२१ बैशाख, नेपालगञ्ज/ सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गर्दै सार्वजनिक बस नचलाउले ७० बढी यातायात व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित देशभरिबाट ७० जनाभन्दा बढी व्यवसायीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई अत्यावश्यक सेवा अवरोध गरेकोमा मुद्दा चलाउने तयारी भइरहेको छ।
रुपन्देही, रौतहट, कास्की, कञ्चनपुरसहित १० जिल्लाबाट मात्र ३९ यातायात व्यवसायी पक्राउ परेका छन् । सरकारको नियम विपरीत सिन्डिकेटको समर्थनमा गाडी चल्न नदिने यातायात व्यवसायी समितिका अध्यक्ष, अन्य पदाधिकारीलगायतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने व्यवस्था सहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन। एम्बुलेन्स, निजी सवारी साधन, दूधका गाडी, मोटरसाइकल, ट्याक्सी तथा टेम्पोहरु चलेका छन्। पूर्व–पश्चिम राजमार्गमा बिहान देखि छिटफुट रुपमा ट्रक चलेका छन्। यातायात बन्दले जनजीवन प्रभावित भएको छ।
सवारी आवागमनमा प्रभाबित पर्न खोज्ने बाँकेमा ६ जना पक्राउ, ४ वटा समितिका बस सञ्चालनमा
सनराईज यातायात व्यवसायी संघका उपाध्यक्ष प्रविण बिसी, महासचिव रमेश शाह, कर्मचारी नवराज शर्मा, होमबहादुर खड्का र भेरी अञ्चल यातायात व्यवसायी संघका सचिव रमेश बहादुर खत्री, दीपक बस्नेतलगायतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। सरकारले गरेको सिन्डिकेट खारेजीको विरोधमा नेपालगञ्ज स्थित भेरी अञ्चल यातायात व्यवसायी संघ, बागेश्वरी यातायात व्यवसायी संघ, नमस्ते यातायात व्यवसायी संघ र भेरी अञ्चल टेम्पो तथा जीप व्यवसायी संघमा आबद्ध व्यवसायीहरुले सवारी साधन घरमै राखेर यातायात सेवा ठप्प पारेका हुन्। तर, नेपालगञ्ज स्थित पब्लिक मेट्रो प्रालि, अन्नपूर्ण, नागरिक, सहुलियत प्रालि र भेरी यातायात प्रालिले भने गाडी सञ्चालन गरेका छन्।
रुपन्देही ८ जना पक्राउ
पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका उपाध्यक्ष जीवनकुमार बन्जाडे, महासचिव पदमराज गाह, सहसचिव चेतनारायण बेल्वासे र बुटवल यातायात समितिका उपाध्यक्ष अशोककुमार श्रेष्ठ, भैरहवाबाट सिद्धार्थ यातायात समितिमा आवद्ध व्यवसायी रवि खाती, चन्दन आले, प्रकाश श्रेष्ठ तथा बुटवल यातायात समितिका व्यवसायी जितेश गुरुङलाई पक्राउ गरिएको छ।
बुटवलबाट पक्राउ परेकालाई इप्रका बुटवल र भैरहवाबाट पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको जिल्ला प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले बताउनु भएको छ।
रौतहटबाट ६ जना
जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले रौतहट बस व्यवसायी संघका अध्यक्ष लालबाबु गिरी, ट्रक व्यवसायी संघका अध्यक्ष धु्रव अर्याल र टेम्पो तथा मझ्यौला संघका अध्यक्ष ताराबहादुर बजगार्इंलगायत ६ जनालाई पक्राउ गरिएको बताए। ठूला सवारी साधन बन्द हुदा सानामा पनि चर्को भाडा तिर्नुपरेको यात्रुहरु बताउँछन्।
कास्कीमा ५ जना
पृथ्वी राजमार्ग बस व्यवसायी समितिमा आवद्ध रुद्रबहादुर नेपाली र प्रेम गुरुङ, पोखरा बस व्यवसायीमा आवद्ध रमेश सुचिकार र सुनील थापा, बागलुङ भगवती जिप समितिका निर्मल तामाङलाईलाई पोखराको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पोखरामा क्रियाशील विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारी भने फरार छन्। प्रमुख जिल्ला अधिकारी तारानाध अधिकारीले उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको बताउनु भयो।
कञ्चनपुरबाट ४ जना
प्रहरीले कञ्चनपुरको महाकाली यातायातका अध्यक्षसहित ४ जना व्यवसायीलाई पक्राउ गरेको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघका सहकोषाध्यक्ष समेत रहेका अध्यक्ष डम्मरराज पन्त, महामाली टेम्पो तथा टेक्सी व्यवसायी समितिका अध्यक्ष जनकबहादुर चन्द र व्यवसायीहरु दानसिंह धामी तथा सुरेन्द्र अवस्थीलाई महेन्द्रनगर बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले जानकारी दिनुभएको छ।
उदयपुरमा ३ जना पक्राउ
उदयपुरको गाईघाट बजारबाट हिमाली यातायात बस व्यावसायी संघका उपाध्यक्ष उमेश बस्नेत, कोषाध्यक्ष विष्णु श्रेष्ठ र सदस्य सुरेशकुमार कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचाना अधिकृत प्रहरी निरीक्षक मनप्रसाद श्रेष्ठले बताए। उनीहरुलाई दिउँसो २ बजे गाईघाट बजारबाट नियन्त्रणमा लिइएको हो।
पाल्पामा २ जना
