खप्तड पुग्ने छोटो पदमार्ग निर्माण

२९ जेष्ठ, अछाम । पर्यटकीयस्थल खप्तड जानका लागि अछामबाट पैदलमार्ग निर्माण भएको छ । साँफेबगर नगरपालिकाको वडा नं १२ उनिसैनबाट तीन घण्टामै खप्तड पुग्ने गरी पदमार्ग निर्माण गरिएको हो । साँफेबगर नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा तथा खप्तडका स्थानीयवासीको सक्रियतामा पैदलयात्रामा सहजताका लागि बाटो निर्माण गरिएको बताइएको छ । उनिसैनदेखि गणेश मन्दिरसम्मको पदमार्ग निर्माण भएसँगै अछामबाट खप्तड जानेका लागि यात्रा छोटिएको छ ।

उनिसैनदेखि गणेश मन्दिरसम्मको पैदलमार्ग निर्माण भएसँगै अछामबाट जाने अन्य सबै रुटभन्दा छिटो खप्तड पुगिने स्थानीय हर्क रावलले बताउनुभयो । बाटो निर्माण हुनुपूर्व अप्ठेरो बाटो पाँच÷छ घण्टा लाग्ने भए पनि अब दुई घण्टामै खप्तड पुग्न सकिने रावलको भनाइ छ । उनिसैन पर्यटकीय सेवा केन्द्रका सञ्चालक भीम रावलले पैदलमार्ग निर्माण भएसँगै पर्यटक पनि बढ्दै गएको बताउनुभयो । बाटो निर्माण हुनु पहिले महीनामा १५÷२० मात्र हिँड्ने गरेकामा पछिल्लो समय दैनिक २० जनासम्म पर्यटक खप्तड जाने गरेको उहाँको भनाइ छ ।

नगरपालिकाको सहयोगमा निर्माण भएको पदमार्गको स्थलगत निरीक्षण गर्दै साँफेबगर नगर उपप्रमुख विर्मला बुडथापाले पर्यटकलाई सहजरूपमा खप्तडसम्म पु¥याउने उद्देश्यले यो कार्य गरिएको बताउनुभयो । “अछामबाट खप्तड घुम्न जानका लागि सात किलोमिटर हिँड्न सजिलो हुनेगरी पदमार्ग बनाएका छौँ, खप्तड घुम्न आउनेहरूका लागि हामी निमन्त्रणा गर्न चाहन्छौँ” नगर उपप्रमुख बुडथापाले भन्नुभयो । यस्तै नगरबाटै रु पाँच लाखको सहयोगमा वडा नं १२ स्थित खप्तडको उनिसैनमा घरबास पनि सञ्चालनमा ल्याइएको छ । अब साँफेबगर हुदै खप्तडको उनिसैन पुगेर घरबासको आनन्द लिई दुई घण्टामै खप्तड पुगेर रमाउन सकिने साँफेबगर नगर कार्यपालिका सदस्य शङ्कर भुलले बताउनुभयो ।