२०७६ सालको वार्षिक राशिफल: कुन–कुन राशिलाई कस्तो छ ?

यो बिज्ञापन हो ।
यो बिज्ञापन हो ।

मेष ( चू, चे, चो, ला, लि, लू, ले, लो, )

मेष राशि भएका व्याक्तिहरूका यो वर्ष उत्साहजनक रहनेछ । ज्येष्ठ ०८ गतेसम्म र कात्तिक १३ गतेबाट चैत ०४ गतेसम्म बृहस्पतिको अनुकुल प्रभावले नयाँ काम पाउँने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । विशेष गरी स्कुल, कलेज, कन्सल्टेन्सी, होटल व्यावसाय, बैङ्क तथा वित्तीय जस्ता क्षेत्रमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ ।

लामो दूरीको धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । बौद्धिकता तथा नयाँ प्रविधिको प्रयोगमार्फत धन तथा सम्पत्तिमा वृद्धि गर्न सकिने समय रहेको छ । लामो समयदेखि रोकिएर बसेका काम तथा योजनाहरू पूरा हुनेछन् । भाग्यले प्रेमपात्र जुराउनेछ भने माया प्रेम गर्ने जोडीहरूले आफ्नो प्रेम सम्बन्ध विवाहमा परिणत हुनेछ ।

तेस्रो भावमा वर्षभरी नै गोचर गर्ने राहुले आट, सहास तथा पराक्रममा वृद्धि गर्नेछ भने खेलकुद तथा पराक्रमी क्रियाकलापमा सहभागी भई देश विदेशको यात्रामा निस्कन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले कूटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दूरीको अफिसियल यात्रा हुनेछ । पढाइ लेखाइकै सवालमा दक्षिण तथा पश्चिमी मुलुकको यात्रा गर्न सकिनेछ । लेखन कला साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि यो वर्ष उत्तम रहनेछ ।

फागुन ०३ गतेसम्म भाग्य भावमा र फागुन ०४ गतेबाट राज्यभावमा गोचर गर्ने शनिको अनुकूल प्रभावले समाजमा विशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ट सम्बन्ध बनाई राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सरकारी नोकरीमा प्रवेश, पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ ।

न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् भने लामो समयदेखिको विवाद अन्त्य हुनेछ । कम्प्युटर पाट्स, इलेक्ट्रिक सामान, घर जग्गा, इन्जिन, हार्डवयेर, फेक्ट्री, फार्मेसी तथा उत्पादनमुखी व्यावसाय विगतभन्दा फस्टाएर जानेछ ।

जेठ ०९ गतेबाट कात्तिक १२ गतेसम्म कष्ट भावमा प्रवेश गर्ने बृहस्पतिले आफन्त तथा घर परिवारमा नराम्रा घटनाको सामना गर्नुपर्नेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा वा सवारी साधन चलाउँदा ख्याल गर्नुहोला, शरीरमा चोटपटक लाग्नेछ । माटोपन, जन्डिस, कोलेस्ट्रोल तथा कलेजोसँग सम्बन्धित बिरामीले विशेष ख्याल गर्नुहोला ।

राशि स्वामि मङ्गल साउन २६ गतेबाट असोज ०८ गतेसम्म पञ्चम भावमा गोचर गर्ने हुनाले वंश वृद्धिको गतिलो योग रहेको छ भने भौतिक सम्पत्ति तथा विलाशी सामान उपाहारका रूपमा प्राप्त हुनेछन् । असोज ०९ गतेबाट कात्तिक २६ गतेसम्म छैटौँ भावमा गोचर गर्ने मङ्गलले प्रतिस्पर्धामा तपार्इंको नाम अग्र स्थानमा आउनेछ भने लामो समयदेखिका ऋणबाट मुक्त हुन सकिनेछ । पुस १२ गतेबाट माघ २७ गतेसम्म अष्टम भावमा गोचर गर्ने स्वगृह मङ्गलले चिठ्ठा पर्ने योग बन्नेछ ।

नसोचेको धन तथा सम्पत्ति हात लाग्नेछ । माघ २८ गतेबाट चैत १२ गतेसम्म भाग्य भावमा गोचर गर्ने मङ्गलले बृहस्पतिसँग युक्ति गरी पारिजातको योगको निर्माण गर्ने हुनाले धार्मिक यात्रा हुनेछ भने धर्म तथा अध्यात्मको क्षेत्रमा रुचि बढ्नेछ । चैत १३ गतेबाट दशौँ घरमा मङ्गल उच्च भई रुचक योगको निर्माण गर्ने हुनाले समाजमा प्रतिष्ठित काम गरी नाम कमाउन सकिनेछ । नोकरीमा प्रवेश पाई राज्यको उच्च पदमा आसिन रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ भने लिडरसिप क्षमतामा वृद्धि हुनेछ ।

