हाम्रो संरचना सोमवार, मंसिर ३०, २०७६ 125 Views

८ असार, दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका– ७ ले वडाका अपाङ्गता भएका व्यक्तिलाई झुल वितरण गरेको छ । दाङमा पनि लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको जोखिम रहेको भन्दै अपाङ्गता भएका व्यक्तिलाई झुल वितरण गरिएको वडाध्यक्ष टोपबहादुर केसीले बताउनुभयो । शनिबार वडा कार्यालयमा कार्यक्रम आयोजना गरी सबैलाई झुल वितरण गरिएको हो । वडाका सबै अपाङ्गता भएका व्यक्तिको पहिचान गरी झुल वितरण गरिएको उहाँको भनाइ थियो ।

अपाङ्गता भएका व्यक्तिले आफँै कुनै पनि काम गर्न नसक्ने र कुनै आम्दानीको स्रोत नहुने भन्दै उनीहरुलाई सानो सहयोगका लागि झुल वितरण गरिएको हो । अपाङ्गता भएका व्यक्तिका लागि झुल सहयोग गर्नुले अपाङ्गता भएका व्यक्तिलाई थप प्रोत्साहन गरेको अपाङ्ग मानवअधिकार दाङका अध्यक्ष वासुदेव रिजालले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि प्रत्येक सरकारी कार्यालयमा अपाङ्गमैत्री संरचना निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । मगर भाषा कक्षा शुरु तुलसीपुर उपमहानगरपालिका–१ स्थित वीरेन्द्र मावि भ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालन भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबारदेखि मगर भाषा कक्षा पढाउन शुरु गरिएको हो । नेपाल मगर सङ्घ तुलसीपुर–१ ले संस्कृति संरक्षणका लागि मगर भाषा कक्षा पढाइ शुरु गरेको सचिव हिमाल थापाले बताउनुभयो । “पछिल्लो समय मगर संस्कृति, भाषा, लिपि, वेषभूषा हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “यसलाई जोगाउन मगर भाषा कक्षा सञ्चालन गरेका हौँ ।” विद्यालयमा अध्ययन गर्ने मगर समुदायका बालबालिका तथा अन्य समुदायका बालबालिकालाई पनि मगर भाषा तथा लिपिका बारेमा जानकारी दिनका लागि यो कक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ ।

अहिले दाङमा प्राय बोल्ने गरिएको मगर ‘ठुट’ भाषा पढाउन लागिएको हो । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई मगर तथा इच्छुक अन्य जातिका विद्यार्थीलाई एउटै कोठामा राखेर कक्षा सञ्चालन गरिने उहाँको भनाइ छ । उक्त कक्षाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको थियो । “नेपाल बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक मुलुक हो”, उहाँले भन्नुभयो, “त्यसैले तुलसीपुरमा मगर भाषा कक्षा सञ्चालन हुनु लोकतन्त्रको सुन्दर पक्ष हो ।”