१८ जेठ, काठमाडौं / पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
सामान्यतः प्रिमनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने बताइएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाखाले जनाएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
सोमबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको छ ।
हाम्रो संरचना । १८ जेष्ठ २०७६, शनिबार १२:१९