ठेक्का सम्झौता बमोजिम समयमा काम नगर्ने कोस्टल/पप्पु जेभी निर्माण कम्पनीका ठेकेदार तथा सांसद हरिनारायण प्रसाद रौनियारलाई  सरकारले कार्बाही गरेन

कोस्टल/ पप्पु जेभी निर्माण कम्पनीका ठेकेदार तथा सांसद हरिनारायण प्रसाद रौनियार

नेपालगञ्जको सुर्खेतरोड र बर्दियाको जब्दीघाट पुल निर्माणमा जरिवाना र कार्बाही सिफारिस परिसकेको र बांकेको नौवस्तामा कारागार सुधार गृह र सिक्टाको शाखा नहर निर्माणमा पनी लापरबाही जारी

# ठाकुरसिंह थारु #
२३ जेठ, नेपालगञ्ज/ नेपाल सरकारको केन्द्रीय सरकारको निर्देशनमा स्थानीय प्रशासनहरुले सरकारका अन्य बिभिन्न निकायहरुको समन्वयमा समयमा र काम नगरी लापरबाही गर्ने केही ठेकेदारलाई पक्राउ गरिरहेको भएपनी केही ठूला निर्माण कम्पनीका मालिकहरुलाई भने सरकारको उक्त निर्देशनको कार्यन्वयन पालना भएको छैन ।

ठेक्का लिएको डेढ वर्ष सम्म ५ प्रतिशत काम नगर्ने ठेकेदार पनि हालसम्म कारबाहीको दायरामा परेका छैनन् ।  बाँकेको बैजनाथ गाउंपालीकाको नौबास्तामा पश्चिम नेपालको ठुलो खुला कारागार सुधार गृह निर्माण र पश्चिम नेपालको एक ठुलो सिक्टा सिँचाइ आयोजनाको डुडवा नहर ठेक्का पाएका कोस्टल/पप्पु जेभी कारबाहीको दायरा सरकारले लिन सकेको छैन जस्ले गर्दा सानालाई मात्र ऐन नियम र निर्देशन लागुहुने देखिएको छ ।

 

कोस्टल/पप्पु जेभी निर्माण कम्पनीका ठेकेदार हरिनारायण प्रसाद रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद एवं संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य समेत हुन् । उनले नौबास्तामा खुला कारागार निर्माणका लागि भ्याट बाहेक ३९ करोड रुपैयाँमा ठेक्का लिएका थिए ।

त्यस्तै डुडवा नहर निर्माणका लागि ९८ करोड ८१ लाखमा ठेक्का सकार गरे । तर, कारागार निर्माणका लागि ठेक्का लिएको १७ महिना सम्म ५ प्रतिशत पनि काम भएको छैन । सहरी विकास तथा भवन डिभिजन कार्यालयले उक्त ठेक्का दिएको हो ।

ठेकेदारले बैंक ग्यारेन्टी राखे बराबरको २० प्रतिशत अर्थात् ७ करोड रुपैयाँ काम सुरु गर्न पहिलो किस्ता बुझिसकेका छन् । डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले १७ महिनामा निकै कम प्रतिशत काम भएको बताए ।

‘कामको प्रगति बढाउन पटक–पटक पत्राचार गरिरहेका छौं । तर, गति लिएको छैन,’ उनले भने, ‘कहिले सिमेन्ट नभएको कहिले के नभएको भन्दै ठेकेदारले ढिलाइ गरिरहेका छन् ।’ ठेक्काको अवधि अझै १७ महिना बाँकी रहेका कारण कारबाही गर्न समस्या भइरहेको उनले बताए । स्मरणिय छ बिगतमा यस्ता ठुला ठेकेदारहरुले काम ढिलाई गदै समय लम्ब्याएर समानको मुल्य बृद्धि मिलेमतोमा मुल्य बृद्धि दाबी गर्दै राज्यलाई करोडौं चुना लगाउने गरेका छन ।

स्थानीय प्रशासनले काम नगर्ने ठेकेदारको सूची तयार गरिरहँदा पप्पुले भने काम भइरहे जस्तो देखाउन चार जना कामदार खटाएका छन् । ‘दुईरचार जनाले त्यत्रो संरचना बन्नै सक्दैन । ठेकेदारले कुनै उपकरण नै राखेको देखिएको छैन,’ भुसाल भन्छन्, ‘यो गतिले काम हुने हो भने तोकिएको समयभित्र सकिँदैन ।’

