कञ्चनपुरमा निर्मला पन्तको घटनाको छानबिन समितिले गृहमन्त्री लाई प्रतिवेदन बुझायो

९ असोज,नेपालगञ्ज/ कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझाउँदै संयोजक मैनालीले सो घटनामा प्रहरीबाट भएको कमजोरीबारे गृहमन्त्री थापालाई ‘ब्रिफिङ’ गर्नुभएको छ  । प्रतिवेदनमा पन्तका अभियुक्तबारे केही तथ्य छैन, तर शंकित व्यक्तिलाई अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
समितिलाई तोकिएको १५ दिनको म्यादसम्म जाँचबुझ नसकिएपछि भदौ २४ मा मन्त्री परिषद् बैठकले भदौ २५ देखि लागू हुने गरी १५ दिन म्याद थप गरिएको थियो ।

१० साउनमा पन्तको बलात्कारपछि हत्या भएको थियो । हालसम्म अभियुक्त पक्राउ परेका छैनन् । प्रहरीले स्थानीय युवक दिलिपसिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपछि नक्कली अभियुक्त खडा गरिएको भन्दै आन्दोलन चर्किएका कारण छानबिन समिति बनेको थियो ।

समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डिआइजी तथा प्रदेश नम्बर ७ का उप-सचिव वीरेन्द्र केसी सदस्य थिए । २ महिना बित्दा पनि निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेको पत्तो लागेको छैन ।