प्यूठानको प्रबेश द्धार बांगेसाल क्षेत्रका जनतालाई कुखुरा फार्मले बनायो स्व-रोजगार


# गिरुप्रसाद भण्डारीर/प्यूठान #
२३ जेठ/ प्यूठानको सरुमारानी गाउँपालिका १ बांगेसालका कुखुरा व्यवसायी दानबहादुर जीसीका दुईवटा पोल्ट्री फार्म छन् । करोडौंको लगानीमा सञ्चालित फार्ममा दर्जनौंले रोजगारी पाएका छन् । उनको मेहेनत र लगनशीलता देखेर स्थानीयले मिलेर सरुमारानी एग्रो फार्म प्रालि सञ्चालन गरेर लेयर्स जातका कुखुरा पाले ।

उक्त गाउँपालिकाका २५ जना मिलेर खोलेको फार्ममा अहिले ९ हजार कुखुरा खोरमा राखिएको छ । ४० हजार हुर्काउन मिल्ने भौतिक संरचना छ । कम्पनीले अस्थायी पशु चिकित्सकसमेत राखेको छ, यही कारण रोग फैलिएर कुखुरा मर्ने समस्या छैन ।

बांगेसालमा मात्र अहिले दैनिक १६ हजार अण्डा उत्पादन भइरहेको जीसीले बताए । ‘कुखुरा पाल्नका लागि बांगेसाल उपयुक्त छ,’ उनले भने, ‘लेयर्स र ब्रोइलरबाट किसानले आम्दानी गरिरहेका छन् ।’ विदेशबाट फर्केर धेरै युवा कुखुरा पालनमा लागेका छन् । त्यसले बांगेसालवासीलाई स्वरोजगार बनाएको उनले बताए । कुखुरा फार्म मानव बस्तीभन्दा टाढा रहेकाले रोगको संक्रमण छैन ।
बांगेसाल ‘पोल्ट्री हब’ का रूपमा चिनिन थालेको छ । एक दशकयतादेखि यहाँ ठूलो लगानीमा लेयर्स र ब्रोइलर कुखुरा फार्म खोल्ने किसान बढेका छन् र त्यो क्रम अझै रोकिएको छैन । ब्रोइलर कुखुरा र अण्डा लिन आउने पिकअप भ्यान बाक्लै देखिन्छन् ।
रोग लागेर किसानले नोक्सानी बेहोर्नु परेको छैन र सबैले राम्रो उन्नति गरेको गोविन्द केसीले बताए । यहाँका किसानले कुखुरालाई दाना बनाउने मिलसमेत सञ्चालनमा ल्याएका छन् । यसले कुखुरा पालनमा सहजता भएको छ । यहाँ उत्पादित अण्डा प्यूठान र रोल्पाका बजारका अतिरिक्त अर्घाखाँची, गुल्मी, दाङ र बुटवलसम्म पुग्छन् । गाउँपालिका मासु र अण्डामा आत्मनिर्भर बनेको छ । करोडौंको कुखुरा जन्य उत्पादन जिल्लाबाट पठाउन थालेको गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले नाकारी दिनु भएको छ।

‘हामीले पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘किसानसँग गाउँ सरकार कार्यक्रमले किसान हौसिएका छन् ।’ उक्त कार्यक्रममार्फत यसपालि ५० लाख रुपैयाँ अनुदान दिएको विश्वकर्माले बताए ।

धेरै किसानले लेयर्स कुखुरा पाल्न थालेपछि अण्डा राख्ने क्रेट उद्योग समेत बांगेसालमै सञ्चालनमा आएको छ । पश्चिम क्षेत्रका कुखुरा पालक व्यवसायीलाई लक्षित गरी नौ वर्षअघि खोलिएको यो उद्योगमा दैनिक आठ हजारभन्दा बढी अण्डा अट्ने क्रेट उत्पादन हुन्छ । एक करोड रुपैयाँको लागतमा उद्योग खोलिएको हो ।

बांगेसालमै मध्य तथा सुदूरपश्चिमकै पहिलो र ठूलो राप्ती फिड एन्ड ह्याचरी प्रालि छ । यसमा चल्ला उत्पादनका लागि १० हजार प्यारेन्ट जातका कुखुरा पालिएका छन् ।
२०६७ मा चार जनाको साझेदारीमा उद्योग सुरु भएको थियो । दैनिक १ हजार ५ सयदेखि ३ हजार ५ सयसम्म चल्ला उत्पादन हुने गरेको व्यवस्थापक धर्मराज भण्डारीले बताए । उनका अनुसार उद्योगका कारण दर्जनौंलाई रोजगारी मिलेको छ । सरुमारानी गाउँपालिकाले कुखुरापालक किसानलाई व्यावसायिक बनाउन नीति बनाउने तयारी गरेको छ ।
‘कुखुरापालक कृषकलाई सहकारीमार्फत अगाडि बढाउने योजना बनाएका छौं,’ सरुमारानी गाउँपालिका २ का वडाध्यक्ष वसन्त जीसीले भने, ‘दुई लाख रुपैयाँ विनियोजना गरी सहकारीको काम अगाडि बढाएका छौं ।’ किसान बिचौलियाबाट ठगिन नपरोस् भनेर सहकारीमा किसानलाई आबद्ध गर्न लागेको उनले बताए । कुखुरापालनमा बांगेसाल क्षेत्रका किसानले ३० करोडभन्दा बढीको लगानी गरिसकेको गाउँपालिकाको अनुमान छ ।

बांगेसाल क्षेत्रमा मात्र कम्तीमा ५० हजार कुखुरा पाल्न मिल्ने पूर्वाधार तयार भएको जिल्ला पशुसेवा कार्यालय प्रमुख डा। शरणकुमार पाण्डेले बताए । ‘जिल्ला अण्डा र कुखुराको मासुमा आत्मनिर्भर बनेको छ,’ पाण्डेले भने, ‘कुखराबाट धेरै जना स्वरोजगार बनेका छन् ।’ कान्तीपुरमा आलार्इनमा समाचार छ ।