आर्थिक दृष्टिले असार, असोज, माघ तथा फागुन महिना मेष राशि हुनेहरूका लागि शुभ रहनेछ । मेष राशि भएका व्याक्तिहरूले प्रत्यक मङ्गलाबार गणेश भगवानको पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा सम्पन्न हुनेछन् । शनिका लागि विष्णुको पूजा तथा पीपलमा जल चडाउनाले र वृहस्पतिको लागि बङ्गलामुखीको दर्शन गर्ने र राहु केतुको लागि बटुक भैरवको पूजा तथा दर्शन गर्ने र आफ्नो इष्टदेवको पूजा गर्नाले लाभ मिल्नेछ ।

वृष ( ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) स:

वृष राशि भएका व्यक्तिका लागि सङ्घर्षमय पूर्वाद्र्धको समय पार गर्दै मध्य तथा उत्तराद्र्धको समय फलदायी रहनेछ । फागुन ३ गतेसम्म कष्ट भावमा गोचर गर्ने शनिको अढैयाको प्रभावले घर परिवारमा विशेष गरी पतिपत्नीबीच दूरी बढ्नेछ भने घरायसी कुरामा आफन्तबीच सैद्धान्तिक विषयमा राय बाझिनेछ । कष्ट भावमा शनि र केतुको युक्तिले भौतिक सम्पत्ति हराउने, सवारी साधनको प्रयोग तथा परिचालन गर्दा दुर्घटना हुने योग रहेको छ ।

आर्थिक मन्दी तथा काममा ढिला सुस्तीको चपेटामा परिनेछ । समाजसेवा तथा राजनीति गर्नेहरूले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्ने व्याक्तिहरूबाट अनावश्यक झन्झट व्यहोर्नु पर्नेछ । आफन्तसँग मनमुटाव सिर्जना हुने तथा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् ।

जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले नसासम्बन्धी समस्या तथा प्यारालाइसिस तथा ग्यास्ट्रिकको समस्या झेल्नुपर्नेछ । फागुन ४ गतेबाट भने शनिको अढैया सकिने तथा शनि भाग्य भावमा स्वगृह भएर गोचर गर्ने हुनाले लामो दूरीको धार्मिक यात्रा हुनेछ । इन्जिनसम्बन्धी व्यावसाय फस्टाएर जानेछ भने फ्याक्ट्री तथा उत्पादनमुखी व्यावसायबाट लाभ हुनेछ ।

वर्षभरी नै धन भावमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले छिटो बोल्दा वा नसोची कुनै पनि कुराको निर्णण गर्दा परिस्थिति बिग्रनेछ । कुटुम्ब तथा आफन्तसँग धन सम्पत्ति तथा मुभी सम्बन्धी विवाद बढ्नेछ । रुपैयाँ पैसा सापटी नदिनुहोला फर्केर आउने सम्भावना कम रहेको छ । राजनीति तथा कूटनीतिक क्षेत्रमा विदेश यात्रा गर्नेहरूका लागि धन स्थानको राहुले प्रशस्त धन सम्पत्ति दिनेछ । कर्म प्राप्तिका लागि विदेश यात्राको योग छ ।
जेठ ८ गतेबाट कात्तिक ०४ गतेसम्म व्यापार भावमा गोचर गर्ने बृहस्पतिले स्कुल, कलेज, मन्टेस्वरी, बैङ्क तथा वित्तीय क्षेत्रमा थप लगानी गर्ने वातावरण बन्नेछ भने व्यापारमा सहभागी हुनेहरूले प्रशस्त नाफा कमाउन सक्नेछन् । गीत सङ्गत तथा मोडलिङको क्षेत्रमा समय लगानी गर्ने तथा कलाकारितको भूमिकामा देखिनेहरूका लागि समयले साथ दिनेछ ।

आफूलाई मन परेको मानिससँग वा पतिपत्नीका साथ रमाइलो यात्राको तय गर्न सकिनेछ भने मायाप्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुसन्धानको क्षेत्र तथा पढाइ लेखाइबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । व्यापार विस्तारका लागि अथवा धार्मिक तथा शिक्षाका लागि देश विदेशको यात्रा गर्न सकिनेछ ।

जेठ ८ गतेसम्म र कात्तिक १२ गतेपछि कष्ट भावमा गोचर गर्ने बृहस्पतिको प्रतिकूल प्रभावले दीर्घकालीन रोगले सताउन सक्छ, ध्यान दिनुहोला । मोटोपन, कोलेस्ट्रल, कलेजोका बिरामीले विशेष ख्याल गर्नुपर्नेछ तापनि अष्टम भावमा स्वगृह बृहस्पतिका कारणले नसोचेको धन सम्पत्ति प्राप्त हुने तथा चिठ्ठा पर्ने प्रशस्त सम्भावना रहनेछ ।

राशि स्वामी शुक्र वैशाख २५ गतेसम्म राज्य भाव र आएभावमा गोचर गर्ने हुनाले नयाँ काम पाउने तथा राज्यको मेकानिजमभित्र बसेर काम गर्नेहरूका लगानी सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना छ । जेठ २० गतेबाट असार १२ गतेसम्म स्वगृह भई मालव्य योगको निर्माण गर्ने शुक्रले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने विलाशी वस्तु, स्टार होटल तथा ब्रान्डेड सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । आश्विन १६ गतेबाट कात्तिक १० गतेसम्म प्रतिस्पर्धा भावमा स्वगृह भई गोचर गर्ने शुक्रले न्यायिक निर्णयहरू तपाईंकै पक्षमा फैसला हुनेछन् भने प्रतिस्पर्धामा तपार्इंको नाम अग्र स्थानमा आउनेछ ।

