किसानको रोजाइ पावर टिलर

१९ जेठ, लम्की / विगतमा कृषि कर्म गर्नका लागि किसानसँग अनिवार्य रुपमा राँगा, गोरु हुन्थे । जोसँग धेरै राँगा र गोरुको हल हुन्थ्यो, त्यो किसान सबैभन्दा धनी मानिन्थ्यो तर हाल किसानको खेती गर्ने तरिका र आवश्यकता बदलिएको छ । कैलाली जिल्लाका अधिकांश किसानसँग खेत जोत्ने पावर टिलर ट्याक्टर छ । कृषि प्रयोजनका लागि राम्रो, उपयोगी, सहज तथा सस्तो र किफायति हुने भएकाले हिजोआज किसानको पहिलो रोजाइ पावर टिलर ट्याक्टर हुन थालेको छ ।

पावर टिलरबाट किसानको कृषिमा लाग्ने श्रम तथा लागत खर्च कम हुने, काम छिटोछरितो हुने, कृषि उत्पादकत्व बढ्ने भएकोले अधिकांश किसानको घरमा एउटा पावर टिलर रहेको छ’’, बनगाउँका किसान दिलबहादुर चौधरीले भन्नुभयो, ‘‘किसानले पावर टिलरलाई खेत जोत्न, बाली लगाउन, पानी लगाउन, बाली काट्न, थ्रेसिङ गर्न, मिल चलाउन, ढुवानी गर्न, जेनेरेटर चलाउनलगायत नौ काममा प्रयोग गर्न सक्छन्् ।’’ धेरै सुविधा भएकाले कृषि कार्यका लागि पावर टिलर राम्रो र बहुउपयोगीयन्त्र भएकोे उहाँले बताउनुभयो । जानकी गाउँपालिकाका किसान जुगराम चौधरीले पावर टिलरले खेतबारीमा काम गर्न सहज भएको बताउनुभयो । ‘‘कम समयमा धेरै काम गर्न सकिन्छ ।

अन्य काम भन्दा खेतबारीको कामका लागि यो एकदमै उपयुक्त छ ।’’ जुगरामले भन्नुभयो,‘‘यो साधन महिलाले पनि जोत्न सक्छन्, मेरो घरमा श्रीमती, छोरी सबैले जोत्छन् ।’’ सानादेखि ठूला किसानको लागि उपयोगी रहेकाले पावर टिलर प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ । खेतमा एक जनाले दिनभरी गर्ने काम पावर टिलर ट्याक्टरले एक घण्टामा गर्ने भएकाले पनि किसान यसप्रति उत्साहित भएको स्थानीयवासी श्रीपाल चौधरीले बताउनुभयो । पछिल्लो समय सरकारले पनि कृषिमा लगानी बढाएको छ । टीकापुर नगरपालिका, वडा कार्यालय र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले पनि अनुदानमा किसानलाई पावर टिलरप्रति उत्साहित बनाउन थालेको छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाले चालू आर्थिक वर्षमा २१२ वटा पावर टिलर वितरण गरेको आयोजना प्रमुख भरतप्रसाद कँडेलले बताउनुभयो । साथै टीकापुर नगरपालिले पनि विभिन्न वडामा १९ पावर टिलर वितरण गरेको कृषि अधिकृत गौरीशङ्कर गुप्ताले जानकारी दिनुभयो । कृषक समूह वा कृषि सहकारीलाई वितरण गरिने उक्त पावर टिलरमा ५० प्रतिशत अनुदानको व्यवस्था छ । किसान लागतको आधा लगानीमै सहजै पावर टिलर पाउने भएकोले कैलालीका अधिकांश किसानसँग पावर टिलर छ ।