बांकेको डुडुवा गाउँपालिकामा पशु चौपायाहरुमा फैलिएको भ्यागुते रोग  नियन्त्रणमा

Photo : File

२० जेठ,नेपालगञ्ज/ बाँकेको डुडुवा गाउँपालिकामा एक सातादेखि पशु चौपायाहरुमा फैलिएको भ्यागुते रोगको महामारी नियन्त्रणमा आएको छ । गाउँपालिकाको वडा नम्बर २ बेतहनी र वडा नम्बर ४ कम्दीका किसानले पालेका पशुहरुमा विगत एक सातादेखि रोगको महामारी देखिएको हो ।
रोगको संक्रमणले अहिलेसम्म ६ वटा पशुचौपाया मरेका छन् भने करिब ३०० पशु विरामी परेका छन् । भ्याक्सिन नदिइएका बाहिरबाट खरिद गरी ल्याइएका पशु तथा रोगी पशु मरेपछि गाउँ नजिकै अव्यवस्थित रुपमा फालिनाले रोगको संक्रमण फैलिएको गाउँपालिकाका पशु चिकित्सक अशोककुमार पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार पशुहरुमा ज्वरो आउने, मुखबाट र्याल बग्ने, घाँटी सुन्निने, र घ्यार घ्यार गरी तत्कालै मर्ने गरेका छन् । पशुहरुमा फैलिएको महामारी रोगको उपचार शुरु गरिएपछि अहिले नियन्त्रणमा आएको छ ।

भ्यागुते रोगविरुद्ध एक्सेप्ट, डेक्सोना र जीट नामक सुई दिएर उपचारको कार्य तिव्र पारिएको पशु चिकित्सक पाण्डेले बताउनुभयो । यो सुई पशुलाई ६–६ घण्टामा दिइन्छ । गाउँपालिकाले संचालन गरेको घर घरमा पशु स्वास्थ्य सेवा अभियान अन्तर्गत् अहिले पशुहरुको निःशुल्क उपचार गरिरहेको छ ।
उपचारका लागि खटिएका ६ जना पशु स्वास्थ्य प्राविधिकले उपचारसंगै निःशुल्क औषधि समेत वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले संचालन गरेको पशु स्वास्थ्य अभियानले रोगको संक्रमणबाट केही पशु मात्र मरेको, अन्य प्रभावितहरुलाई औषधि उपचारले नियन्त्रणमा आएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

उहाँले यो अभियानले गरिब किसानलाई ठूलो मद्दत पुगेको भन्दै अब किसानले पालेका सम्पूर्ण पशु चौपायाहरुको विमा गर्ने योजना रहेको बताउनुभयो । सम्भवतः यसै वर्ष पशु विमाको शुरुवात गरिनेछ ।