१२ असार, बाजुरा / बुढीनन्दा नगरपालिका ९ पाण्डुसेनमा गत वर्ष पुस २४ गते छाउगोठमा अम्मा बोहारा सहित उनका दुई छोराको मृत्यु भयो। यो घटनापछि ‘ज्यानमारा छाउगोठ’ भन्दै गोठ भत्काउने अभियान तीब्र भयो ।
स्थानीय तह, प्रहरी, प्रशासन, नागरिक अगुवा समेत छाउगोठ भत्काउन लागे । तर यसको परिणाम भने उल्टो भएको छ। छाउगोठ भत्काइएपछि अहिले छाउपडी ओढार र पालमुनी झन् असुरक्षित बस्दै आएका छन्।
हिमाली गाउँपालिका १ बस्ने जौला रोकाया छाउपडी गोठ बस्न लागेको १३ वर्ष भयो । महिनावारी भएको समयमा उनी सधैँ घर अलगैको गोठमा बस्दै आएकी थिइन्। तर गाउँका अगुवा महिलाले छाउपडी गोठ भत्काएपछि अहिले महिनावारीको बेला उनी असुरक्षित तरिकाले घर बाहिर बस्नुपरेको छ।
गाउँलाई छाउपडी गोठमुक्त घोषणा गर्न अगुवा महिलाले गोठ भत्काइदिएपछि आफू गाँउ नजिकै रहेको ओढार, पालमा बस्दै आएको जौलाले बताइन्। ‘संस्थाका प्रतिनिधि र केही महिला नेता आएर गोठ भत्काए। घरमा बस्न घरकाले दिँदैनन्’, उनले भनिन्, ‘अनि गाउँ नजिकै जंगलको ओढारमा बस्ने गरेको छु।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिमा प्रकाशित छ ।
हाम्रो संरचना । १२ असार २०७६, बिहीबार ०८:४९