‘सरकार ! हामी घर बनाउन सक्दैनौं, पूर्णलाई आंशिक क्षति बनाइदेऊ !’

५ असार, काठमाडौं / विनाशकारी भूकम्पमा घर भत्किएर पूर्णक्षतिको लाभग्राही सूचीमा परेर पहिलो किस्ताको सम्झौता गरिसेकेका भूकम्पपीडितले पूर्ण क्षतिलाई आंशिक क्षतिको सूचीमा राखिदिन माग गरेका छन् ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) भक्तपुरले मध्यपुरथिमि नगरपालिका–६ पाटी बिहारमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी भएका अधिकांश प्रथम किस्ताको रकम लिएका भूकम्पपीडितहरुले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा स्थानीय कान्छा प्रजापतिले २०७२ साल वैशाख १२ गतेको भूकम्पले आफ्नो घर पूर्ण क्षतिको सूचीमा परेर पहिलो किस्ताको ५० हजार रकम लिए पनि अझै घर बनाउन नसकेको बताए ।

उनले भने, ‘हामीले नयाँ घर बनाउन सकेनौं, भत्किएको घरको माथिल्लो तला सबै भत्काएर अहिले भूइँतलामा बस्दै आएका छौं, अब हामी त्यसमै बस्छौं, सरकार अब पूर्ण क्षतिको सूचीमा परेको मेरो नाम आंशिक क्षतिको सूचीमा पारिदिनोस् ।’

पूर्ण क्षतिको सूचीमा परेको तर घर बनाउन नसकेका भूकम्पपीडितसँग सम्झौता गरेर लगेको ५० हजार पनि सरकारले फिर्ता लिन्छ भन्ने जानकारी पाए पनि अधिकांश भूकम्पपीडितले पूर्ण क्षतिबाट आफ्नो नाम हटाएर आंशिकमा पारिदिन अनुरोध गरेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।