सुनौला हजार दिनका आमालाई पोथी कुखुरा बितरण

१७ जेठ, रुकुमपश्चिम । आमा र बच्चाको स्वास्थ्यका लागि जिल्लाको चौरजहारी नगरपालिकाका १७० आमालाई कुखुरा वितरण गरिएको छ ।

बहुक्षेत्रीय पोषण योजना र नगरपालिकाको साझेदारीमा नगरका चार वडाका १७० सुनौला हजार दिनका आमाहरुलाई पोथी कुखुरा प्रदान गरिएको हो । आमा र बच्चाको पोषणका लागि वडा नं १, २, ३ र ८ का ती आमालाई पोषणको व्यवस्थाका लागि छ हप्ताका कुखुरा वितरण गरिएको बहुक्षेत्रीय पोषण योजनाका पोषण सहजकर्ता ज्ञानु गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार रू दुई लाखमा ८०० कुखुरा खरीद गरी वडा नं १, २ र ८ का १२० आमालाई पाँच वटाका दरले र वडा नं ३ का ५० आमालाई चार वटाका दरले कुखुरा वितरण गरिएको थियो । ती कुखुरा किन्नका लागि आवश्यक रू दुई लाखमध्ये बहुक्षेत्रीय पोषण योजनाले रू एक लाख ५० हजार र नगरपालिकाले रू ५० हजार उपलब्ध गराएको थियो । बच्चाको अधिकांश वृद्धि विकास सुनौला हजार दिनमै हुने र यसका लागि पर्याप्त पोषिला खानेकुराको आवश्यकता पर्ने भएकाले अण्डाका लागि आमाहरुलाई कुखुरा वितरण गरिएको उहाँले बताउनुभयो । उक्त कुखुरा अण्डा दिने अवस्थामा रहेको बताइएको छ ।

नियमित अण्डा सेवनबाट आमा र बच्चाका लागि न्यूनतम पोषण उपलब्ध हुने विश्वास गरिएको छ । यो समयमा पोषिला खानेकुरा नखाँदा आमा र बच्चाको स्वास्थ्यमा विभिन्न समस्या आउने पोषण सहकर्ता गौतमको भनाइ थियो । वडाध्यक्षको संयोजकत्व तथा प्रत्येक वडामा रहेका खाद्य सुरक्षा तथा पोषण समन्वय समितिको सिफारिशमा नगरपालिकाका १४ वडामध्ये अन्य वडाका आमाहरुलाई अघिल्लो वर्षदेखि कखुरा वितरण गर्र्न थालिएको हो ।