प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका पाल्पा इन्चार्ज बिकास भट्टराई र श्रीनगर यातायात व्यवसायी समिति कोषध्यक्ष किरण चित्रकारलाई नियन्त्रणमा लिएको छ। प्रहरीले पश्चिम नेपालका भट्टराई र श्रीनगरका कोषाध्यक्ष चित्रकारलाई प्रहरीले तानसेनबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी वष्णिुप्रसाद ढकालले बताउनु भएको छ।
दाङबाट २ पक्राउ
यातायातका साधन अवरोध गर्न खोज्ने समितिका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अम्बिकेश्वरी यातायात समितिका उपाध्यक्ष डिल्लीबहादुर भण्डारी र राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका सदस्य रामचरण वलीलाई पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ । भण्डारीलाई तुलसीपुर र वलीलाई नारायणपुरबाट नियन्त्रणमा लिइएको हो ।
यातायात समितिहरुले गाडी बन्द गरे पनि प्रालिहरुले भने शुक्रबार दिनभर निर्वाधरुपमा सञ्चालन गरेका छन् । मालिकाकालिका, नमस्ते राप्ती, चन्द्र सूर्य, साहरा, पाण्डवेश्वर, स्मार्ट नेपाल देउखुरी लगायतका यातायात प्रालिले नियमित गाडी चलाएका छन् ।
बर्दिया २ जना
कृष्णसार यातायात समितिका दुई पदाधिकारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। समितिका महासचिव भूमिदत्त शर्मा र सचिव कोयल खड्का क्षेत्रीलाई स्थानीय प्रशासनले पक्राउ गरेको हो। अत्यावश्यक ऐन अन्तर्गत यातायात बन्द गरेकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ।
कैलाली १ जना
कर्णाली रिभर यातायात समितिका अध्यक्ष धिरजबहादुर शाह लाई प्रहरीले नियन्त्रणमा लिएको छ। कर्णाली रिभरको धनगढी कार्यालयबाट प्रहरीले अपरान्ह् ३ बजे प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले बताउनु भएको छ।
सार्वजनिक सरेकारको क्षेत्रमा बन्द तथा हडताल गर्नेलाई यहि बैशाखको पहिलो हप्ता मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रमा रहेका सबै खालका सिन्डिकेट अन्त्य गर्दै सिन्डिकेटवाला समितिहरुलाई समेत खारेज निर्णय गरेको थियो ।
यातायात व्यवसायीले समितिका नाममा सिण्डीकेट लादेको भन्दै सरकारले सबै सार्वजनिक यातायातका साधनलाई प्रभाईभेट कम्पनीमा दर्ता गरी यातायात सेवा संचालन गर्न यातायात व्यवस्था कार्यविधि निर्देशिका जारी पनि गरिसकेको छ । यातायात व्यवसायीदे यातायात व्यवसायी राष्ट्रिय महासंघ मातहतका केही यातायात समितिहरुले गाडी नचलाएर सार्वजनिकी क्षेत्रमा बन्द हडताल गरेकाले प्रहरीले त्यस्ता ब्यक्तीहरुलाई कार्बाही गर्ने यस अघि जारी गरिएको निर्देशिकामा जारी गरिएको छ । ।
सरकारले यातायात क्षेत्रलाई आवश्यक सेवामा राखेर हड्ताल निषेध गरेकाले यातायात नचलाउने ब्यवसायीहरुलाई पक्राउ गरेको हो ।
आवश्यक सेवा सञ्चालन ऐन अनुसार २०१४ ले निषेधित हड्ताल गर्न उक्साउनेलाई १ वर्षसम्म कैद वा १ हजार जरिवाना हुने व्यवस्था गरेको छ। त्यस्तै रूट परमिट लिएर बस सञ्चालन नगर्ने र यो हड्तालमा भाग लिनेलाई पनि यो ऐन अन्तर्गत कारबाही चलाउन सकिन्छ।उनीहरूलाई भने ६ महिनासम्म कैद वा जरिवाना गर्ने सकिने ऐनमा उल्लेख छ।
ऐनको दफा ३ को उपदफा १ मा भनिएको छ “सार्वजनिक हितको लागि आवश्यक एवम् उचित लागेमा सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएको कुनै आवश्यक सेवामा हड्ताल निषेध गर्न सक्नेछ ।” जसअनुसार सरकारले यातायात क्षेत्रमा हड्ताल निषेध गरी सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ ।
यसरी निषेध गरेको क्षेत्रमा हड्ताल गर्नेलाई ६ महिना कैद वा २ सय रुपैयाँसम्म जरिवाना वा दुबै सजायको व्यवस्था छ । पक्राउ परेका यातायात व्यवसायीलाई आवश्यक सेवा ऐन अनुसार कारबाही गर्ने प्रशसनले जनाएको छ ।
सरकारले हडताल गर्ने यातायात व्यवसायी समितिका पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्ने
त्यसैगरी गृह मन्त्रालयले सिन्डिकेटका पक्षपाती यातायात व्यवसायी समितिका पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ ।
मन्त्रालयको आज शुक्रबार बसेको बैठकमा गृहमन्त्रीले साविकका यातायात व्यवसायी समिति र महासंघका हालका पदाधिकारीहरुको विवरण यातायात व्यवस्था विभागले जिल्ला प्रशासन कार्यालयबाट लिएर सम्पत्ति छानबिन अगाडि बढाउन निर्देशन दिएको छ। गृहमन्त्रालयमा भएको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघु विर महासेठ, राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल लगायतको उपस्थिति रहेको छ।
बैठकमा गृहमन्त्रीले सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात महासंघ समितिहरुको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकमा यातायात व्यवस्था विभागले लेखी पठाउन समेत निर्देशन दिएको छ।
हाम्रो संरचना । २१ बैशाख २०७५, शुक्रबार १९:१९