आर्थिक दृष्टिकोणले साउन कात्तिक फागुन तथा चैत महिना उत्कृष्ट रहेको छ । प्रत्येक शुक्रबार ईन्द्रयणी देवीको दर्शन, पूजा आराधाना गर्नाले र शनिको अढैया तथा नकारात्मक प्रभावबाट बच्नका लागि विष्णु भगवानको पूजा तथा आराधना गर्ने, पीपलमा हरेक शनिबार जल चडाउँने गर्दा लाभ मिल्नेछ ।

मिथुन ( का, की, कू, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेका लागि पूर्वाद्ध र अन्त्यको समय सङ्घर्षमय हुँदै मध्यकाल शुभ रहनेछ । जेठ ०८ गतेसम्म र कात्तिक १२ गतेबाट चैत ०४ गतेसम्म व्यापार भावमा गोचर गर्ने बृहस्पतिले घर जग्गा, हाउजिङ तथा सवारी साधनको कारोबार तथा खरिद बिक्रीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । सेयर बजार तथा सट्टाको व्यावसायबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ ।

राजनीति तथा समाज सेवामा समय खर्चिनेहरूले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा निरन्तर लागिपर्ने विद्यार्थी वा रिसर्च पर्सनका लागि समय फलदायी रहेकाले उत्कृष्ट नतिजाका साथ समाजमा इज्जत प्रतिष्ठा बढेर जानेछ ।

जेठ ०९ गतेबाट कात्तिक ११ गतेसम्म रोग भावमा र चैत ५ गतेबाट कष्टभावमा गोचर गर्ने बृहस्पति र फागुन ०३ गतेसम्म सप्तम भावमा गोचर गर्ने शनि र फागुन ४ गतेबाट अढैया शनिको प्रभावले कुनै पनि मुद्दा मामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरू तपार्इंका पक्षमा नआउन सक्छ ।

साझेदारी व्यावसायमा साझेदारबीच नै सैद्धान्तिक राय बाझिनेछ भने भौतिक सम्पत्तिको छिनोफानो गर्न अदालतको सहारा लिनुपर्नेछ । जन्डिस, सुगर, मोटोपन, पथ्थरी तथा मिर्गौला जस्ता रोगबाट पीडित हुनेहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाव सिर्जना हुनेछ । लामो दूरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला ।

वर्षभरी नै राशिमा गोचर गर्ने राहु र व्यापार भावमा गोचर गर्ने केतुले खर्चको तुलनामा आम्दानी कमजोर रहने हुनाले व्यावासायमा थप लगानी गर्ने वातावरण टरेर जानेछ । आफन्त तथा कुटुम्बसँग भौतिक सम्पत्तिको बाँडफाटमा विवाद हुनेछ । पुरातन संस्कृतिलाई लत्याएर अग्रगामी छलाङ मार्न खोज्दा सहयोग तथा समर्थनको अभावमा चाहेको गन्तव्य पत्ता लगाउन मुस्किल पर्नेछ । भौतिक सम्पत्ति तथा स्रोत साधनको प्रयोग गर्न नजान्दा दुर्घटना नहोला भन्न सकिन्न । मानसिक अस्थिरता बढ्नेछ भने सवारी साधन हराउने तथा चोरी हुने सम्भावना छ ।

राशि स्वामी बुध जेठ १९ गतेबाट असार ०७ गतेसम्म लग्नमा स्वगृह भएर भद्र योगको निर्माण र भाद्र २४ गतेबाट असोज १० गतेसम्म चौथो भावमा प्रवेश गरी पुनः भद्र योग र बुध आदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाइने योग छ । कन्फिडेन्ट पावरमा वृद्धि हुनेछ भने थोरै बोलेर धेरै काम गर्न सकिनेछ ।

प्रतिकूल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बङ्गालामुखीको भक्तिभावका साथ पूजा तथा आराधाना गर्नाले लाभ मिल्ने छ । आर्थिक दृष्टिले वैशाख, भाद्र, मङ्सिर र चैत महिना उत्कृष्ट रहनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) :

कर्कट राशि हुनेहरूका लागि यो वर्ष विभिन्न अवसरहरूको सदुपयोग गरी जीवनमा उल्लेख्य सुधार गर्दै अगाडि बढ्न सकिने समय छ । जेठ ९ गतेबाट कात्तिक ११ गतेसम्म विद्या भावमा गोचर गर्ने बृहस्पतिको प्रभावले विद्यार्थीले पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्न सक्नेछन् । सेयर बजार, अध्ययन अध्यापन, बैङ्क तथा वित्तीय क्षेत्रमा समय खर्चिनेहरूले राम्रो प्रगति गर्न सक्नेछन् भने नोकरीमा बढुवा हुने योग छ ।

