पचास ठाउँको उप-निर्वाचन कार्तिकमा

१८ असार, काठमाडौं / निर्वाचन आयोगले जनप्रतिनिधि विहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उप-निर्वाचन गराउने लक्ष्य सहित तयारी अघि बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उप-निर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उपनिर्वाचनको खाका बनाउने कार्य अघि बढाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार, आयोगले जनप्रतिनिधि रिक्त रहेको संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेको थियो । संघमा १, प्रदेशमा ३ र स्थानीय तह तर्फ ३ प्रमुख र ४३ वडा अध्यक्षको लागि उपनिर्वाचन गराउनुपर्ने छ ।

त्यसैगरी, नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त छन् । सुनसरीको धरान उप-महानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्ग बहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्बाङको निधन भएकोले ती स्थान रिक्त भएको हो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।