हाम्रो संरचना बिहिबार, कार्तिक ४, २०७८ 1147 Views

उत्खनन गर्दै जाँदा तामाको षटकोण लिखित यन्त्र भेटियो। ओखल उत्खननका अगुवा काजी बेहोस भए। पुतलीरूपी देवीहरू उडेर बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रण सैनी त्रिपुरेश्री, बाजुराको बडीमालिकामा पुगेको किम्बदन्ती छ।


हेमन्त केसी/

  • २० बैशाख,पुराकोट,डोल्पा

चारैतिर होचो भूभाग, दायाँ(बायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ, बीचैमा उठेको जमिन अनि त्यसैको थाप्लोमा अडिएको विशाल संरचना। त्रिपुराकोट मन्दिरबाट तल हेर्दा जिउ नै जिरिंग हुने भीर। प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिंगाहरू।

त्यहाँबाट देखिने नागबेली आकारको ठूलो भेरी नदी। मन्दिरको पारिपट्टि देखिने हिँउले सिँगारिएका मुकुटेश्वर, कागमारालगायतका प्रसिद्ध हिमाल, आँखैमा टाँसिएजस्तो देखिने सोत्तर उम्रेका उराठ नांगा डाँडा-पाखाहरू। मन्दिर अवस्थित जमिनसँग जोडिएको समथर विशाल उब्जाउयोग्य फाँट। सरर लाग्ने हावासँगै लहलह झुल्ने धान, मकै, गहुँ, जौलगायतका अन्नबाली। उब्जाउयोग्य जमिन मासेर बनाइएका रंगीचंगी जस्ताले छाइएका घररूको बस्ती।

मन्दिरको बाहिरी आकर्षणका केन्द्र बिन्दु हुन्। मन्दिर पुगेपछि देखिने यस्ता दृष्यहरूले जो कोहीको पनि मन लोभिने गर्दछ। यो हो, डोल्पा जिल्ला त्रिपुरा सुन्दरी मन्दिरको बाहिरी संरचना र यहाँबाट देखिने दृष्यहरू यस्तै छन्। उक्त मन्दिर नेपालका प्रायः मन्दिरहरू भन्दा फरक शैली र आकार छ। मन्दिर अवस्थित भू-गोल अनौठो नै रहेको छ।

मन्दिरबाट देखिने गाउँबस्ती, हिमाल, पहाड नदीनालको दृष्य पूजाआजापछि भक्तजनको मुख्य रोजाइमा पर्ने गरेको मन्दिरका पूजारीहरू बताउँछन्। त्रिपुरा सुन्दरी मन्दिरमा दर्शन गरिसकेपछि भक्तजनलाई तस्‍बिर खिचाउन भ्याइनभ्याई हुने गरेको पूजारी निर्मलप्रसाद उपाध्यायले बताए। चारैतिर होचो भू-भागबीचको अग्लो टाकुरामा मन्दिर भएकाले यहाँबाट देखिने मनमोहक दृष्य अवलोकनका लागि मात्रै बर्सेनि हजारौँ भक्तजनहरू आउने गरेको उनको भनाइ छ।

मन्दिरमा पूजाआजा गर्नेहरूको पनि दैनिक घुइँचो लाग्ने गर्दछ। त्रिपुराकोट पहिलेको भन्दा मन्दिरमा व्यवस्थापकीय पक्षमा सुधार हुँदै गएपछि भक्तजनहरूको चाप पनि दिन प्रतिदिन बढ्न थालेको उनले बताए। फोटो खिच्‍न पालो नेपाल मात्र नभई भारतमा समेत प्रसिद्ध उक्त मन्दिर ठूलो शक्ति पीठको रूपमा चिनिन्छ।

उक्त मन्दिर निर्माणका लागि भारत सरकारले समेत तीन करोड ३३ लाख सहयोग गरेको थियो। त्रिपुरा सुन्दरी मन्दिर पूजाआजाको लागि मात्रै नभई र मन्दिरबाट देखिने अनौठो मनमोहक दृष्य अवलोकनका लागि पनि प्रशिद्ध छ। मन्दिर पुग्ने भक्तजनहरू आफ्ना फोटोको पछाडि नागबेली आकारको ठूलो भेरी नदी, हिउँले सेताम्य हिमाल, समथर फाँट अनि विशाल अनि नांगा डाँडाकाँडालाई क्यामेरामा कैद गर्न आतूर देखिन्छन्।

