गरी ठेक्का लिएका थिए। सो संरचना निर्माण भएपछि त्यस क्षेत्रको १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने इन्जिनियर कार्कीले बताउनु भएको छ।

२०७३ जेठदेखि निर्माण कार्य सुरु गरी २०७५ पुुस ४ सम्म पूरा गर्ने मंसिर मसान्त तर निर्माण पूरा गर्ने अवधिको करिब ७५ प्रतिशत समय सकिए पनि निर्माण कम्पनीले करिब २ प्रतिशत मात्रै काम गरेर निर्माण कार्य रोकेका कारण आयोजनाको काम अपलत्र परेको छ।

मुल नहर

निर्माण कम्पनीले नहर निर्माणका लागि ढुंगा गिट्टीको अभाव भएको, नहर क्षेत्रमा पर्ने रुखहरु नकाटिएको, नहर क्षेत्रको जग्गाको मुआब्जा वितरण समयमा नहुँदा समस्या भएको जस्तो कारण स–साना कारणहरुलाई देखाएर नहर निर्माणको काम नगरी उल्टै आयोजनासँग क्षतिपूर्ति दाबी गर्दै आएको छ।

निर्माण कम्पनीले समयमै काम नगरेका कारण मूल नहर निर्माण भए पनि त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट बन्चित भएका छन्। करिब १४ अर्ब खर्च गरेर बनाएको नहरको ब्यारेज तथा मूल नहर, शाखा नहर निर्माण नभएका कारण लामो समयदेखि संचालन नभइ जीर्ण बन्दै गएको छ। किसानको खेतबारीमा सिँचाइ सुविधा नपुग्दै मूल नहर नै मर्मत तथा पुन निर्माणका लागि बर्सेनि करौडौ खर्च गर्नुपर्ने अवस्था आइसकेको छ।

एकातर्फ किसानहरुले करौडौं नोक्सानी बेर्होनु पर्ने अर्कोतर्फ आयोजनाको लागत वृद्धि भइ राज्यलाई थप व्ययभारभार बेहोर्नुपर्ने बिडम्बनापुर्ण अवस्था उत्पन्न भए पनि कृषि उत्पादन ५ वर्ष ४ गुणा बढाउने : प्रधानमन्त्रीले राराबाट देशबासीका नाममा गरेको सम्बोधनको २३ नम्बर बुँदा घोषणा गरेको सरकार भने रमिते बनेर टुलुटुलु हेरिरहेको छ।

सिक्टालाई असफल पार्ने खेल कै कारण निर्माणमा ढिलाइ

सिक्टा सिँचाइ आयोजना भारत सरकारको असहयोगका कारण निर्माण सुरु सुरु हुने चर्चा चलेको करिब २६ बर्ष सम्म अलपत्र अबस्थामा रहेको थियो ।

भारतको असहयोगका बाबजुद आर्थिक बर्ष २०६१/०६२ मा नेपाल सरकार आफ्नै लगानीमा नेपाली प्राविधिकहरुबाट सुरु गरेको आयोजना हो। नदीको पानी बगेर खेर जाने तर खेतीयोग्य उर्बर जमिनमा सिँचाइ सुविधा नहुँदा वर्सेनी सुख्खा र खडेरीका कारण खाद्य संकटको सामना गर्नुपर्ने बिडम्बना पूर्ण अबस्थाको अन्त्य गर्ने उद्देश्यका साथ आयोजनाको काम सुरु भएको हो।

आयोजनाको मुख्य काम पुरा भई किसानको खेतबारीमा सिँचाइ सुविधा पुग्नै लागेका बेला सिक्टालाई असफल पार्ने खेल अन्तर्गत नै काम नै गर्न नसक्ने भनेर बदनाम भएको निर्माण कम्पनीले ठेक्का पाएको र निर्माण कम्पनीले अनेकौ बाहनाबाजी गरेर काम नगर्दा पनि सिँचाइ विभागका अधिकारीहरु रमिते बनेको दाबी जानकारहरुको छ।

सिक्टा असफल पार्ने खेलको मुख्य कारण

कमसल निर्माणका कारण बर्षेनी बाढीबाट क्षतीग्रस्त मुल नहर

सिक्टा असफल पार्ने खेल हुनुको मुख्य कारण भारतको चाहाना विपरित निर्माण कार्य सुरु हुनु नै भएको जानकारहरु बताउछन । सिक्टा सफल हुँनासाथ नेपालका तराई मधेसमा सिँचाइका ठूलाठूला आयोजना निर्माण हुने सम्भावना बढ्ने र त्यसका कारण नेपालका नदीहरुको पानीबाट नेपाली किसानहरुको खेतबारीमा सिँचाइ हुने र भारतका किसानहरुलाई पानीको अभाव हुने अवस्था उत्पन्न हुनसक्छ। त्यस्तो अवस्था आउन नदिन भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खेल खेलेको हुनसक्ने जानकारहरु बताउँछन्।

सिक्टा सफल हुँदा के हुन्छ ?

पहिलो चरणमा बाँकेको करिब ३४ र दोस्रो चरणमा ९ हजार गरेर करिब ४३ हजार हेक्टर क्षेत्रमा वर्षभरि नै भरपर्दोसिँचाइ सुविधा पुग्नासाथ उत्पादन र उत्पादकत्वमा करिब २ गुणा बृद्धि भई एकैसाथ ४६ हजार ७ सय १५ घरपरिवारका करिब ४ लाख ५० हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन्।

नहर निर्माण भई किसानको खेतबारीमा सिँचाइ सुबिधा पुग्नासाथ सुक्खा र खडेरीको अन्त्य भई उत्पादन र उत्पादकत्व बृद्धि भई किसानहरुको आर्थिक सम्बृद्धिको ढोका खुल्ने सिक्टा सिँचाइ जल उपभोक्ता समिति, बाँकेका अध्यक्ष शालिकराम डाँगीले बताए।

सिक्टामा लागनी र प्रतिफलको अवस्था

निर्माण सुरु गर्दा करिब १२ अर्ब ८० करोडको लागतमा २०७० सालको माघसम्म नहरको मुख्य निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिको थियो। तर २०७४ सालको फागुन मसान्त सम्म करिब १४ अर्ब खर्च भइसक्दा पनि नहर निर्माणको काम भने करिब ५६ प्रतिशत मात्रै पूरा भएको छ।

समयमै लक्ष्य अनुसार काम हुन नसक्दा लागत दोब्बर वृद्धि भई २५ अर्ब २ करोड पुग्ने आर्थिक बर्ष २०७६/७७ सम्म पुरा गर्ने लक्ष्य राखिएको छ। तर यस्तै शैली र गतिमा काम हुने हो भने लक्ष्य अनुसारको लागत र अवधिमा निर्माण पूरा हुने सम्भावना भने निक्कै न्यून छ।