३१ जेष्ठ, स्याङ्जा । हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरेको छ । जेठ २७ गते पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको शव भीरकोट नगरपालिका–१ स्थित मुल्की चौपारीमा भेटिएको थियो । अधिकारीलाई मृतावस्थामा भेटेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालसहितको टोलीले घटनाका बारेमा अनुसन्धान थालेको थियो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयको तालीमप्राप्त कुकुरको सङ्केतको आधारमा अनुसन्धान गर्दै जाने क्रममा जेठ २६ गते राति राजेश अधिकारीले काम गरेको पैसा माग्दै तथानाम गाली गरेको र आफ्नो आत्मसम्मानमा चोट पुर्याएको भन्दै हथौडा र काठको चिर्पट प्रहार गरी घाइते बनाएर छोडेकाले अधिकारीको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । हत्या आरोपमा पक्राउ परेका सूर्यवंशीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानकार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।
हाम्रो संरचना । ३१ जेष्ठ २०७६, शुक्रबार ०८:१५