थाइले बनाइदिएको भवन विद्यालयलाई हस्तान्तरण

३० जेष्ठ, खोटाङ । थाइल्याण्डका एक नागरिकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविमा पक्की भवन निर्माण गरिदिनुभएको छ । थाइ नागरिक मास्टर वान्चाइ रौइ एरीको रु ४० लाख लगानीमा चारकोठे दुईतले पक्की भवन निर्माण गरिएको हो । एरीको लगानीमा निर्माण गरिएको विद्यालय भवन बुधबार नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत टान्स्कुलले औपचारिकरूपमा उद्घाटन गर्नुभएको छ ।

नवनिर्मित भवनका लागि आवश्यक फलामे डेस्क, बेञ्चलगायतका आवश्यक सामग्री खरीद गर्न एरीले थप रु पाँच लाख प्रदान गर्नुभएको निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं वडासदस्य राजेन्द्र राईले जानकारी दिनुभयो । विद्यालय भवन गत असोज १ गते लुम्बिनी थाइ बिहारका प्रमुख फ्रा श्री बोधी विदेशले शिलान्यास गर्नुभएको थियो । भवनको अभाव झेल्दै आएको सावित्रा माविका लागि पूर्वविद्यार्थी एवं लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईको पहलमा फ्रा श्री बोधी विदेशमार्फत एरीबाट आर्थिक सहयोग जुटाइएको हो ।

एरीको आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालय भवनको साँचो बुधबार नै राजदूत टान्स्कुलले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो । भवन अभाव झेलिरहेका विद्यालयलाई थाइल्याण्डका दाताको सहयोगले राहत मिलेको अभिभावक एवं वडा नं ३ बाम्राङका वडाध्यक्ष ललितकुमार राईले बताउनुभयो । विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुनुभएका राजदूत टान्स्कुल, दाता एरीलगायत अतिथिलाई विद्यालय परिवारले पञ्चेबाजासहित स्वागत गरेको थियो । विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा साङ्गीतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको उद्घाटन कार्यक्रममा राजदूत टान्स्कुलले विद्यालयले गरेको स्वागतले आफू ऋणी भएको बताउनुभयो ।