हाम्रो संरचना बिहिबार, कार्तिक ४, २०७८ 685 Views

१० असार, काठमाडौं  / बहुजाति, बहुभाषा र बहुसंस्कृति रहेको यहाँका विभिन्न गाउँमा सञ्चालित घरवास पर्यटन (होमस्टे) ले पछिल्लो समय लोप हुँदै जान थालेका संस्कार, कला र संस्कृतिको संरक्षणमा टेवा पुर्याएका छन् । घरवास पर्यटनले गाउँमा आउने पाहुनालाई स्वागत सत्कार गर्दै नयाँ र फरक स्वादका मौलिक कला, संस्कृति पस्किन थालिए सँगै लोप हुने अवस्थामा पुगेका त्यस्ता कला र संस्कृतिको संरक्षण हुन थालेको हो । विभिन्न जातजाति तथा समुदायको बसोबास रहेको पर्यटकीय जिल्ला लमजुङमा आधुनिक समयको विकास क्रमसँगै २०५७ सालबाट पर्यटकीय गाउँ घलेगाउँबाट होमस्टे पर्यटनको शुरुआत भई जिल्लाको काउलेपानी, राइनासकोट, सिउरुङ, ढगैँ, नरुवल पाखाथोक, खासुर, भुस्मे, ताघ्रिङ, तुर्लुङकोट, भुजुङ लगायत एक दर्जनभन्दा बढी स्थानमा होमस्टेहरु सञ्चालन भएका छन् ।

विशेषगरी गुरुङ, नेवार, मगर, तामाङ, भुजेल साथै दलित समुदायले समेत होमस्टे सञ्चालन गरेका छन् । होमस्टेमा पर्यटकहरुको सङ्ख्यामा दिनहुँ वृद्वि हुँदै गर्दा उनीहरुलाई आफ्नो संस्कार, संस्कृति देखाउने गरेको र यसले संस्कार संस्कृतिलगायत गुरुङ समुदायको मौलिक परम्परागतको संरक्षण गरेको क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष एवं घलेगाउँ पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रेमबहादुर घलेले बताउनुभयो । “होमस्टेमा आउने पर्यटक तथा पाहुनालाई गरिने स्वागतका लागि बाटोमा लाइन लागेर गुरुङ संस्कृतिअनुसार सेतो टीका, फूलगुच्छा, गिलासमा लोकल रक्सी राखी पाहुनालाई गाउँलेले नै तीन पटक खुवाइदिएर स्वागत तथा सम्मान गर्छौँ”, उहाँले भन्नुभयो । बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष एवं होमस्टे सञ्चालक देवबहादुर घले भन्नुहुन्छ, “बाउबाजेको पालोपछि होमस्टे सञ्चालन हुनु अघिसम्म चासो दिन छोडिसकेको जस्तै भएको थियो ।

हाम्रो गुरुङ संस्कृति लोप हुँदै गएको अवस्थामा होमस्टेले संरक्षण गरेको छ ।” काउलेपानी होमस्टेमा आउने पर्यटक तथा पाहुनालाई मनोरञ्जन दिनका लागि तथा गुरुङ संस्कृति चिनाउन तथा संरक्षण गर्न लोपोन्मुख घाँटु नाच, कौरा नाच, झ्याउरे नाच देखाउने गरेको उहाँको भनाइ छ । यस नाच देखेर आन्तरिक तथा बाह्य पर्यटकहरु पनि रमाउँछन्, गुरुङ संस्कृतिको पनि भावी पुस्तासम्म जोगाइराख्न होमस्टेबाट मद्दत पुगेको काउलेपानीका गुरुङ होमस्टे सञ्चालकहरु बताउँछन् । काउलेपानीमा नेवार समुदायले पनि होमस्टे सञ्चालनमा ल्याएका छन् । काउलेपानी आइपुगेका पर्यटकलाई नेवारको चलनअनुसार स्वागत गर्ने गर्दछन् । काउलेपानी होमस्टे सञ्चालक लक्ष्मी श्रेष्ठ भन्नुहुन्छ, “नेवार समुदायका होमस्टेमा परेका पर्यटकलाई परम्परागत नेवारी खाजाका परिकारहरु बनाएर पर्यटकहरुलाई दिने गर्छौं ।” उहाँका अनुसार अधिकांश पर्यटकले नेवारी परिकारहरु रुचाउँछन् ।

सो होमस्टेमा बिहानको खाजा सेटमा नेवारी परिकारहरु सिन्कामारी, भट्टमारी, झिलिङ्गा, सेलरोटी चिउरालगायतका परम्परागत खाजाहरु बनाएर खुवाउने गर्दछन् । यसले आम्दानीका साथै नेवारी परम्परागत परिकारहरुको संरक्षण गर्न पनि सहयोग पुगेको छ । पर्यटकलाई नेवारको परम्परागत संस्कृति लोपोन्मुख लाखे नाच, गाई जात्रा, घोडेजात्रा, बाघ जात्रा, कृष्ण जात्रालगायतका संस्कृतिका नाचहरु देखाउने गर्नाले नेवार समुदायको लोप हुँदै गएको संस्कृति नयाँ पुस्ताका लागि पनि बचाइराख्न होमस्टेले ठूलो भूमिका खेल्ने गरेको होमस्टे सञ्चालक श्रेष्ठले बताउनुभयो । मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङ होमस्टेका सञ्चालक गौरी गुरुङले भन्नुभयो, “हाम्रो संस्कृतिबारे आन्तरिक तथा बाह्य पर्यटकले अरूलाई पनि प्रचार गर्छन् जसले गर्दा हाम्रो संस्कृति जोगाइराख्नका लागि होमस्टेले टेवा पुर्याएको महसुस गरेका छौँ ।

” विस्तारै रोधी बस्ने परम्परागत संस्कृतिलाई जोगाउन धौधौ भइरहेको थियो, होमस्टे शुरु भएसँगै अधिकांश पर्यटकको पनि आगमन भइरहेकाले पर्यटकहरुसँग रोधी बस्ने गरेका छन् । गुरुङ संस्कृतिको संरक्षण गर्न होमस्टेले ठूलो भूमिका खेलेको सिउरुङ गाउँका होमस्टे सञ्चालक उमरबहादुर गुरुङले बताउनुभयो । बेँसीशहर नगरपालिका–२ स्थित नरुवाल पाखाथोकमा मगरगाउँ होमस्टेले समेत मगरको कला, संस्कार संस्कृतिको संरक्षणमा टेवा पुगेको मगरगाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर मगरले बताउनुभयो । उहाँका अनुसार पर्यटकका लागि मगरहरुको कौरा नाच, चुट्का नाच, झाम्रे (झ्याउरे) नाचलगायत विभिन्न नृत्य देखाउने गरिन्छ । मस्र्याङ्दी गाउँपालिका–८ स्थित भुस्मे गाउँमा सञ्चालित तामाङ होमस्टेमा आफ्नो जातीय वशभूषा र संस्कृतिक र नाच देखाउनाले तामाङ संस्कृतिको समेत संरक्षण भएको तामाङ होमस्टेका सञ्चालक होमराज तामाङले बताउनुभयो ।