माया प्रेमका कोपिला फक्रिनेछन् भने सुयोग्य बर बधुको लगन गाँठो बाधिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ । आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । कृषि तथा चौपाया व्यावसायमा लगानी बढाई प्रशस्त रुपैयाँ पैसा कमाउँन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । घरजग्गाको खरिद बिक्रीबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने स्थायी सम्पत्ति जोड्ने समय रहेको छ ।

फागुन ३ गतेसम्म छैटौँ भावमा गोचर गर्ने शनिले वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईं आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्स्ट्रक्सनको क्षेत्रमा समय दिनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग छ । मावलीबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।

फागुन ४ गतेबाट सप्तम भावमा गोचर गर्ने स्वगृह शनिले शश योगको निर्माण गर्ने हुनाले उत्पादनमुखी व्यावसाय फस्टाएर जानेछ । सवारी साधन, फलाम तथा हार्डवयेरसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सप्तम भावमा गोचर गर्ने शनिले पारिवारिक माहोल बिग्रने तथा पतिपत्नीबीच सामान्य मनमुटाव सिर्जना हुनेछ ।

वर्षभरी नै विदेश भावमा गोचर गर्ने राहु र छैटौँ भावमा गोचर गर्ने केतुले अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ भने विदेशमा बसेर श्रम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्वदेशमै बसेर एनजीओ, आईएनजीओ, विदेशी लगानीबाट स्ञ्चालित संस्था, कन्सल्टेन्सी र मेनपावर व्यावसायमा समय लगानी गर्नेहरूका लागि समय राम्रो छ ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिले वैशाख, जेठ, असोज, मङ्सिर महिना राम्रो छ । बङ्गलामुखी देवीको पूजा तथा आराधना तथा शनिबार विष्णुको पूजा तथा पीपलमा जल चढाउँदा लाभ मिल्नेछ भने राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नका लागि बटुक भैरवको पूजा तथा आराधाना गर्दा लाभ मिल्नेछ ।

सिंह ( मा, मी, मु, मे, मो, टा, टी, टु, टे) :

सिंह राशि भएकाहरूका लागि समग्रमा यो वर्ष राम्रो छ । चैत ०४ गतेसम्म बृहस्पतिको अनुकूल प्रभावले घर जग्गा तथा भौतिक सम्पत्ति जोड्न सकिनेछ । पैत्रिक सम्पत्ति आफ्नो नाममा आउने योग छ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाइ प्रस्तुत गर्ने अवसर जुर्नेछ । नाफामुखी व्यावसायभन्दा सेवामुखी व्यावसाय फस्टाएर जानेछ भने प्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ ।

सेयर बजार, स्कुल, कलेज, सहकारी, इन्सुरेन्स, बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन सम्पत्ति कमाउने योग छ । सवारी साधनको कारोबार तथा खरिद बिक्रीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । आमासरहका मानिसबाट भनेजस्तो सहयोग प्राप्त हुने हुँदा अग्रगामी छलाङ मार्न सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाहमार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । वंश वृद्धिको गतिलो योग छ भने घर परिवारमा माङ्गलिक कामहरू हुनेछन् ।

वर्षभरी नै आय भावमा गोचर गर्ने राहु र विद्या भावमा गोचर गर्ने केतुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तिको परिचालनमार्फत मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम पाउने, पदोन्नति हुने तथा सुगम स्थानमा स्थानान्तरणका गतिलो योगे छ । कूटनीति तथा राजनीति क्षेत्रमा समय लगानी गर्नेहरूका लागि समयले साथ दिने हुँदा राज्यबाट पद पाउने, नाम तथा दाम दुवै कमाउने ग्रहयोग छ । सन्तानसँग भने केही विषयमा सैद्धान्तिक राय बाझिनेछ ।

फागुन ४ गतेसम्म ९विद्या, बुद्धि, सन्तान० भावमा गोचर गर्ने शनिले मानसिक अस्थिरता बढ्नेछ भने योजनाहरू कार्यान्वयनको चरणमा लैजान मुस्किल पर्नेछ । नसा तथा ग्यास्ट्रिक सम्बन्धी समस्याले सताउनेछ । अध्ययनमा मन जाने भए पनि शनिको प्रभावले भनेजस्तो नतिजा आउनेछैन । मुद्दा ममिला तथा न्यायिक क्षेत्रसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।

अदालति निर्णयहरू तपार्इंको पक्षमा नआउन सक्छ । फागुन ५ गतेबाट शनिको अनुकुल प्रभावले ऋण, रोग तथा सत्रुलाई पन्छाउँदै एक कदम अगाडि बढ्न सकिनेछ । स्वामी सूर्य पुस महिनाभरी शनिसँग पञ्चम भावमा गोचर गर्ने हुनाले बुबाको स्वास्थ्यमा समस्या आउन सक्छ ।

शनिदेवलाई खुसी पार्नका लागि विष्णु पूजा तथा आराधना, पीपलमा जल चडाउँने, राहु तथा केतुको लागि भैरवको दर्शन तथा आराधना गर्नुपर्दछ । आर्थिक दृष्टिकोणले जेठ, असार, भाद्र, कात्तिक र माघ महिना राम्रो छ ।