अझ नयाँ वर्ष, दसैँ, तिहारलगायतका विशेष चाड पर्वहरूमा त फोटो खिच्न पालोसमेत पर्खनु पर्दछ। पूर्वराजादेखि साधुसन्तसम्‍म प्राचीन शैलीमा निर्माण गरिएको उक्त मन्दिरमा देशका प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तित्वहरूको प्रमुख गन्तव्यस्थल बन्न थालेको छ। पछिल्लो एकवर्ष यता मात्रै त्रिपुरा सुन्दरीमा नेपाली सेनाका प्रमुख, राजदूतदेखि प्रधानमन्त्रीसम्मले त्रिपुरा सुन्दरीको दर्शन गरिसकेका छन्। पञ्चायतकालमा पनि राजा महाराजाहरू समेत दर्शनका लागि आउने गरेको बुढापाकाहरू बताउँछन्। 

पूर्वराजा देखि गुरु शंकराचार्य, पुरीनाथ बाबा लगायतका साधु शन्तको पनि प्रमुख रोजाइ त्रिपुरा सुन्दरी मन्दिर।

दुर्गम र विकट जिल्लामा अवस्थित शक्ति पीठ भएकाले अझै यसको महत्व सवैले थाहा पाउन नसकेको पूजारी रवीप्रसाद न्यौपानेले बताए। ‘यो मन्दिर नेपालकै प्रमुख शक्ति पीठ हो। त्रिपुरा सुन्दरी देवीहरूको उत्पतिस्थल, सतीदेवीको कन्ड्याउ पतन भएको ठाउँ मानिन्छ। त्रिपुरा सुन्दरी १० महाविद्यासमेत उत्पति भएकाले यस मन्दिरको महत्व अनौठो छ,’ उनले भने।

‘यो ठाउँले उचित प्रचारप्रचार हुन नसक्दा धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको छ,’ उनले थपे। मन्दिरको तलपट्टि खाली समथर जमिन भएकाले प्राय भिभिआइपीहरू हेलिकोप्टरमा त्रिपुरा सुन्दरी आएर पुजाआजा गर्ने गर्दछन्। ३० चैत्रमा मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्रिपुरा सुन्दरी आई पूजाआजा गरेका थिए। डोल्पाको इतिहासमै पहिलोपटक वहालवाला प्रधानमन्त्रीको रूपमा ओलीले त्रिपुरा सुन्दरी मन्दिरमा आएर पूजाआजा गरेको पूजारीहरूले बताए। प्रधानमन्त्रीको दर्शनले भए पनि मन्दिरको प्रचारप्रसारमा सघाउ पुगेको पूजारीहरूको भनाइ छ। त्यस्तै, २९ चैत्रमा नै भारतीय तीन पूर्वराजदूतहरूले पनि त्रिपुरा सुन्दरीको दर्शन गरेका थिए।

१५ दिने डोल्पा पदयात्रा बनाएका नेपालका लागि भारतीय पूर्वराजदूतहरूको पहिलो गन्तव्य त्रिपुरा सुन्दरी 

पूर्व राजदूत रणजित राय, श्यामशरण, देव मुखर्जी डोल्पा पुगेका थिए। डोल्पाले धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको पूर्वराजदूत रायले भ्रमणका क्रममा बताएका थिए। पूर्वराजदूत रायले डोल्पा आउन सबैको चाहना हुन्छ, तर कसरी पुग्न सकिने भन्ने जानकारी नभएर पनि डोल्पा आउन नसकेको बताए। सँगसँगै डोल्पासम्म पुग्ने हवाई र सडक यातायातको विकास भए डोल्पाले धार्मिक पर्यटन विकासको हिसावमा फड्को मार्नेसमेत उनको भनाइ छ।

त्रिपुरा सुन्दरी मन्दिरको इतिहास इ.स.१११४ मा स्थापना भएको बताइएको त्रिपुरा सुन्दरी मन्दिर भौगोलिक रूपमा पनि पृथक् छ। मन्दिरको पश्चिममा ताम्रा वणीनदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगालगायतका प्रसिद्ध तीर्थस्थलहरू रहेका छन् भने बीचको टाकुरामा त्रिपुरा सुन्दरीको मन्दिर अवस्थित छ।

परापूर्वकालमा डोल्पाको त्रिपुराकोट गाउँ विकास समितिको कोटमा विक्रम शाही महाराजको दरबार थियो। शाहीले यसै कोट गढीका १४ घर विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए। अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो। दरबारनजिकै एउटा धान कुट्ने ओखल थियो। ओखलमा धान कुट्ने गरिन्थ्यो। धान कुट्दै जाँदा एकाएक यस ओखलमा अनौठा क्रियाकलापहरू देखिन थाले भन्ने किम्बदन्ती छ। धान कुट्न जाँदा कहिले चारपाथी धान कुट्दा आठपाथी चामल हुने र कहिले दुईपाथी धान कुट्दा दुईमाना चामल हुने किम्बदन्ती छ। यस्ता अचम्मका कुराहरू देखिन थालेपछि यो कुरा मन्त्री विष्टका कजिनीहरूले आफ्ना काजी विष्टहरूलाई बताएका थिए रे।

