काम खोज्न दैनिक हुलका-हुल नेपाली छिमेकी मुलुक भारत तर्फ ..

नेपाल भारत सिमाना गेट जमुनहा, नेपालगञ्ज । फोटो हाम्रो संरचना

विश्वराज पछल्डङ्ग्या/ बाँके, ८ साउन

कामको खोजीमा दैनिक एक हजार नेपाली भारत जाने गरेका छन् । बाँकेको जमुनाहा नाकाबाट युवा मात्र होइन, महिला तथा ज्येष्ठ नागरिकसमेत भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार एक हप्ता यता जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, रुकुम, जाजरकोट, रोल्पा, दाङ, प्युठानबाट कामको खोजीमा दैनिक १ हजार भारत गइरहेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक अनिल शाहले कामका लागि धेरै भारत जाने गरेकाले नेपालीको रेकर्ड राख्न कठिन भएको बताए । उनले हुल बाँधेर पहाडी र हिमाली भेगका नेपाली कामको खोजीमा भारत तर्फ जाने गरेको बताए । एक हुलमा कम्तीमा १५/२० जना भारत पस्ने गरेको सइ शाहले बताए । उनले भने, ‘युवाको समूह हुल बाँधेर भारत जान लागेको देख्दा मन खिन्न हुन्छ ।’
कामका लागि भारत जाने र फर्किनेलाई लक्षित गरी यातायातका साधनसमेत बढेका छन् । स्वर्गद्वारी यातायात प्रालिले यात्रुको चाप बढेपछि सवारीसाधन थपेको छ । कामको खोजीमा भारत जाने नेपालीको संख्या बढेपछि पाँचवटा ‘हायस’ थप गरेको प्रालिका अध्यक्ष दीपकराज चन्दले बताए ।
उनले हिमाञ्चल प्रदेशको सिमलामा स्याउ टिप्ने सिजन भएकाले कामको खोजीमा भारत जाने नेपालीको संख्या ३ गुणाले बढेको बताए । ‘हामीले दैनिक दुईवटा हायस सिमला क्षेत्रका लागि सञ्चालन गर्दै आएका थियौँ, एक हप्ता यता दैनिक ७ वटा पठाउँदासमेत अपुग भएको छ,’ चन्दले भने ।
प्रालिले सञ्चालन गरेका हायसका साथै दाङबाट दुईवटा यात्रुबाहक बस र भारतको रुपडिहाबाट प्रत्येक घन्टा रोडवेज बस छुट्ने गरेको छ ।  सवारी साधन नपाएर सिमला जाँदै गरेका नेपाली फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज शाहले बताए ।
नेपाली यात्रु लुटिन घटनामा कमी
कामको खोजीमा भारत जानेहरूलाई लक्षित गरेका सवारी साधनले यात्रुलाई गन्तव्यसम्म पु-याउन थालेपछि ठगिने र लुटिने क्रम घटेको प्रहरीले जनाएको छ । हरेक हप्ता नेपाली भारतमा लुटिएको, ठगिएको सूचना आए पनि अहिले यस्तो समस्या नआएको जमुनाहा प्रहरी प्रमुख शाहले बताए । नयां पत्रिकामा समाचार प्रकाशित छ ।

सम्बन्धित शीर्षक