हाम्रो संरचना बिहिबार, कार्तिक ११, २०७८ 411 Views

१० असार, बाँके / मानव वस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती बढ्दै गएको छ । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गरिएको कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारी नै बताउँछन् । नेपालगञ्ज शहर विस्तार हुने क्रमसँगै कारागार क्षेत्र बाहिर मानव वस्ती पनि बाक्लिँदै गयो । बस्ती बाक्लिँदै गएपछि कारागार अहिले नेपालगञ्जको ठीक बीच भागमा रहन पुगेको छ । कारागार मानव वस्तीको बीचमा पर्दैमा जोखिम भइहाल्दैन । कारागारभित्र कुनै अप्रिय घटना भयो भने त्यसको त्रास बाहिर वस्तीका नागरिकमा पर्ने हो । कैदी कैदीबीच पनि बेलाबखत हुने भैmझगडाको अप्रत्यक्ष असर त्यस क्षेत्रका नागरिकमा पर्न जाने गरेको जेलर भरत पाण्डे बताउनुहुन्छ ।

कैदीबीचको झगडा नियन्त्रण गर्ने क्रममा केही वर्षअघि कारागार सुरक्षाकर्मीको गोली लागेर एक कैदीको मृत्युसमेत भएको थियो । विगतका यी घटना फेरि दोहोरिँदैनन् भनेर किटान गर्न नसकिने भएकाले पनि कारागारलाई अन्यत्र सार्नुपर्ने आवाज नागरिक र प्रशासनिक स्तरबाटै उठ्न थालेको छ । नेपालगञ्ज–१० मा रहेको कारागारको भौतिक अवस्था पनि अहिले जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीको सङ्ख्या पनि बढ्दै गएको छ । कारागार वरिपरिको वातावरण पनि एकदमै फोहर रहेको जेल पाण्डेले बताउनुभयो । कारागारबाट निस्केको फोहर हाताभित्र फालिन्छ । ढल निकासको व्यवस्था पनि छैन । फोहर बढी भएकाले कैदी पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ ।

फोहरकै कारण कैदीको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो छ । यस्तै समस्याका कारण कारागारले सुरक्षा चुनौती अझै बढाएको जेलर पाण्डेको भनाइ छ । कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना वस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । मानव वस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि सरकारले अहिले बाँके जिल्लाको गनापुरमा खुला कारागार निर्माण गर्ने भने पनि उक्त काम पूर्णरुपमा अघि बढ्न सकेको छैन । आठ बिघा क्षेत्रफलमा रहेको खुला कारागारको दुई कोठा र छावनी निर्माण कार्य सकिए पनि अन्य संरचना निर्माणमा ढिलाइ भइरहेको छ । सुरक्षा दिन कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घना वस्तीको बीचमा कारागार रहेका कारण सुरक्षा चुनौती बढेको हो । बाँकेको नौबस्तामा क्षेत्रीयस्तरको कारागार र गनापुरमा खुला कारागार निर्माणाधीन अवस्थामा छ । “तीन हजार क्षमताको कारागार निर्माण सकिएपछि समस्या समाधान हुनेछ,” जेलर पाण्डेले भन्नुभयोे । वर्षौंदेखि क्षमताभन्दा बढी कैदीबन्दी राखिने गरेको नेपालगञ्ज कारागारको व्यवस्थापन अझैसम्म गर्न सकिएको छ । तीनसय कैदीबन्दी राख्न सकिने क्षमताको नेपालगञ्ज कारागारमा वैशाख मसान्तसम्म ७५५ कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका थिए । जेलको क्षमता ५० महिला र २५० पुरुषको हो तर, क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी यहाँ छन् ।

वैशाख मसान्तसम्म ४०५ कैदी र ३५० थुनुवा रहेको नेपालगञ्जमा चाप कम गर्न ३५ जनालाई जेठमा दैलेख कारागार पठाइएको जेलर पाण्डेले जानकारी दिनुभयो । थप १२ जना गणतन्त्र दिवसको अवसरमा छुटेका थिए । जेठ अन्तिमसम्म पनि कारागारमा ७०८ जना कैदीबन्दी थिए । कैदीबन्दी दिन प्रतिदिन थपिँदै जाने तर, थपिएको भन्दा कम सङ्ख्यामा कैदीबन्दी छुट्ने गरेका कारण कारागारमा चाप बढेको हो । “प्रत्येक दिन कैदीबन्दी थपिने र जाने क्रम जारी हुन्छ,” जेलर पाण्डेले भन्नुभयो – “तर छुट्नेभन्दा कैदीबन्दी थपिने क्रम बढ्दो छ ।” कुल २५० पुरुष बस्न सक्ने कारागारमा ६५० जना कोचिनुपरेको छ । गर्मीमा कैदीहरुले ज्यादा भोग्नुपर्छ । पर्याप्त ठाउँ नभएपछि बरण्डा, खुला आँगन, भान्सा र शौचालयको छतमा समेत कैन्दीबन्दी सुत्न बाध्य छन् ।