कन्या ( टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) :

कन्या राशि हुनेहरूका लागि पूर्वाद्र्ध तथा उत्तराद्र्धको समय राम्रो रहे पनि मध्यको समय सङ्घर्षका बाबजुद उपलब्धि हासिल गर्न सकिनेछ । जेठ ०९ गतेसम्म र कात्तिक १२ गतेबाट चैत ०४ गतेसम्म बृहस्पतिको अनुकुल प्रभावले कृषि तथा चौपाया व्यावसायमा लगानी बढाई प्रशस्त रुपैयाँ पैसा कमाउँन सकिनेछ ।

राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन । घर जग्गाको घरिद बिक्रीबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने स्थायी सम्पत्ति जोड्ने समय रहेको छ । माता पिताको सहयोग तथा आशीर्वाद प्राप्त हुने हुनाले काम गर्न जोस जाँगर बढेर आउनेछ ।

यो वर्ष व्यापार व्यावसाय, वाणिज्य, लेखन, कलासाहित्य तथा सबै खाले प्राविधिक पेसामा कन्या राशि भएका व्याक्तिले आफूलाई स्थापित गर्छन् । आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । राजनीति तथा कूटनीतिकको क्षेत्रमा समय लगानी गर्नेहरूले जनताको समर्थन पाउन कडा मिहिनेत गर्नुपर्नेछ । जन्मथलो छोडेर लामो दूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । तर जन्म कुण्डलीमा शनि उच्च, स्वागृह तथा ३, ६, ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ ।

राशि स्वामी बुध वैशाख १६ गतेसम्म व्यापार भावमा उच्च शुक्रसँग गोचर गरेर लक्ष्मीनारायणको योग बनाउने हुनाले फेन्सी कपडा, कस्मेटिक्स सामान, स्टार होटल, ब्रान्डेड सामान तथा गीत सङ्गितको क्षेत्रबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । जेठ १८ गतेबाट आसार ७ गतेसम्म राज्यभावमा र पुनः भाद्र २४ गतेबाट असोज १० गतेसम्म राशिमा बसेर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले बैङ्क तथा वित्तीय क्षेत्रमा जागिर पाउने तथा राजनीति गर्नेहरूले पद प्राप्तीको गतिलो योग छ । कन्फिडेन्ट पावर तथा निर्णय क्षमतामा वृद्धि हुनेछ ।

जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरू फलदायी रहनेछन् । आर्थिक दृष्टिकोणले असार, साउन, मङ्सिर तथा फागुन राम्रो रहनेछ ।

तुला ( रा, री, रु, रे, रो, ता, ती, तू, ते) :

यो वर्ष तुला राशि हुनेहरूका लागि उत्साहजनक वर्ष रहनेछ । फागुन ०३ गतेसम्म पराक्रम भावमा गोचर गर्ने शनिले व्यापार व्यावसायमा सूक्ष्म व्यावस्थापन तथा समयको सदुपयोग गर्दै लगानी गर्ने वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । कला, साहित्य, गीत सङ्गीत, मोडलिङ पेसा व्यावसायमा चासो बढ्नेछ ।

विशेषत फिलिम, नृत्य, लेखन क्षेत्रमा विशेष दख्खल हुनेछ । कूटनीति, परराष्ट्र, राजनीति, राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल सावित गर्ने समय रहेको छ । इन्जिनियर, खगोलविज्ञान, जिनेटिक इन्जिनियर, कपडा, कागज, प्रेस तथा मिडिजा जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिनेछ । छिमेकी तथा दाजुभाइबाट सहयोग तथा समर्थन पाइने हुनाले मन प्रसन्न रहनेछ । अध्ययन, काम तथा खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश विदेशको यात्रामा निस्कन सकिनेछ । फागुन ४ गतेबाट शनिको अढैया दशाको प्रभावले काममा ढिला सुस्ति हुने योग छ ।

वर्षभरी नै भाग्य भावमा गोचर गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । साङ्गठनिक विस्तार तथा प्रशिक्षण कार्यक्रमकै सवालमा लामो यात्रा हुनेछ । कूटनीतिको कारक राहु स्वयम् भाग्य भावमा गोचर गर्ने हुनाले राजदूत तथा परराष्ट्र जस्ता क्षेत्रमा पद पाइने तथा स्थानान्तरण हुनेछ । पशुपालन तथा कृषि व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ ।

त्यस्तै पराक्रम भावमा गोचर गर्ने केतुले ढुङ्गा माटो वा कन्ट्रक्सनको क्षत्रेमा समय लगानी गर्नेहरूका लागि अकस्मात धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । कीर्तिमानी काम गरी प्रसिद्धि कमाउन सकिनेछ भने मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको गतिलो उपस्थिति रहनेछ । भाग्यले साथ दिने हुँदा सानो सानो प्रयत्नले सकारात्मक तथा उपलब्धिमूलक कामहरू हुनेछन् ।