काजीहरूले यस्तो अनौठो सूचना पाएपछि आफ्ना राजा विक्रम शाहीलाई सुनाएका थिए रे। शाहीले यस्तो अचम्मको सूचना थाहा पाएपछि तत्काल आफ्ना प्रजाहरूलाई बोलाएर ओखल उत्खनन गर्ने सल्लाह गरे भन्ने किम्बदन्ती छ। राजाले गाउँबस्तीबाट मान्छे बोलाएर रात दिन लगाएर ओखल उत्खनन गर्न लगाए। ओखलभित्र अनौठा दृष्यहरू देखिए।ओखल तलपट्टि तामाको ओदान, ओेदानमाथि घ्यूको कराई, कराईमाथि तामाको थालीमाथि षटकोणयन्त्र, त्यसमाथि कुँडेस र त्यसभित्र नव दुर्गा भगवतीका नौ बहानका स्वरूप देखिए।

किम्बदन्ती अनुसार उत्खनन गर्दै जाँदा तामाको षटकोण लिखित यन्त्र भेटियो। ओखल उत्खननका अगुवा काजी बेहोस भए। पुतलीरूपी देवीहरू उडेर बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रण सैनी त्रिपुरेश्री, बाजुराको बडीमालिकामा पुगेको किम्बदन्ती छ। अहिले पनि ती ठाउँ प्रशिद्ध छन्।

बाँकी चार बहिनी देवी वाला, त्रिपुरा सुन्दरी, डोल्पाको त्रिपुरा सुन्दरीमा विराजमान छन्। विराजमान चारदेवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध डोल्पामा प्रसिद्ध छन्। डोल्पाको यस त्रिपुरा सुन्दरीमा परापूर्वकालदेखि नै न्यौपाने थरका पूजारीले पूजाआजा गर्दै आएका छन्।

बहादुर शाहको टोली चकित

नेपालका बाइसे चौबिसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाको तारगाउँ पुग्यो। डोल्पाको नौ राज्य एकीकरण गर्ने क्रममा तारा गाविसको बादरफड्को पुग्यो। त्यहाँ एउटा खोला थियो। खोलामा पुल थिएन्। असार साउनको वर्षाले खोलको पानी बढेर तर्नै नसकिने थियो। खोला तर्न नसक्दा बहादुर शाहको टोली खोलावारि नै रोकियो। डोल्पाका नौवटा टुक्रे राज्य एकीकरणको लक्ष्य पूरा गर्न खोलमा पुल बनाउने निधो भयो।

शाहको टोलीले लक्ष्यअनुरूप काठ जम्मा गरेर पुल लगाउन तयार भयो। तर, खोलमा कसैगरी पुल लाग्न सकेन। अन्ततः मुस्ताङ हुँदै डोल्पा पुगेको बहादुर शाहको टोली एकीकरण नगरेर नै फर्किने निश्चित भयो। बहादुर शाहको टोलीले धार्मिक विश्वास खोतल्न थाल्यो। टोलीले स्थानीयसँग सोधखोज गर्‍यो। स्थानीयवासीले त्रिपुराकोट भन्ने ठाउँमा त्रिपुरा सुन्दरी देवीको पूजाआजा गर्ने सल्लाह दिएअनुसार पूजापाठ गरेपछि बादरफड्कोमा पुल बनाउन सफल भएको स्थानीयको भनाइ छ।

बहादुर शाहको टोलीको पूजापाठ र भाकलले खोलामा पुल लाग्नु, डोल्पा एकीकरणको काम सफल हुनु, त्रिपुरा सुन्दरी देवीको शत्तिको देन मान्छन् स्थानीयवासी। सतीदेवीको अंग पतन भएको ठाउँ त्रिपुरा सुन्दरी यस मन्दिरमा सत्य युगमा श्री महादेवले हिमाललय पर्वतकी पुत्री सत्यदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा त्रिपुरा सुन्दरीमा सतिदेवीको कन्डाउ  (ढाड) पतन भएको कुरा हिन्दू धर्मको प्रसिद्ध धर्मग्रन्थ श्री स्वस्थानीमा उल्लेख गरिएको छ।

त्यसैले यस भूमिलाई नेपालकै प्रसिद्ध शक्ति पीठको रूपमा मान्ने गर्दछन्। यस मन्दिरको महत्वलाई हिन्दू धर्मका विभिन्न धर्म ग्रन्थमा उल्लेख गरिएको र यदि जो कसैले यस मन्दिरमा आएर दर्शन मात्र गरे मुक्ति मिल्ने पूजारी देवीकृष्ण उपाध्यायले बताए। उपाध्यायका अनुसार आफूले देखेका मन्दिरहरूमध्ये यस मन्दिरको भौगोलिक अवस्था पृथक् रहेको बताए। उनले मन्दिरमा भाकल गरेको सम्पूर्ण कुरा पुग्ने भएकाले देशका उच्च पदस्थ व्यक्तित्वहरू पूजाआजाका लागि आउने गरेको पनि बताए।

