८ मंसिर,सप्तरी/ सप्तरीमा तीर्थ यात्री बोकेको बस शुक्रबार राती दुर्घटनामा परेको छ । सप्तरीको इनरुवामा शुक्रबार साँझ बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ दर्जन भन्दा बढी घाइते भएका छन् ।
बराह क्षेत्रमा लागेको कुम्भ मेला हेरेर फर्किँदै गर्दा हनुमा ननगर कंकालिनी नगरपालिका वडा नम्बर १० इनरुवामा को १ ख २७९९ नम्बरको बस दुर्घटनामा परेको छ ।
सो दुर्घटनामा परी सप्तरी डाकनेश्वरी-५ की ७० बेचनी देवी यादव, ६० वर्षीय सिकला देवी साह, दिनेश रजक, नाम खुल्न नसकेकी उनकी श्रीमती र ठकनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीको भुतही डाँक्रेश्वर नगरपालिका २ भूतहीबाट बिहीबार बराह क्षेत्रमा गएको बस शुक्रबार फर्कने क्रममा दुर्घटनामा परेको हो। बसमा करिब ७० जना सवार रहेको अनुमान प्रहरीले रेको छ। घाइते मध्ये ११ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र सगरमाथा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बिबिबार सांझ डडेल्धुरा र दार्चुलामा भएको बस दुर्घटनाका घाईतेलाई नेपाली सेनाको हेलिकप्टरले केहीलाई काठमाडौं ल्याएको छ ।बिहिबार बेलुकी डडेल्धुरा तथा शुक्रबार दार्चुलामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी गम्भीर घाईते भएकालाई थप उपचारका लागि काठमाडौं ल्याउन सेनाको हेलिकप्टर त्यसतर्फ गएको थियो ।
घाइते मध्ये ७ जनालाई काठमाडौं ल्याइएको छ । जसमा २ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई वीर अस्पतालको आइसियुमा राखेर उपचार गरिएको छ । अन्य ५ जनाको पनि वीर अस्पतालमै उपचार भइरहेको छ ।
विहिबार डडेल्धुराको उग्रतारामा लागेको मेलाबाट फर्किदै गर्दा बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २६ जना घाईते भएका थिए । यसैगरी शुक्रबार विहानै दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको महाकाली यातायात समितिको गाडी दुर्घटना हुँदा ३ दर्जन घाईते भएका थिए ।
हेलिकप्टरले डडेल्धुरा दुर्घटनामा घाइते भई धनगढी र नेपालगञ्जमा उपचार भइरहेका ४ जनालाई काठमाडौं लगेको छ भने दार्चुला दुर्घटनामा परी घाइते भएका ४ जनालाई कोहलपुरमा शिक्षण अस्पतालमा पु–याएको छ ।
यसैबीच घाइतेहरुलाई वीर अस्पताल ल्याइएपछि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापति निरादेवी जैरु, राष्ट्रियसभा सदस्य महेश महरा लगायतले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका छन् ।
घाइते सबैको प्रदेश सरकारले निःशुल्क उपचार गर्ने घोषणा गरिसकेको छ । पूर्वमन्त्री भट्टले प्रउपचारमा कुनै कसर बाँकी नराख्न सम्वन्धीथ पक्षलाई आग्रह गरेका छन् ।
विहानै टिप्परले ठक्कर दिँदा वृद्ध ठहरै
शनिबार फेरि टिप्परको ठक्करले काठमाडौंका एक जनाको मृत्यु गएको छ । शनिबार बिहानै साँढे ३ बजेतिर काठमाडौंंको बल्खुमा बा ४ ख ९५७५ नम्बरको टिप्परले बा १ ज ८८५५ नम्बरको माइक्रोलाई ठक्कर दिएको थियो । सो टिप्परको ठक्करबाट घाइते भएका सिन्धुपाल्चोकका ६४ वर्षीय बाबुकाजी श्रेष्ठको वयोधा अस्पतालमा मृत्यु भएको छ । उनी माइक्रो चालक हुन् ।
दुर्घटनापछि फरार रहेका टिप्पर चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यता, शनिबार बिहान पौने ५ बजेतिर कोटेश्वरमा भाटभटेनी अगाडि ना ६ ख ५५९२ नम्बरको ट्रकमा ना ५ ख ४०२६ नम्बरको बस ठोक्किँदा बसमा सवार सर्लाहीको मुलुङगा घर भई काठमाडौंको तिलगंगा बस्ने ७१ वर्षीय शम्भू परियारको मृत्यु भएको छ । घाइते भएकी शम्भूकी श्रीमती रिता र सर्लाही ढुंग्रेखोलाका डम्बर श्रेष्ठको ललितपुरको ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
हाम्रो संरचना । ८ मंसिर २०७५, शनिबार ०९:२४