राशि स्वामी शुक्र जेठ १९ गते साँझबाट अष्टम भावमा स्वगृह हुुनाले नसोचेको धन तथा सम्पत्ति लाभ हुनेछ । चिट्ठा पर्ने तथा उपाहार प्राप्तिको गतिलो सम्भावना छ । फेन्सी तथा विलाशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । आश्विन १६ गतेबाट कात्तिक १० गतेसम्म राशिमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने शुक्रले भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग तथा परिचालन गरी आर्थिक अवस्था मजबुत पार्न सकिनेछ । घर जग्गा तथा सवारी साधन जोडिनेछ भने घर परिवारमा शुभ तथ माङ्गलिक कार्य हुनेछ ।
आर्थिक दृष्टिकोणले साउन, भाद्र, पौस तथा चैत अनुकुल रहेको छ । प्रतिकूल समयमा देवी तथा बङ्गलामुखीको दर्शन, पूजा तथा आराधना, तथा बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ ।

बृश्चिक ( तो, ना, नी, नू, ने, नो, या, यी, यू) :

बृश्चिक राशि हुनेहरूका लागि यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । चैत ४ गतेसम्म राशिभावमा र धन भावमा गोचर गर्ने बृहस्पतिले धन सम्पत्तिमा वृद्धि हुनेछ भने प्रशस्त रुपैयाँ पैसा सङ्ग्रह गर्न सकिनेछ । निर्णायक तहमा बसेर गरिने निर्णयहरू समाज तथा जनताको पक्षमा हुनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेको छ ।

बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । विद्यार्थीहरूका लागि समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै सवालमा देश विदेशको यात्रा हुनेछ । बृहस्पतिको प्रभावले स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैङ्क तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग छ ।

जल तत्व राशि भएको हुनाले पानीसँग सम्बन्धित कामहरू जस्तै माछापालन, हाँसपालन, हाइड्रो इन्जिनियर, पौडीबाज जस्त क्षेत्रमा विशेष चासो रहनेछ । त्यस्तै कवि, दार्शनिक, लेखक, समालोचक, विचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता हात पार्न सकिनेछ । आयात, अनुसन्धान, केमिकल, रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान जस्ता क्षेत्रमा काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

फागुन ४ गतेसम्म शनिको अन्त्य साढेसाती दशाको प्रभाव रहनेछ । झुटा आरोप लाग्ने तथा मान सम्मानमा कमीको महशुुस हुनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दूरी बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । दाजुभाइ तथा जीवन साथीसँग मनमुटाव बढ्नेछ । तर पनि जन्मकुण्डलीमा शनि उच्च, स्वगृह, मित्रगृह तथा कुण्डलीमा ३, ६, ११ भावमा भए काम तथा अध्ययनको शिलशिलामा देश विदेशका यात्रा हुनेछ ।

फागुन ५ गतेबाट शनिको साढेसाती सकिने तथा पराक्रम भावमा जाने हुनाले आट, शाहस, पराक्रममा वृद्धि भएर जानेछ । प्रोडक्सन तथा आयात निर्यात व्यावसाय फस्टाएर जाने हुनाले धन सम्पत्तिमा वृद्धि हुनेछ । वर्षभरि नै अष्टम भावमा गोचर गर्ने राहु र धन भावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अचानक दुर्घटना, चोट पटक तथा रोगले सताउनेछ ।

राशि स्वामी मङ्गल साउन २५ गतेबाट असोज ९ गतसम्म राज्यभावमा गोचर गर्ने हुनाले राज्यको सुरक्षा निकाएमा नोकरी पाउँने तथा पदोन्नतीको गतिलो योग रहेको छ । पुस ११ गतेबाट राशिमा प्रवेश गरी माघ २७ गतेसम्म मङ्गलले रुचक योगको निर्माण गर्ने हुनाले आँट, शाहस तथा पराक्रममा वृद्धि भएर जानेछ । घर जग्गा जोड्ने तथा हार्डवयेर, फलामको व्यावसाय फस्टाएर जानेछ । चैत १३ गतेबाट पराक्रम भावमा गोचर गर्ने उच्च मङ्गलको प्रभावले छोटो तथा लामो दुरीको यात्रा हुनेछ । पढाइका अलावा अतिरिक्त क्रिर्याकलापमा भाग लिई मनग्गे लाभ लिन सकिनेछ ।

आर्थिक दृष्टिले वैशाख, भाद्र, असोज, माघ महिना अनुकुल छ । बङ्गालामुखीको पूजा तथा आराधना तथा शनिलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढा, भे)

धनु राशि भएका व्याक्तिहरूलाई पूर्वाद्ध र उत्तराद्ध उत्साहजनक रहे पनि मध्य समय केही सङ्घर्षमय रहनेछ । जेठ ०८ गतेसम्म र कात्तिक १२ गतेबाट राशिमा गोचर गर्ने स्वगृह बृहस्पतिको प्रभावले सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ ।

स्कुल कलेज, बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रशासन, शिक्षण, मेडिकल, केमिकल्स, उद्योग, भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट, भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर, हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रही राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थीवर्गहरूले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् ।

बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको शिलशिलामा देश विदेशको यात्रा हुनेछ । माया प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । लामो दूरीको धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भइनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत प्रशस्त रुपैयाँ पैसा कमाउँन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पूरा हुनेछन् ।
जेठ ८ गतेबाट कात्तिक ११ गतेसम्म खर्च भावमा जाने बृहस्पतिले स्वास्थ्यमा समस्या आउनेछ । व्यापार तथा नोकरीमा विध्न बाधाको सामना गर्नुपर्नेछ भने राजभए र मानिसिक क्लेस बढ्नेछ ।

वर्षभरी नै शनिको मध्य साढेसातिको प्रभाव रहनेछ । जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न समस्या आइपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आइपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । जन्म कुण्डलीमा शनि स्वगृह, उच्च, मित्रगृह तथा कुण्डलीमा ३ ६ ११ भावमा हुनेहरूका लागि भने शनिले राम्रा तथा परिणाममुखी फल दिनेछ ।

वर्षभरी नै सप्तम भावमा गोचर गर्ने राहु र राशिमा गोचर गर्ने केतुले अचानक व्यापार व्यावसायमा वृद्धि हुनेछ भने लामो दुरीको मनोरञ्जनात्मक तथा व्यापारिक यात्रा हुनेछ । साझदारी व्यावसायमा समय लगानी गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्ने समय रहेको छ ।
साढेसातिको प्रभाव हुनेहरूले महाँकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा पानि चडाउँदा फाइदा हुनेछ । बृहस्पतिका लागि माता बङ्गालामुखीको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्मकुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरूले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला । आर्थिक दृष्टिकोणले जेठ, असोज, कात्तिक तथा फागुन महिना राम्रो रहेको छ ।

कुम्भ ( गु, गे, गो, सा, सी, सू, से, सो, दा)

कुम्भ राशि हुनेहरूका यो वर्ष उत्साहपूर्वक बित्नेछ । वर्षभरि नै राज्य भावमा र आय भावमा गोचर गर्ने बृहस्पतिले राजनीति तथा कूटनीतिको क्षेत्रमा लामो समयदेखि काम गर्नेहरूले राज्यबाट कार्यकारी पद प्राप्तीको योग छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको ग्रहयोग छ । सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिष, लेखन, साहित्य, कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भूउपग्रह, भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा लागेर सफलता प्राप्त गर्न सकिनेछ ।

पैत्रिक सम्पत्ति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो समयदेखिका प्रेम सम्बन्ध तथा सुयोग्य बर बधुको लगन गाँठो कसिनेछ । मातृभूमि छोडेर लामो दूरीको फाइदाजनक धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने पुत्र लाभको गतिलो योग छ ।

फागुन ४ गतेसम्म शनि अनुकुल हुनाले भौतिक स्रोत साधनको प्रयोगमार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाज सेवा, ठेक्कापट्टामार्फत आम्दानीका स्रोत बढाउन सकिनेछ । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुशरण गर्नेहरुका लागि समय उत्तम रहेको छ । बहुमूल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ ।

भूमि तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा बन्धुबान्धवबाट भरपुर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ । फागुन ४ गतेबाट शनिको साढेसाती सुरु हुने हुनाले कुण्डलीमा शनि कमजोर हुनेहरूका लागि काममा ढिलासुस्ती तथा स्वास्थ्यमा समस्या देखिनेछ ।

वर्षभरी नै पञ्चम भावमा गोचर गर्ने राहु र आय भावमा गोचर गर्ने केतुले धन तथा सम्पत्तिमा अचानक वृद्धि हुनेछ । सेयर बजार, लट्री तथा सट्टाको कारोबार एक्कासी बढ्नेछ । भाग्य तथा आयमा वृद्धि भई आर्थिक अवस्था मजबुत रहनेछ ।

आर्थिक दृष्टिकोणले वैशाख साउन मङ्सिर, पुस महिना उत्कृष्ट रहेको छ । विधिपूर्वक बृहस्पतिको लागि माता बङ्गलामुखीको पूजा तथा आराधना तथा राहु केतुका लागि बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

मकर राशि हुनेहरूका लागि पूर्वाद्र्ध तथा उत्तराद्र्धको समय मध्ययम रहे पनि मध्यकालको समय राम्रो रहेको छ । जेठ ८ गतेबाट कात्तिक ११ गतेसम्म आए भावमा गोचर गर्ने बृहस्पतिले राजनीति तथा समाज सेवामा समय खर्चिनेहरूले सम्मानजनक पद प्राप्त गर्नेछन् भने मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । स्कुल, कलेज, कन्सल्टेन्सि, फार्मेसी, अस्पताल, ट्राभलएजेन्सी, तरल पदार्थ, हाइड्रोपावर, अनलाइन व्यापार, प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउँन सक्नेछन् भने लगानी बढाउने अवसर जुट्नेछ । न्याय, इन्जिनियरिङ, व्यावस्थापन, मार्केटिङ, बिमा, एकाउन्ट, बैङ्क तथा वित्तीय संस्था जस्ता क्षेत्रमा चाँडै सफलता प्राप्त हुनेछ । डाइरेक्टर, सञ्चालक, म्यानेजर, अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पद पाउने योग रहेको छ ।

