हरिहरसिंह राठौर १४असार,धादिङ /
जिल्लाको उत्तरी भेगमा पर्ने खनियाँवासमा पहिरो घर बगाउँदा बुधबार राति ५ जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् ।
खनियाबाँस गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वारामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी बुहारीसहित दुई नातिनीकाे मृत्यु भएको छ ।
गोलेका १० वर्षीय नाति विकास गुरुङलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । मृत्यु हुनेमा गोलेकी ३२ वर्षीय बुहारी वसुदा गुरुङ्ग, ८ वर्षीय नातिनी लक्ष्मी र ५ वर्षीय सरस्वती गुरुङ्गको सनाखत भएको छ ।
घाइते विकासकाे स्थानीय नेत्रावती हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।खनियाँवास–५ मार्पाकमा पहिरोले पाँच घर बगाएको छ ।
खनियाँबास–४ च्यरीबोटमा गएको पहिरोले घर पुरिदा ६१ वर्षीय शमसेर घले र उनकी श्रीमती कोप्ची घलेको मत्यु भएको जिल्ला प्रहरी प्रमुख डम्वरबहादुर विकले बताए ।
पहिराेले पुरिएका घले दम्पतीलाई स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको टोलीले निकालेको प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिएका छन् । सोही गाँउमा पहिरोले घर बगाउँदा दिपक गोतामे, लक्ष्मी गोतामे, कल्पना र २ वर्षका रवि घाइते भएका छन् ।
घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्छ । बर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सबै सडक अवरुद्ध भएकोले सदरमुकामबाट जान सकेका छैनन् । इलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोली चिउरी खर्क पुगिसकेको छ भने साइश्वारामा अझै पुग्न सकेका छैनन् । घटनाको अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उद्धार भैसकेको र जिल्ला प्रशाासनका शाखा अधिकृत राममणि मिश्रको नेतृत्वमा जिल्ला अस्पतालका एक चिकित्सक र प्रहरी निरीक्षक जनक पुरीसहितको टोली पठाएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए । उक्त टोलीमार्फत मृतकका परिवारलाई एक लाख र घर भत्केकालाई १० हजार दरले सहयोग पठाएको प्रजिअ पाण्डेयले बताए । kantipur online bat.
हाम्रो संरचना । १४ असार २०७५, बिहीबार १०:३८