पाँच प्रतिशत पनि काम नगरेको उक्त कम्पनीले हालै ६० लाख बराबरको काम भएको बिल डिभिजन कार्यालयमा पेस गरेको छ । त्यस्तै सिक्टाको डुडवा नहर प्रणाली निर्माणको ठेक्का दिएको २८ महिनामा पाँच प्रतिशत मात्रै काम भएको छ ।
लक्ष्यअनुसार काम नभएको भन्दै आयोजनाका कर्मचारीले पटक–पटक चेतावनी दिँदै आएका छन् । ठेकेदारले भने बेवास्ता गर्दै आएका छन् । आयोजनाले ०७४ पुस ३० गते सिँचाइ विभागलाई पत्राचार गरी काम नगर्नेलाई के गर्ने भनेर सुझाव मागेको थियो । विभागले त्यसबारे कुनै प्रतिक्रिया नजनाउँदा ठेकेदार कम्पनीलाई बल पुगेको छ ।

सिक्टा सिँचाइका इन्जिनियर प्रकाश कार्कीले लक्ष्यअनुसार काम नभएको स्वीकारे । उनले अझै पनि निर्माणको समय केही बाँकी रहेकाले कारबाही गर्न समस्या भएको बताए । ‘हामीले आयोजनाको प्रगति हेरिरहेका छौं । तर, लक्ष्यअनुसारको हुन सकेको छैन,’ उनले भने । उनका अनुसार यही गतिले काम हुने हो भने निर्माण सक्नुपर्ने अवधिसम्म १० प्रतिशत पनि पूरा हुन समस्या देखिएको छ ।

निर्माण कम्पनीको काम पनि नगर्ने र समयावधि भने सक्ने रणनीतिले डुडवाको नहर निर्माण पूरा हुन अझै थप दुई वर्ष लाग्ने अवस्था देखिएको छ । उक्त निर्माण कम्पनीले ३२.२ किलोमिटर नहर निर्माण तथा सिक्टाको मूल नहरलाई डुडवा शाखा नहरसँग जोड्ने संरचना निर्माणलगायत काम गर्न ९८ करोड ८१ लाखमा १९ डिसेम्बर २०१८ सम्म काम सक्ने गरी ठेक्का लिएको थियो । उक्त संरचना निर्माणपछि त्यस क्षेत्रको १६ हजार हेक्टर जमिन सिञ्चित हुने विश्वास गरिएको छ ।

०७३ जेठदेखि निर्माण सुरु गरी ०७५ पुुस ४ सम्म सक्ने सम्झौता थियो तर निर्माण पूरा गर्ने अवधिको करिब ७५ प्रतिशत समय सकिए पनि ५ प्रतिशत मात्रै काम गरेर रोकेका कारण आयोजनाको काम अपलत्र छ ।

थकोस्टल/ पप्पु जेभी निर्माण कम्पनीका ठेकेदार तथा सांसद हरिनारायण प्रसाद रौनियारले गरेको कामको नमुनाहरु मध्य बर्दियाको जब्दीघाटको पुलको अवस्था । फोटो: फाइल

निर्माण कम्पनीले समयमै काम नगरेका कारण मूल नहर निर्माण भए पनि त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित छन् ।
त्यसैगरी कोहलपुर- जमुनहा ४ लाईन सडक निर्माणको जिममा लिएको कोस्टल/पप्पु जेभी निर्माण कम्पनीका ठेकेदार हरिनारायण प्रसाद रौनियारलाई सम्झौता बमोजीम काम नगरेको भन्दै नेपाल सरकारले सडक डिभीजन कार्यालय नेपालगञ्ज मार्फत कार्बाही गरी करीब ५ करोड जरिवाना गरेर कालो सुचीमा राख्ने यस अघि बताए पनी कोस्टल/पप्पु जेभी निर्माण कम्पनीले निर्माणमा ठुला ठेक्का पाईरहेको छ ।

बर्दियामा पनी गुलरिया कर्तनिय सडम खण्डको जब्दीघाट पुल निर्माणको क्रममा भासिएकोले सरकारले छानबनि कमीटी गठन गरेकोमा प्ररारम्भीर रुपमा ठेकेदारको लापरबाही रहेको छानबीन टोलीहरुले बताइसकेका छन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले समयमै काम नगर्ने दुई ठेकेदारलाई पक्राउ गरिसकेको र अन्यको सूची तयार गरिएको बताउनु भयो । निर्माण कम्पनीका रौनियारलाई  मोबाईल नम्बर ९८५११२६६०७ मा पटक–पटक फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । कान्तीपुर अनलाईनबाट पनी लिइएको हो ।