बर्दियाका पूर्वमन्त्री दहित गृहस्थ जीवन  त्यागेर भिक्षु 

 

२२ बैशाख,लुम्बिनी/  बर्दियाबाट जनप्रतिनिधि बनेका पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहित गृहस्थ जीवन त्यागेर भिक्षु बन्नु भएको छ ।
कपाल काटेका, दारी खौरिएका थाई भिक्षुबाट चिवर (पहेंलो कपडा) र भिक्षा पात्र ग्रहण गर्नुभएका दहित कोठामा गएर बाहिर निस्किँदा उहां पहेंलो वस्त्रमा निस्कनु भयो। गृहस्थ जीवन त्यागेर भिक्षु बनेको उहाले सकर्ष बताउनु भएको छ ।

दहित जस्तै ६० थारू समुदायका व्यक्ति सामूहिक रूपमा प्रवज्या लिएर एक साथ भिक्षु बन्नु भएको छ । प्रवज्या भनेको भिक्षु जीवनमा प्रवेश गर्नु हो ।
उहांहरू शनिबार बाट प्रवज्या लिइरहेको जानकारी दिईएको छ । थारू बौद्ध समाजद्वारा लुम्बिनी स्थित महाबोधि सोसाइटी अफ इन्डियाको सभाहलमा ३ दिने कार्यक्रम आयोजना गरिएको छ ।
शान्तिका अग्रदूत गौतम बुद्धको अनुयायी बन्न कठिन परिश्रम र संघर्षबाट मात्र हुन सकिन्छ । त्यसैको अनुभूति दिन उनीहरूलाई पारिवारिक मायामोहबाट अलग बनाएर दिक्षा धर्मोपदेश दिइँदै छ ।

नवप्रवेशी भिक्षुलाई ७५ नियम र १० शील सिकाइन्छ । राम्ररी व्यवहारमा उतारेर वुद्ध शासनलाई सहयोग गरे दुई–चार महिनामै कार्यक्रम गरी पूर्ण भिक्षु बनाउन सकिने भिक्षु सुमंगलोले बताउनुभएको छ । भिक्षु बनाउने कार्यक्रम अखिल नेपाल भिक्षु महासंघको स्वीकृति लिएर जहिले पनि गर्न सकिन्छ ।

दहितले प्रवज्या लिईदै गर्दा मनमा राम्रो कुरा र विचारले प्रश्रय पाएको बताउनु भयो । यसले समाज, परिवार र मुलुक हितका लागि प्रयोग गर्ने उहांको प्रण छ ।
दहितले बुद्ध र शान्तिका विषयमा विद्यावारिधि गर्नुभएको छ । दैलेखको चामुण्डा स्वास्थ्य चौकीका अहेब वृजेन्द्र चौधरीले पनि गजबको शान्ति र सद्भावको अनुभूति भएको बताउनु भयो ।
चौधरीले‘मन चंगा भएको छ,‘रिसराग, द्वेष र घमण्ड हराएर गयो ।’ भिक्षु जीवनमा प्रवेशसँगै उनीहरूले बुद्ध शिक्षा, शील र चिवर लिएर भिक्षु जीवन धारण गरे । लुम्बिनी स्थित रोयल थाई विहारका प्रमुख भिक्षु फ्रा बोधिविडले सबै श्रामणेरलाई चिवर र भिक्षा पात्र प्रदान गरे । लुम्बिनीको पवित्रता र महिमा उजागर गरी शान्ति र भ्रातृत्वको सन्देश फैलाउन कार्यक्रम गरिएको थाई भिक्षु म्याक्सले बताउनु भएको छ ।

बुद्ध धर्मअनुसार शाक्यमुनिहरू एक दिनका लागि भए पनि भिक्षु बन्नैपर्छ भन्ने मान्यता छ । थारू पनि शाक्यमुनिको सन्तान भएकाले आफूहरू प्रवज्जित भएको थारू बौद्ध समाज रूपन्देहीका अध्यक्ष गोकुल थारूले बताउनु भयो । प्रवज्या लिएपछि कतिपय भिक्षु नै हुन्छन् । कतिपय फेरि गृहस्थी जीवनमै फर्कन्छन् ।कान्तीपुरमा समाचार छापिएको छ ।