मनिषा पछी भारतिय सिनेमा जगतमा जाजरकोटकी सिजन पुन मगर मुख्य अभिनेत्री

२२ बैशाख,जाजरकोट/  भेरी नगरपालिका वडानम्बर ३ पीपलडाँडाकी २१ वर्षीय सिजन पुन मगर ले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी छन् ।

अभिनेत्री सिजनको ” हर जनम मे मिलेंगे”  बलिउडमा चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ । चलचित्र पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो ।

मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित सिजनको पहिलो चलचित्र हर जनम मे मिलेंगे को छायांकन आधाभन्दा बढी सकिएको छ । छायांकनको ६० प्रतिशत काम पूरा भइसकेको पुनले जानकारी गराएकी छन ।

करीब डेढ वर्ष पहिले देखि भारतको मुम्बईमा रहेर भारतीय टेलिभिजनका दुई सिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिसकेकी सिजनले पहिलो पटक ठूलो पर्दामा मुख्य नायिकाको भूमिका पाएकी हुन् ।

यसअघि सिजनले भारतीय टीभी च्यानल स्टार प्लसमा प्रसारण हुने आरम्भ सिरियल र क्राइम स्टोरी, लक अपु मा चरित्र अभिनेत्रीको रूपमा अभिनय गरिसकेको बताइन् ।

चलचित्रमा शशी शेखरको निर्देशन, प्रवीण भन्सालीको निर्माण र चन्दरको लेखन छ । चलचित्रमा दुई नायकका साथमा सिजनले अभिनय गरिरहेकी छन् ।

चलचित्रमा धनी घरकी युवतीको भूमिका निर्वाह गरेकोे सिजनले बताइन् । गाउँमा हुने अपराध र अन्यायको सिकार हुने गरिबको उद्धार गर्ने खालको भूमिका चलचित्रमा प्रस्तुत गरेको उनको भनाइ छ । सहरको विकृति र गाउँका ठूलाबडा भन्नेले गरिबमाथि गर्ने अन्यायलाई चलचित्रको विषयवस्तुमा देखाउन खोजेको उनी बताउँछिन् ।

गाउँका सामन्त, भ्रष्टाचारी र अपराधीलाई युवतीको माया जालमा फसाएर उनीहरूलाई अपराधको सजाय दिन एक जना सुन्दर युवती सहरबाट गाउँमा गएको भूमिका निर्वाह गरेकी छु, उनले भनिन्, भारतको मुम्बई र गुजरातका विभिन्न स्थानमा चलचित्रको छायांकन भइरहेको छ ।पुनका अनुसार चलचित्र दुई घन्टा १० मिनेटको हुनेछ ।

जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयबाट १२ उत्तीर्ण गरेकी सिजनले भारतीय चलचित्रमा अभिनय गरेर आफूलाई दुनियाँमा सफल अभिनेत्रीको रूपमा स्थापित गर्ने सपना बुनेकी छु । जीवनमा संघर्षको वास्तविकता कस्तो हुन्छ भनेर देखाउने रहर रहेको छ,सिजनले हाँस्दै जानकारी दिएकी छन । समाचार एजेन्सीको सहयोगमा ।