७ मंसिर,बर्दिया/ बर्दियाको बढैयाताल गाउँपालिकामा गोली हानी एक व्यापारीको हत्या गर्ने मुख्य योजनाकार रहेको आरोपमा ३ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई दिएको बयान, कल डिटेल रेकर्डलगायतका आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका –३, गोब्रेपुरका ३५ वर्षीय मोहनलाल खटिकको गएको कात्तिक १९ गते गोली हानी हत्या भएको थियो । प्रहरीले हत्याको मुख्य योजनाकारको आरोपमा बढैयाताल गाउँपालिका वडा नम्बर ३ गोब्रेपुरका लक्षु भनिने लक्षिराम खटिक, सतपतियाका शालिकराम खटिक र राजेन्द्र खटिकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभएको छ ।
प्रहरीमा किटानी जाहेरी दिएको आधारमा घटनामा संलग्न रहेको आरोपमा मनोरथ भनिने मनोहर खटिक र राम जुगेस खटिकलाई पनि नियन्त्रणमा लिएको छ । हत्याका मुख्य आरोपी गैर नेपाली भारतीय नागरिक ३३ र ३२ वर्षका दुईजना सुटर फरार रहेको ओलीले जानकारी दिनुभयो ।
पशु व्यापार गर्दै आएका मृतक खटिकलाई पुरानो रिसिबी तथा लेनदेनका कारण गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । खटिकको घरमै सुतिरहेको बेलामा पेटमा हानिएको गोली कुन हतियारको हो भन्ने बारेमा भने अझै नखुलेको निरीक्षक ओलीले बताउनुभयो ।
पक्राउ परेका हत्या योजनाका आरोपितहरुलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै थप दुई जनालाई अनुसन्धानकै क्रममा राखिएको जनाएको छ ।बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीको विशेष उपस्थितिमा भएको हत्यामा संलग्न योजनाकार सार्वजनिक कार्यक्रममा पत्रकार, जनप्रतिनिधि, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।
पछिल्लो समय बढैयाताल क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।
हाम्रो संरचना । ७ मंसिर २०७५, शुक्रबार ०७:११