खोज तथा अनुसन्धानको क्षेत्रमा प्रगति हुनेछ भने विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर जग्गा तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । नयाँ कामको खोजीमा रहेकाहरूले नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने छ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत हुनेछ भने जीवन साथीको सहयोगले विशेष काम गर्ने अवसर प्राप्त हुनेछ । जेठ ७ गतेसम्म र कात्तिक १२ पछि बृहस्पति खर्च भावमा जाने हुनाले नोकरीमा आफ्नो कार्य क्षमता देखाउन नसक्दा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या देखिने हुँदा उपचार खर्च बढेर जानेछ भने आँखामा समस्या आउनेछ । विशेषगरी कोलेस्ट्रोल, कलेजो, जण्डिस तथा सुगर भएकाहरूले सचेत रहनु होला ।

वर्षभरी नै छैटौँ घरमा गोचर गर्ने राहु र खर्च भावमा गोचर गर्ने केतुले व्यापार विस्तारको सवालमा देश विदेशका यात्रा हुनेछ भने अकस्मात धन तथा सम्पत्तिमा वृद्धि हुनेछ । खर्च बढाए पनि उपलब्धिमूलक कामहरू हुनेछन् । विदेशी लगानीबाट सञ्चालित संस्था एनजीओ, आईएनजीओ, मल्टिनेसनल कम्पनीमा काम पाउने प्रशस्त सम्भावना रहेको छ भने अफिसिएल यात्रा हुनेछ ।
सामाजिक काम समयमा सम्पन्न नभई मान सम्मानमा दाग लाग्नेछ । न्यायिक निर्णहरू तपाईंको पक्षमा नहुन सक्छन् । तर पनि जन्म कुण्डलीमा शनि उच्च, स्वगृह, मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ ।

शनिको नकरात्मक प्रभावबाट बच्नका लागि महाँकाल तथा काली भगवतीको पूजा आराधना गरी पीपलमा जल चडाउँदा फाइदा हुनेछ । वर्षभरी राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार, कात्तिक, मङ्सिर तथा चैत महिना लाभदायक छ ।

 

मीन ( दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

यो वर्ष मिन राशि हुनेहरूका लागि सुरुको समय सङ्घर्ष मय रहे पनि अन्त्यको समय भने उल्लाशमय रहनेछ । वर्षभरी नै भाग्य भाव तथा राज्यभावमा गोचर गर्ने बृहस्पतिले पढाइ, लेखाइ, खोज तथा अनुसन्धानकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । समाजमा गुमेको साख फिर्ता गर्न सकिनेछ भने राजनीति तथा कल्याणकारी क्षेत्रमा समय लगानी गर्नेहरूले राज्यबाट पद पाउने तथा प्रशस्त सेवा सुविधा पाउने ग्रहयोग छ ।

राज्यको निकायमा बसेर काम गरिरहेकाहरूले अनुकुल स्थानमा सरुवा तथा कार्यकारी पदमा बसी देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सुधार हुने तथा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । इन्जिनियरिङ, दुग्ध पदार्थ, गोताखोर, वैज्ञानिक शोध, लेखन, साहित्य, कविता, दर्शन, कला तथा साहित्य, मनोरञ्जन, हास्य विधा, अध्ययन अध्यापन, योग ध्यान, अध्यात्म जस्ता क्षेत्रमा यो वर्ष राम्रो रहेको छ । प्रेम सम्बन्धहरू विवाह बन्धनमा बाँधिने गतिलो योग छ ।

राज्य भावमा गोचर गर्ने केतुेले बसाइँ सराइ तथा मातृभूमि छोडी अन्य स्थानमा स्थानान्तरण हुने योग रहेको छ भने जागिर तथा व्यावसायमा अलि बढी चनाखो भएर काम गर्नु पर्नेछ । घर जग्गा तथा सवारी साधनमा विवाद आउँने योग रहेको छ ।

फागुन ३ गतेसम्म राज्य भावमा र ४ गतेबाट आय भावमा गोचर गर्ने शनिले नोकरी तथा कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय भए पनि उनीहरूका नकारात्मक सोचाइ तथा गलत क्रियाकलापहरूलाई चिर्दै सुधारमुखी काम गर्न सकिनेछ । कामहरूमा बिलम्ब भए पनि अन्ततः प्रतिफल भने उत्साहमुखी हुनेछ । नचाहँदा नचाहँदै मुद्दा मामिला जस्ता विवादास्पद विषयमा सहभागी हुनुपर्ने भए पनि अन्ततः छुट्कारा पाइनेछ ।

आर्थिक दृष्टिले जेठ, भाद्र, पुस र माघ पहिना उत्कृष्ट रहेका छन् । विधिपूर्वक बृहस्पतिका लागि माता बङ्गलामुखीको पूजा, आराधन तथा दर्शन र शनिका लागि महाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउनाले लाभ मिल्नेछ । ज्योतिषि डि.पि. भण्डारी