बांकेमा थारू महिलाहरु परम्परागत हस्तकला सामग्री निर्माणमा आकर्षित

२३ पुस बाँके/  नेपालगञ्ज उपमहानगरपालिकामा बसोबास गर्दै आएका थारु महिलाका लागि थारु हस्तकलाका आयआर्जनको राम्रो स्रोत बनेको छ। केही वर्षअघिसम्म एक दुई रुपैयाँ नै कहाँबाट हात पार्ने भनी चिन्ता गर्ने थारु महिलाहरुका लागि पछिल्लो एक दुई हजार रुपैयाँ सामान्य झै हुन थालेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले दिएको तीन महिने थारु हस्तकला उत्पादन तालिम लिएपछि उनीहरुले हस्तकलाकासामग्री उत्पादन गर्दै बिक्री गर्न थालेका छन्। हस्तकलाको काम गर्न थालेपछि एक दुई हजार रुपैयाँ अभाव हुन छाडेको नेपालगञ्ज उपमहानगरपालिका–९ की सरिता चौधरीले बताउनु भयो।

उहांले घरमै बसेर मासिक करिब नौ हजार रुपैयाँ आम्दानी गरिरहेकी छन्। कुनै महिना त्यो भन्दा बढी आम्दानी हुने गरेको उहांले बताउनु भयो। उत्पादित वस्तुको बजार अभाव नभएको सरिताले बताइन्। ‘जति उत्पादन गरे पनि बजारमा खपत हुन्छ,’ सरिताले भनिन्, ‘बजारको चिन्ता छैन।’

नेपालगञ्ज–६, फुल्टेक्राकी भागरथी चौधरीले पनि थारु हस्तकलाका सामान उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन्। उनले घरको कामधन्धा सकेर फुर्सदको समयमा हस्तकलाका सामान बनाउने गरेकी बताइन्। उनले भनिन्, ‘ढक्की, पेनहोल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रे लगायतका सामान बेचेर महिनामा करिब छ हजार रुपैयाँ कमाइ हुन्छ।’

यस क्षेत्रका महिलाहरुले जंगलबाट कुश, खर ल्याएर हस्तकलाका सामग्री बनाउँदै आएका छन्। हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदुरी गर्ने बाध्यताबाट मुक्ति मिलेको नेपालगञ्ज–१२ की विह्या थारुले बताइन्। उहांले भन्नु भयो,‘थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानु परेको छ न त कामको खोजीमा बाहिर जानु पर्ने बाध्यता छ।’

यस्ता सामान बनाउन ती वस्तुको प्रकृति हेरेर समय लाग्ने गरेको छ। त्यही समयको आधारमा सामानको मूल्य तोक्ने गरिएको उनीहरुले बताए। एउटाको सामानको मूल्य तीनदेखि ५०० रुपैयाँसम्म रहेको छ।
उनीहरुले सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगबाट तालिम लिएका हुन्। थारु महिलाहरुले पहिले पनि थारु हस्तकलाका सामान बनाउथे। तर, तालिम लिएपछि आधुनिक र चलन चल्तीका प्लाष्टिक, तामा, सिसाका भाँडाजस्तै डिजाइनमा बनाउन बनाउन थालेका छन्।

यहाँ उत्पादित हस्तकलाका सामग्री नेपालबाहिर पनि बिक्री निर्यात हुने गरेको छ। संगठित रुपमा उत्पादन गर्दै आएका महिलाहरुले डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष नीरु चौधरीले जानकारी दिइन्।

यस्तै, काठमाडौं, पोखरा, सुर्खेत, दाङलगायत मुलुकका विभिन्न सहरहरुमा निर्यात हुँदै आएको छ। घर र छिमेकीको घरमा गफ गरेर बिताउने समय हस्तकलाका सामान उत्पादन गर्नमा बित्ने गरेको अध्यक्ष चौधरीले बताइन्। उनले भनिन्, ‘काम गर्न थालेपछि एकातिर समयको सदुपयोग भएको छ भने अर्कोतर्फ आम्दानीको राम्रो स्रोत बनेको छ।’

घरमा बिक्री नभएका सामान र आफ्नो सामानको प्रचार प्रसार गर्न मेला, महोत्सवमा लैजाने गरेको उनीहरुको भनाइ छ। ‘यसले हामीलाई आत्मनिर्भर मात्र बनाएको छैन,’ हस्तकला केन्द्रकी अध्यक्ष चौधरीले भनिन्, ‘आफ्ना लागि आफैं कमाउनु पर्छ भन्ने भावनाको विकास पनि गराएको छ।’ थाहखबरबाट लिइएको हो ।