मन्त्रालयबाटै ढिलाइ हुँदा चैनपुर–ताक्लाकोट सडक निर्माणमा ढिलाइ

१९ जेठ, बझाङ / छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्र जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माण कार्यमा ढिलाइ हुँदै आएको छ । सेती लोक मार्ग अन्र्तगत उत्तर खण्डमा पर्ने चैनपुर–ताक्लाकोट सडक निमार्णका लागि दुई कम्पनीले काम गरिरहेका भए पनि निमार्ण कार्यले गति लिन सकेको छैन ।

ठेक्का सम्झौता भएर तुरुन्तै काम शुरु गरेको भए पनि हालसम्म ३३ किलोमिटर मात्र काम सम्पन्न गरेको छ । सम्झौताको अवधि सकिन ७ महीना मात्र बाँकी हुँदा ७० प्रतिशत मात्र काम भएको छ ।

चार वर्षको अवधिमा भएको उक्त प्रगति हेर्दा तोकिएको म्यादभित्र काम सम्पन्न हुनेमा शङ्का रहेको चैनपुर ताक्लाकोट सडक आयोजना कार्यालयका प्रमुख ऐनबहादुर सिंहले बताउनुभयो । सडक निमार्ण क्षेत्रमा कडा चट्टान लागेको र विस्फोटक पदार्थ आवश्यक भएकाले जिल्लाका सबै प्रक्रिया पूरा गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको तर मन्त्रालयबाटै ढिलाइ हुँदा समस्या भएको उहाँले जानकारी दिनुभयो ।

ट्रयाक खोल्ने ठाँउमा विस्फोटन गर्नुपर्ने र विस्फोटक पदार्थका लागि आवश्यक प्रक्रिया भइसकेकाले काम सुस्त गतिमा देखिए पनि तोकिएको समयमा काम सम्पन्न हुने ठेकेदार कम्पनी स्वच्छन्द बानियाँ नागार्जुन जेभीका सञ्चालक दीपकबहादुर सिंहको भनाइ छ ।

सो सडक छिटो निर्माण गर्न सेती लोकमार्गअन्तर्गत उत्तरखण्ड (चैनपुर–ताक्लाकोट) मार्गको छुट्टै कार्यालयसमेत स्थापना गरिएको छ । चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मानिएको यस सडकको लम्बाइ ११८ किलोमिटर छ । साइपाल गाउँपालिकाको धुलीदेखि सीमा क्षेत्र उरै भन्ज्याङसम्म ६० किलोमिटरको डिपिआरसमेत तयार भइसकेको छ । यो सडकखण्ड निमार्ण गर्न सके सुदूरपश्चिम प्रदेश त्रिदेशिय व्यापारिक क्षेत्रका रुपमा स्थापित हुने बताइएको छ ।