डोल्पामा यार्सा टिप्न गएका ३ जनाको मृत्यु

१८ जेठ, डोल्पा / डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो ।

लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याउँदै गर्दा आज बिहान मृत्यु भएको हो ।

जाजरकोट जिल्लाकै २२ वर्षीय रमेश चलाउनेको शुक्रबार प्यारी भोक्पाभन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का ३८ वर्षीय बुद्धि कार्कीको गत बिहीबार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको थियो ।

लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बड्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ । एक महीना अघिमात्रै यार्सा सङ्कलन गर्न आएका जुम्लाका दुईजनाले ज्यान गुमाएका थिए। गत वैशाखदेखि हालसम्म जम्मा पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।