यस मन्दिरमा सत्यदेवीको कन्डयाउ पतन हुँदाको बखतमा यस स्थानमा वर्षाका देवता मेघ वर्षा आएर विभिन्न आरधना गरेर देवीकोे पूजाआजा गरेकाले ईश्वरी प्रसन्न भएर यस क्षेत्रमा महा खडेरी परेको वेला पानी पार्न सफल भएको भनी वरदान दिएकाले यस क्षेत्रमा महाखडेरी परेपछि सम्पूर्ण गाउँवासी आएर पूजाआजा गरे पानी पर्ने जनविश्वास पनि रहेको छ। यसै वखतमा भैरबेश्वर महादेव पनि उत्पति भएको मन्दिर पनि यही रहेको छ। डोल्पामा खडेरी परेका वेला गाउँले आएर विधिविधानका साथ पूजाआजा गरे पानी पर्ने स्थानीयवासी परमानन्द देवकोटाले बताए।

यसरी पुग्न सकिन्छ त्रिपुरा सुन्दरी

त्रिपुरा सुन्दरी नगरपालिका-१ त्रिपुराकोटमा पर्दछ त्रिपुरासुन्दरी मन्दिर। धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको त्रिपुरासुन्दरी मन्दिर उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। डोल्पा प्रवेशद्वारको रूपमा जुफाल विमानस्थल रहँदै आएको छ। डोल्पा पुग्नको लागि जुफाल विमानस्थल र सडक यातायात प्रयोगमा आउने गर्दछ।

डोल्पा पुग्नका लागि नेपालगञ्ज विमानस्थल पुग्नुपर्दछ। नेपालगञ्ज सुर्खेत जाजरकोट रुकुम हुँदै जाने पनि डोल्पा पुग्ने अर्को गन्तव्य हो। नेपालगञ्ज विमानस्थलदेखि जुफाल विमानस्थलसम्म हवाई जहाजको सुविधा छ। नेपालगञ्जदेखि हवाइजहाजमा २५ देखि ३५ मिनेटमै जुफाल विमानस्थल पुगिन्छ।

नेपालगञ्ज विमानस्थलदेखि जुफाल विमानस्थलसम्मको हवाइजहाज भाडा झन्डै नौ हजार रहेको छ। डोल्पाका लागि सीता, गोमा, तारा, मकालु लगायतका एअरलायन्स कम्पनीले उडान भर्दै आएका छन्। एअरलायन्सहरूको हप्ताको दुई वटासम्म सेडुअल उडान रहेको छ।

सेडुअल उडानको भाडा चार हजार मात्रै रहेको छ। जुफालमा दिउँसो हावा बढेर जहाज अवतरणमा समस्या हुने भएकाले बिहान ११ बजेसम्म मात्रै जहाज अवतरण गरिन्छ। नेपालगञ्ज विमानस्थलदेखि दैनिक पाँचदेखि छवटासम्म उडान हुने गर्दछन्। नेपालगञ्जदेखि जुफाल झरेपछि त्रिपुराकोटमा रहेको त्रिपुरा सुन्दरी मन्दिरका लागि हेलिकोप्टरबाट ल्याइएका जिपहरू आन्तरिक रूपमा सञ्चालनमा ल्याइएका छन्।

जिपबाट त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत पर्ने सुँपानीसम्म आउन जुफालदेखि सुँपानीसम्मको दूरी झन्डै चार किमी रहेको छ। जिपबाट जुफालबाट सुँपानीसम्म तीस मिनेट समय लाग्दछ। गाडीबाट झरेपछि सुँपानीदेखि ठूली भेरीमा लगाइएको पुल तरेर पारि पुगेपछि बगरबजार आइपुिगन्छ।

बगरबजार जिल्लाकै मुख्य व्यापारिक केन्द्र पनि हो। बगरमा थुप्रे होटल पसलहरू सञ्चालनमा छन्। मोरिम्ला धो हुँदै रुपैडिहा जोड्ने सडक, कर्णाली राजमार्गअन्तर्गत जुम्ला डोल्पा जोड्ने सडकले पनि त्रिपुराकोट बगर बजार जोडिन्छ। त्यसकारण पनि बगरबजार डोल्पाकै मुख्य केन्द्रबिन्दु मानिन्छ। बगर बजारदेखि त्रिपुरा सुन्दरी मन्दिरसम्मको यात्रा गर्न १० मिनेट लाग्दछ।