देउवाविरोधी फरक–फरक समूहकाे साझा बैठक

१८ असार, काठमाडौँ / कांग्रेसमा सभापति शेरबहादुर देउवाविरोधी फरक–फरक समूहले साझा बैठक गरेका छन् । उनीहरूले वडादेखि प्रदेशसम्म गठन हुनुपर्ने विधानअनुसारका संरचनालाई निर्वाचनबाटै पूरा गर्नुपर्ने विषयमा अडान लिने सहमति गरे ।

नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सुजाता कोइरालासहितको बैठकले केन्द्रीय समितिमा साझा विषय उठाउने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय समिति बैठक २२ असारमा बस्दै छ । देउवा समूहबाहेकका शीर्ष नेताहरूले नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीको निवास सामाखुसीमा छलफल गरेका थिए । बैठकमा उदयपुरका सभापति विदुर बस्नेत र रोल्पाका सभापति अमरसिंह पुन पनि सहभागी थिए ।

नेता रामचन्द्र पौडेलले केही जिल्ला सभापतिहरूले छलफल गर्न चाहेपछि आफूहरू बैठक बसेको जानकारी दिए । सभापति देउवासँग समय बढाउने विशेष अवस्था नरहेको भन्दै १४औँ महाधिवेशनअन्तर्गत सदस्यता वितरणदेखि तल्लो तहका अधिवेशनमा लाग्नुपर्ने विषयमा छलफल भएको पनि उनले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।