नेपालमा चिसो बढ्यो: हुम्लाको तापक्रम माइनस १३ डिग्री

HUmla

१३ पुस,नेपालगञ्ज/  शुक्रबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । हुम्लामा हिमपात भएपछि शुक्रबार बिहान सिमिकोटको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ ।

हुम्ला जिल्लाका उत्तरी क्षेत्र लिमी, मुचु खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँ सिमकोट लगायतका गाउँमा हिमपात भएको छ। यो वर्ष छिटो हिउँ परेको र यो सिजनमा दोस्रो पटक हिमपात भएको हो । छोटो समयमै २ पटक हिमपात भएपछि बाली सप्रिने भएकाले किसान खुसी भएका हुन्। हिमपातसँगै चिसो बढेकाले नागरिकलाई घर बाहिर निस्कन समस्या परेको छ। हिमपातका कारण मुगुमा समय समयमा विमास्थलमा हवाई सेवा अवरुद्ध हुने गरेको छ।

शुक्रबार बिहान डडेलधुराको तापक्रम माइनस १ दशमलव ३ डिग्रीमा झरेको छ । काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्रीमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार जुम्लाको तापक्रम माइनस ८ डिग्री रहेकोमा उक्त तापक्रम बढेर बिहीबार तापक्रम माइनस ६ दशमलव २ डिग्री मापन गरिएको छ । जुम्लाका उच्च पहाडहरु पनी सेताम्मे भएका छन । नेपालगञ्जमा पनी बिहानको तापक्रम न्यूनतम ५ डिग्री सम्म झर्ने गरेको छ ।