स्थानीय सरकारसँग प्रसूतिगृह माग

२६ जेष्ठ, जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँकी विसुदा बुढा गत वर्ष तीन घण्टा टाढा पैदल दूरीमा रहेको हाँडसिञ्जा बर्थिङ सेन्टरमा प्रसूतिका लागि लैजाँदा लैजाँदै बाटोमै सुत्केरी भइन् । त्यसैगरी दुई वर्षअघि सोही गाउँकी रामा बुढा सुत्केरी हुन नसकेर घरमै मृत्यु भयो ।

सुत्केरी गराउने दक्ष जनशक्ति र प्रसूतिगृह नजिक नभएका कारण टाढाको प्रसूतिगृहमा लैजाँदा लैजाँदै बाटोमै सुत्केरी हुने र सुत्केरी हुन नसकेर घरमै मृत्यु हुने गरेको स्थानीय विन बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सडक यातायातको पहँुच छैन, सुत्केरी गराउनका लागि बोकेर लैजानुपर्ने बाध्यता छ ।”

अहिले भर्खर कच्ची सडक गाउँमा पुगेको छ । यही पनि वर्षा सिजनमा बन्द हुन्छ । यहाँका स्थानीयवासीलाई सुत्केरी हुने महिलाको ज्यान जोगाउन निकै गाह्रो हुने गरेको छ । यहाँको गर्भवती महिलाको सहजताका लागि पहिलादेखि नै प्रसूतिगृहको माग राख्दै आए पनि सुनुवाइ नभएको बुढाको गुनासो छ । अहिलेको स्थानीय सरकारसँग पनि माग गरेका थियौँ, दुई वर्ष बित्यो सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो ।

यहाँका गर्भवती महिला घरमै सुत्केरी हुने गरेका छन् । गर्भावस्थामा जाँच पनि गराउँदैनन् । अधिकांश गर्भवती महिला घरमै सुडेनी अर्थात् महिला स्वयंसेविकाको भरमा सुत्केरी हुने गरेका छन् । घरमा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई मात्र बाध्यताले बोकेरै भए पनि तीन घण्टा टाढा दूरीमा रहेको हाँडसिञ्जा प्रसूतिगृहमा लैजाने गरेको स्थानीय विन बुढाले बताउनुभयो ।

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष मनवीर बुढाका अनुसार यसै चालू आवको असार मसान्तभित्र प्रसूतिगृह स्थापना गरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “प्रसूतिगृहमा चाहिने आवश्यक सामग्रीका लागि गाउँपालिकाले रु दुई लाख बजेट विनियोजन भएको छ । आवश्यक सामग्री खरीद प्रक्रियामा रहेको उहाँको भनाइ छ । कनकासुन्दरी गाउँपालिकाका आठ वडामा चार स्वास्थ्यचौकी र तीन मात्र बर्थिङ सेन्टर रहेका छन् । यस गाउँपालिकामा १२ हजार ९७७ जनसङ्ख्या रहेको छ ।