निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का

३ असार, टीकापुर / टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् । रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ । निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरप्रति स्थानीयवासीले शङ्का व्यक्त गरेका हुन् ।

सडक निर्माणका क्रममा प्रयोग गर्ने माटोको ल्याब परीक्षण गर्नुपर्नेमा निर्माण पक्षले त्यसो नगरेको पाइएको छ । माटोको ल्याब परीक्षण नगरेरै निर्माण पक्षले सडकको अधिकांश भागमा माटो पटानी गरेको छ । स्थानीय बासिन्दा शिवदत्त उप्रेतीले सडकमा बिछ्याएको माटो बलौटे भएको बताउनुभयो । उहाँले बलौटे माटो प्रयोग गर्दा सडक गुणस्तरीय हुनेमा शङ्का उब्जिएको बताउनुभयो । “सडकभरि बालुवा मिसिएको माटो बिछ्याइएको छ”, उहाँले भन्नुभयो, “यसले सडक बलियो होलाजस्तो लाग्दैन ।” सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर त्रिलोक जोशीले सडकमा प्रयोग भएको माटोको ल्याब परीक्षण नभएको बताउनुभयो ।

उहाँले निर्माण पक्षले अनिवार्य दुईपटक माटोको ल्याब परीक्षण गर्नुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो । प्रावधानअनुसार सडक निर्माणमा प्रयोग गर्नुभन्दा पहिले र निर्माण गरिसकेपछि स्थलगतरूपमा माटोको परीक्षण गरिन्छ । “माटोको ल्याब परीक्षण गरेर उपयुक्त भए मात्रै सडक निर्माणमा प्रयोग गर्न पाइन्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म माटोको ल्याब परीक्षण भएको छैन, हामी त्यसको पर्खाइमा छौँ ।” उहाँले माटोको ल्याब परीक्षण गर्दा अनुपयुक्त भए ठेकेदारले सडकमा बिछ्याएको सबै माटो उठाउनुपर्ने बताउनुभयो ।

उहाँले सडकमा बलौटे माटो प्रयोग भएको बारेमा जनगुनासो आएको बताउनुभयो । प्राविधिकका अनुसार निर्माण पक्षले सडक निर्माणका क्रममा बिछ्याएको माटो रोलिङ गर्नुपर्ने हो । बीस देखि २५ सेन्टिमिटर माटो बिछ्याएपछि अनिवार्य रोलिङ गर्नुपर्ने प्रावधान छ । तर, निर्माण पक्षले करीब दुई फिट माटो बिछ्याउँदासम्म पनि रोलिङ गरेको छैन । स्थानीयवासीले सडक निर्माणको काम लापरवाही ढङ्गले शुरु भएको आरोप लगाएका छन् जसका कारण उनीहरु सडक निर्माणको काम गुणस्तरीय हुनेमा शङ्का गर्न थालेका छन् । “अन्धाधुन्ध सडकमा माटो फालेको छ”, एक स्थानीयवासीले भने, “निर्माण पक्षले जिम्मेवार ढङ्गले काम शुरु गरेको देखिँदैन ।

” निर्माण पक्षले आयोजनाका बारेमा विवरणसहितको सार्वजनिक सूचनासमेत जारी गरेको छैन । कुनै पनि आयोजनाको आवश्यक जानकारीसहितको सूचना सार्वजनिकस्थलमा टाँस गर्नुपर्ने प्रावधान छ । स्थानीयवासीका अनुसार कुनै पनि स्थानमा त्यस्तो सार्वजनिक सूचना देखिएको छैन । स्थानीयवासी टेकनारायण पौडेलले निर्माणसम्बन्धी कुनै सार्वजनिक जानकारी नदिइएको बताउनुभयो । “निर्माणका बारेमा सूचना दिनुपर्ने होला तर त्यस्तो सूचना कहीँकतै छैन”, उहाँले भन्नुभयो, “सडक निर्माण कसरी भइरहेको छ भन्ने बारेमा हामीले जान्न पाउनुपर्छ ।”