तिहारको भाईटिकाको शुभ साईत कार्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा

१४ कार्तिक, नेपालगञ्ज/  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष २०७५ को भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

समितिको बुधबार बसेको बैठकले यही कार्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको शुभ साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनु भएको छ ।

यस वर्ष यम पञ्चक अर्थात् तिहार कार्तिक १९ गतेदेखि शुरु हुँदैछ । कार्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ । कार्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ ।

कार्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपवाली गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार लक्ष्मीपूजाको दिन बिहान गाई पूजा गर्ने चलन रहेको छ । कार्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा रहेको छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ । तिहारमा भाई र दिदि बहिनीको बिेशेष पर्वको रुपमा लिईने गरिन्छ ।

तिहारको मुख्य दिन कार्तिक २३ गते भाइटीका दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइ दिने चलन छ ।