नेपालमा गाढी आयात गर्ने कम्पनीहरुबाट ठगी तथा कालोबजारी गर्ने क्रम जारी, राजनीतिक संरक्षणको कारण  कारबाही प्रक्रिया रोकियो,पछील्लो पटक फोर्ड गाडीको इकोस्पोर्ट टाइटानियम गाडीमा ४० प्रतिशत बढी मूल्य लिएको प्रमाणित, कार्बाही गर्ने निकाय मौन

१८, बैशाख,काठमाडौं/ तपाई सानो गाढी किन्ने मुडमा हुनुहुन्छ भने कतै तपाईलाई गाढी बिक्रेताले कानुन बिपति मुल्य लिएर ठगी गरिरहेका त छैनन ! सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ।

जीओ अटोमोबाइल्स प्रालिले उक्त गाडीको बिक्रीमा ४० प्रतिशतसम्म मूल्य असुलेर उपभोक्तालाई ठगी गरेको भेटिएको हो। उक्त कम्पनीले इकोस्पोर्ट टाइटानियम गाडीको बिक्रीमा करिब १२ लाख ३२ हजार रुपियाँ कुल नाफा राखेर उपभोक्तालाई बिक्री गर्दै आएको देखिएको छ।

कुल बिक्री मूल्य ३० लाख ५७ हजार ३ सय ८२ रुपियाँ रहेको उक्त गाडीमा कम्पनीले १२ लाख ३२ हजार ६ सय १८ रुपियाँ अतिरिक्त शुल्क लिई ४२ लाख ९० हजार रुपियाँमा बेच्ने गरेको छ। कुल मूल्य र बिक्री मूल्यबीचको अन्तर हेर्दा कम्पनीले ४० प्रतिशत खुद नाफा राखेर गाडी बेच्ने गरेको देखिन्छ। जुन रकम उपभोक्ताबाट ठगेको अतिरिक्त रकम हो।


जीओ अटोमोबाइल्स कम्पनीले उपभोक्ता ठगी गरेको यो पहिलो घटना भने होइन। केही समयअघि मात्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनमा सोही कम्पनीले बेच्दै आएकोे ‘इको स्पोर्ट फोर्ड’ १.५ पेट्रोल गाडी र ‘फिगो एस्पार ट्रेन्ड’ गाडीको बिक्रीमा वास्तविक मूल्यभन्दा ४० प्रतिशतभन्दा बढी रकम उपभोक्ताबाट असुलेको भेटिएको थियो।

विभागले उक्त कम्पनीविरुद्ध ठगी तथा कालोबजारीको मुद्दामा कारबाहीको प्रक्रिया समेत अगाडि बढाएको थियो। तर राजनीतिक पहुँचका आधारमा ती मुद्दालाई थामथुम पारिएको छ।

ठूला व्यापारीले बजार अनुगमन कार्यलाई तत्काल रोक्न भन्दै शक्ति केन्द्र र सरकारलाई निरन्तर दबाब दिएपछि अनुगमनका कुनै पनि फाइल थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढ्न सकेको छैन।

विभागले उक्त ठगी मुद्दाका विषयमा गरेको अनुसन्धान तथा बयानका क्रममा जीओ अटोमोबाइल्स कम्पनीका तर्फबाट लोकमान्य गोल्छाले अब गाडीको मूल्यमा थपघट नगर्ने र स्वाभाविक मूल्यमा नै गाडी बेच्ने प्रतिबद्धता समेत जनाएका थिए।

तर उक्त कम्पनीले बेच्ने गाडीको मूल्यमा उपभोक्तालाई ठग्ने क्रम भने रोकिएको छैन। मूल्य घटाउने र अब वास्तविक मूल्यमा गाडी वितरण गर्ने प्रतिबद्धता जनाएका गोल्छाले उच्च राजनीतिक तहसँगको साँटगाँठपछि उक्त प्रतिबद्धता तोड्दै विभागको आँखामा छारो हालेका छन्।

विभागले कालोबजारी तथा ठगी मुद्दा अगाडि बढाएपछि आत्तिएका गोल्छाले मूल्य घटाउने प्रतिबद्धता जनाए पनि कम्पनीले त्यसपछि बेचेका गाडीको मूल्य सूचीमा कुनै घटबढ भएको देखिँदैन।

तत्काल गाडीको मूल्य घटाउने भन्दै विभागसँग माफी समेत मागेका गोल्छाले विभिन्न मन्त्रालय, मन्त्री र उच्च तहका कर्मचारीसँग साँठगाँठ मिलाएपछि ठगी धन्दालाई निरन्तरता दिएका छन्।

विभागले अनुगमनका क्रममा तयार पारेको प्रतिवेदन अनुसार जीओ अटोमोबाइल्स प्रालिले उपभोक्तालाई बिक्री गर्ने गाडीको मूल्य सूचीमा जम्मा लागत भन्दा बढी मूल्य लिएको देखिन्छ।

उक्त कम्पनीले वास्तविक मूल्यमा अतिरिक्त शुल्क लिई उपभोक्तालाई छुटको भ्रम छर्ने गरेको समेत अनुगमनका क्रममा देखिएको छ। कम्पनीले बिक्री गर्ने गाडीको खरिद र बिक्री मूल्यमा देखिने मार्जिन (ग्रस प्रफिट)मा विभिन्न शीर्षक जोडी अलग–अलग खर्च समावेश गरेको देखिन्छ।

ग्राहकलाई गाडी खरिदमा विज्ञापन खर्च, प्रशासनिक खर्च, कर्मचारी तलब खर्च, पेट्रोल, मोबिल, हिटर फिटिङ, एक्ससरिज डेलिभरीजस्ता शीर्षकमा थप रकम असुल्ने गरेको देखिन्छ।

त्यति मात्र नभई बैंक ब्याज, गाडी बिक्री हुनुअघि शोरुममा पार्क गरेको शुल्क समेत उपभोक्ताको टाउकोमा पार्ने गरेको देखिन्छ।

कालोबजारी तथा अन्य केही अपराध तथा सजाय ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठह-याइने उल्लेख गरेको छ।

तर सो कम्पनीले एउटा गाडीको बिक्रीमा विज्ञापन खर्च, प्रशासनिक खर्चलगायत फरक–फरक शीर्षकमा ४३ प्रतिशतसम्म अतिरिक्त शुल्क उपभोक्ताबाट असुलेको छ।

ऐनअनुसार मालवस्तुको उत्पादक, आयातकर्ता वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो मालसामान लिएको मोल फिर्ता गराई सो मालवस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद हुनेछ र जरिवानासमेत हुन सक्ने कानुनी व्यवस्था छ।

सोही ऐनले कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

यस सम्बन्धमा थप जानकारी लिन जीओ अटोमोबाइल्स कम्पनीका कार्यकारी निर्देशक आकाश गोल्छासँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।  नेपाल समाचारपत्रमा समाचार प्रकाशित छ ।