जेलर पाण्डेले भन्नुभयो – “ठाउँ व्यवस्थापन गर्न सक्ने अवस्था छैन । भएकै ठाउँमा मिलाएर राख्नुपर्ने बाध्यता छ ।” “जेलभित्रै थप पूर्वाधार निर्माणका लागि बजेट र स्थान दुवै उपलब्ध छैन,” हालकै अवस्थामा कैन्दीबन्दीको व्यवस्थापन गर्नुपर्ने बाध्यता सुनाउँदै उहाँले भन्नुभयो । पानी परेपछि ओत लागेर राति जागै बस्नुपर्ने अवस्था आउने गरेको कैदीहरु बताउँछन् । कैदीबन्दीहरुका लागि पिउनेपानी, बिजुली र मनोरञ्जनका साधनको पनि कमी छ । पचास जना महिला कैदीबन्दी अट्ने यो कारागारमा उनीहरुलाई भने खासै समस्या छैन । क्षमताभन्दा बढी कैदीबन्दी भए पनि उनीहरु अन्यत्र जिल्लाका कारागारमा जान भने रुचि राख्दैनन् । “जे–जस्तो समस्या भए पनि अन्य कारागारमा जान अनिच्छुक हुने गरेका कारण जेलमा चाप बढ्दै गएको हो,” उहाँ भन्नुहुन्छ ।

अधिकाँश थुनुवाहरुको यहीँ मुद्दा चलिरहेका कारण पनि कैदीहरु अन्यन्त्र जान नचाहेको हुनसक्ने जेलर पाण्डेको भनाइ छ । कैदीहरु पनि अन्यत्र सर्नेभन्दा जेलभित्र थप भवनहरु बनाए सहज हुने बताउँछन् । यस कारागारमा पुर्पक्ष र सजाय काटिरहेका सबैभन्दा बढी कैदीबन्दी लागुऔषधकै रहेका छन् । गत वैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार कारागारमा लागुऔषध मुद्दाका कुल २७५ जनामध्ये १३५ कैदी र १४० थुनुवा रहेका छन् । लागुऔषध मुद्दामा पुरुषतर्फ १२८ जनाले सजाय काटिरहेका छन् भने पुर्पक्षमा १३२ जना रहेका छन् । उक्त मुद्दामा सजाय काटिरहेका ७ महिला छन् भने पुर्पक्षमा ८ जनाले कारागारमा दिन बिताइरहेका छन् । कर्तव्य ज्यानका १०६ कैदी रहेका छन् भने ३९ जना कर्तव्य ज्यान मुद्दाका थुनुवा छन् । यस्तै, ७१ जना जबर्जस्ती करणीका कैदी रहेका छन् भने ४३ जना जबर्जस्ती करणीका थुनुवा छन् । मानव बेचबिखनका १६ कैदी र २३ थुनुवा रहेका छन् ।

थुनामा रहेको ५७ विदेशीमध्ये ५५ भारतीय छन् । अपहरण र शरीर बन्धक मुद्दामा एक भारतीय महिलाले सजाय काटिरहेको कारागार प्रशासनले जनाएको छ । कारागारमा कैदी तथा थुनुवाहरुका लागि शीपमूलक तालीमको आयोजना गर्ने गरिएको छ । कैद भुक्तान गरेर फर्किदा जीविकोपार्जन गर्न सहज होस् भन्ने उद्देश्यले विभिन्न समयमा शीपमूलक तालीम आयोजना गर्ने गरिएको जेलर पाण्डेले जानकारी दिनुभयो । अहिले ३५ पुरुषले वायरिङ्ग र १३ महिलाले ब्युटिसियन तालीम लिइरहेका छन् । कारागार भवन र बाहिर सुरक्षा निगरानीका लागि १० वटा सिसी क्यामेरा जडान गरिएका छन् । पाँच वटा सिसी क्यामेरा थपिँदै छ । खानेपानी समस्या समाधानका लागि डिप बोरिङ्गको काम भइरहेको छ ।