एसईईको नतिजा सार्वजनिक

१२ बैशाख,नेपालगञ्ज/ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।

मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। १ हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको थियो।

नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकैपटक सार्वजनिक गरिएको छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।

संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल ४ लाख ७५ हजार तीन जना विद्यार्थी सहभागि भएका थिए। जसमा छात्रा तर्फ २ लाख ३८ हजार ५ सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए।

प्रदेश नं १ बाट – ८३ हजार ६ सय १८, प्रदेश नं २ बाट – ७० हजार ५ सय १८, प्रदेश नं ३ बाट – १ लाख हजार दुई,  गण्डकी प्रदेशबाट  ४८ हजार ६३, प्रदेश नं ५ बाछ– ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट – ३५ हजार ६ सय ३४ र सुदुरपश्चिम प्रदेशबाट – ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सहभागि भएका थिए।

परीक्षाको लागि २९ हजार ५ सय ३५ सुरक्षकर्मी परिचालन गरिएको थियो। अनिवार्य छ वटा विषयको प्रदेश अनुसार फरक प्रश्न पत्रको व्यवस्था गरिएको थियो।