बिरगञ्जको सुन पसलमा छापा, हुण्डी कारोबार गर्ने ४२ लाख सहित ८ जना पक्राउ

९ असार, बिरगञ्ज/ जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न २ भारतीय र ६ जना नेपाली गरी ८ जनालाई सोमबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारीका सुनील प्रसाद, विहार पूर्वीचम्पारण भवानीपुर चैनपुरका गुलाब साह, वीरगन्ज– ६ गहवाका चन्दन सर्राफ, वीरगन्ज–५ रामटोलका राकेशकुमार सिंह, विन्दवासिनी गाउँपालिका–२, बहुअर्वाका सुजित कुमार, छिपहरमाई गाउँपालिका– २, चरगाहा गाउँका राजकुमार साह, रौतहट चन्द्रपुरका विनोद सोनार भनिने सूर्यबहादुर बडाल रहेका छन्।

माईस्थानको सय मिटर दक्षिणमा रहेको कन्हैया साह सोनारको केपी स्वर्णकला सुन पसलमा सोमबार सवा ३ बजे छापा मारी ती ८ जनालाई नियन्त्रणमा लिएको पर्साका डीएसपी अनन्त राम शर्माले जानकारी दिनुभएको छ ।

पर्सा प्रहरीका प्रवक्ता समेत रहनुभएका शर्माका अनुसार छापा मार्दा उनीहरूको साथबाट ४१ लाख ९२ हजार नेपाली रुपैयाँ, २ केजी ९० ग्राम चाँदी फेला पनि परेको छ।

प्रहरीका अनुसार बरामद रकम सुन पसल भित्र रहेको एउटा कोठाबाट बरामद गरिएको हो। प्रहरीले रू. १ हजार, रू. ५ सय र रू.१०० को नोट फेला परेको जनाएको छ। पक्राउ पर्नेमा सुन पसलमा काम गर्ने कामदार तथा केही ग्राहक समेत रहेको प्रत्यक्षदर्शीले बताएका छन। प्रहरीले गोप्य सूचनाका आधारमा उक्त सुन पसलमा छापा मारेको थियो।

पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिकाको  वडा नं. ०६ माइस्थान स्थित कन्हैया प्रसाद सोनारले संचालन गरेको के.पी.स्वर्णकला केन्द्र (सुनचाँदी पसल) सोही ज्वेलर्स संगै टाँसिएको पश्चिम तर्फको कोठाबाट अबैध रुपमा (हुण्डी)  कारोवार गरि रहेको अवस्थामा नेपाली रुपैया रु.४१,९२,९००। ( अक्षरुपी एक्कचालिस लाख बयानव्वे हजार नऔ सय ) चाँदी जस्तो देखिने सेतो धातु २०९० ग्राम र कोठा भित्र रहेको अन्य कागजातहरु समेत फेला पारी निजहरु उपर थप अनुसन्धान भैरहेको छ।

आन्तरिक राजश्व कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्तटोलीले उक्त पसल थप अनुसन्धानको लागी सिल गरिएको र प्रहरीको टोली सुन पसलमा पुग्दा ३४ वटा बिलहरू सुन पसलका स्टाफहरूले च्याते पछि प्रहरीको आशंका झन् बढेको, अनुसन्धानका क्रममा ठूलो रकम बरामद भएकाले हुन्डीको कारोबार गर्न पैसा मगाइएको हुन सक्ने प्रहरीको ठम्याइ छ।