
२२ बैशाख डोटी/ बाख्राको मासु खाँदा डोटीको आदर्श गाउँपालिका वडानम्बर १ भेलगडाका १५ जना बिरामी परेका छन् ।
गत शनिबार बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी बिरामी परेका हुन् ।
बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ जना लाई दिपायलको पिपल्ला स्थित शैलेश्वरी अस्पतलामा उपचारका लागि ल्याइएको छ भने बाँकी ३ जनाको स्थानीय मौवा स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले जानकारी दिनुभएको छ।
प्रहरीका अनुसार मासु खाएर गम्भीर बिरामी परेकामा आर्दश गाउँपालिका१ भेलगडाकी नौ वर्षीया सरस्वती खड्का, सोही वडाका २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया इस्सरादेवी खड्का, तीन वर्षीया उर्मिला खड्का रहेका छन्।
त्यसैगरी अन्य बिरामी हुनेमा आर्दश गाउँपालिका( १ भेलगडाकी दुई वर्षीया एलिसा खड्का, सोही वडाका आठ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, सात वर्षीय रोहन खड्का रहेका छन् भने अन्य तीन ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्काको गाउँमै उपचार भइरहेको छ। स्थानीयवासीका अनुसार बिरामी परेकाले शनिबार गाउँमा बाख्रा काटी काँचो मासु खाएका कारण बिरामी परेका हुन्।
उता शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले मासु खाएर बिरामी परेकामध्ये केहीको अवस्था गम्भीर रहेको र केहीलाई क्रमिक रुपमा सुधार भइरहेको बताउनु भएको छ । स्थानीयवासीले खाएको बाख्रामा केही न केही रोग भएको हुनुपर्छ, निर्देशक आइजङ्ग कुँवरले भन्नुभयो अहिले केहीको अवस्था सुधार भएको र साना केटाकेटीलाई भने अहिले पनि समस्या नै छ।
बाख्राको मासु खाँदा किन यसरी गाउँले बिरामी परे त्यो विषयमा खोजबिन र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बता बताउनु भएको छ । पशु बध ऐन २०५४ मा पशु बध गर्नु अघि चेक जांच गरेर मात्र काटन पाउने ब्यवस्था रहेको छ । जथाभाबी काटेमा ५ महिनासम्म जेल र रु १ लाख सम्म जरिवाना ऐनमा उल्लेख रहेको छ ।