२८ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका क्रममा राजधानी लण्डन आइपुग्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुहुँदा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीले आज आफ्ना बेलायती समकक्षी टेरिजा मे सँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । बेलायती संसद्मा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ ।
बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ । प्रधानमन्त्रीसँग आज नेपाली दूतावासमा गैरआवासीय नेपाली सङ्गठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट्नुहुने कार्यक्रम छ ।
हाम्रो संरचना । २८ जेष्ठ २०७६, मंगलवार ०८:५०