विप्लव समूहको तालिम केन्द्रको खोजि गर्दै प्रहरी

२२ जेष्ठ, काठमाडौं । सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न सकेको छैन। आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका भनिएका विप्लव कार्यकर्ता र तालिम केन्द्र फेला पार्न सकेको छैन ।

गुँदेलमा तालिम केन्द्र सञ्चालन गरेको जानकारी प्रहरीलाई आइरहेकै बेला आइतबार छेस्कामको चौकीनजिक हतियारधारी समूह आएको सूचना पाएपछि प्रहरीले चौकी छाडेका थिए। यसैका आधारमा विप्लवले चौकी कब्जा र आक्रमण गरेको हल्ला फैलिएपछि देशभरि तरंग ल्याएको थियो।

विप्लवको गतिविधि बढेको सूचनाका आधारमा गस्ती र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ। सोलुखुम्बूका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले छेस्काममा हल्ला मात्र चलाइएको बताए। उनले टेलिफोनमा भने, ‘छेस्काममा केही भएको थिएन, गुँदेलमा छ भनिएको तालिम केन्द्र खोजी भइरहेको छ, फेला पार्नासाथ जानकारी दिन्छौँ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिक प्रकाशित छ ।