नक्कली सवारी चालक लाइसेन्स र शैक्षिक योग्यता बनाउने २ जना पक्राउ 


२६ बैशाख,काठमाडौं/  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र र लाइसेन्स बनाउने २ युवालाई काठमाण्डौेंगोंगबुबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहु घर भई काठमाडौं बस्दै आएका सुरेन्द्र श्रेष्ठ र धादिङ घर भई काठमाडौं बस्दै आएका कृष्ण थपलिया रहेका छन्।श्रेष्ठ र थपलिया लाई महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले बुधबार गोंगबुमा रहेको श्रेष्ठ डिजिटल फोटो स्टुडियोबाट पक्राउ गरेको हो ।

श्रेष्ठ र थपलिया मिलेर श्रेष्ठ डिजिटल फोटो स्टुडियोबाट नक्कली लाइसेन्स,शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका कागजात बनाउने गरेको काठमाडौं परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ ।

प्रहरीले उनीहरूको साथबाट लाइसेन्स बनाउन प्रयोग गरिने होलोग्राम, बनिसकेका लाइसेन्स, शैक्षिक योग्यताको प्रमाणपत्र, छाप, पासपोर्टका खोल, केही थान नागरिकता बरामद गरेको जनाएको छ ।