हाम्रा बा …..

 

हाम्रा बा …..
लेखक : कृष्ण प्रशाद ढकाल

दिदीभाइ सानो हुँदा कुरा गर्ने गर्थ्यौं- “केही गरी हाम्रा बा मर्नुभयो भने हामी पनि बासँगै मर्ने है।”

साँच्चै बा हुनुभएन भने हामी कसरी बाँच्नु, केका लागि बाँच्नुजस्तो लाग्थ्यो ।
तर आज बा बितेको पनि वर्ष दिन भैसक्यो । बासँगसँगै हामी मर्न त सकेनौं तर बाबिनाको यो एक वर्ष हाम्रा लागि साह्रै अँध्यारो भयो।

बा छउन्जेल जे परे पनि ‘बा हुनुहुन्छ नि, बालाई भन्छु नि, बासँग सल्लाह गर्छु नि’ जस्तो लाग्थ्यो । बाले छाडेपछि हामी छानो नभएको घरमा बसेजस्ता भयौं।

बाआमा दुवै छउन्जेल ‘टुहुरो’ शब्द हामीलाई चरीको प्वाँखजस्तै हलुको लाग्थ्यो । तर यो शब्द कति गह्रुको, कति पीडादायी र कति गम्भीर रहेछ भन्ने कुरा हामीले यो एक वर्षमा चाल पायौं ।

हामी भारेभुरे हुँदा बाजस्तो बलियो, सबै थोक जानेको र राम्रो मान्छे कोही छैनजस्तो लाग्थ्यो । ‘बाले त संसारै तह लाइदिनुहुन्छ, सबैलाई जित्नुहुन्छ’ जस्तो लाग्थ्यो। कसैले गाली गर्यो वा कुट्यो भने- ‘पख् न हाम्रा बालाई भन्दिन्छु’ भन्थ्यौं । त्यति मात्रै भन्दा पनि मनमा अभूतपूर्व हिम्मत र भरोसा जागेर आउँथ्यो ।

तर हुर्कँदै गएपछि थाहा पाइयो- हाम्रा बा त साधारण किसान पो रहेछन्। सबैलाई जित्न सक्ने, सबैभन्दा ठूलो त होइन पो रहेछन्।
तै पनि बा त बा नै हुन्।

आफ्नो पनि कपाल फुल्दै गएपछि लाग्न थाल्यो- बाआमा सम्मानित हुने विद्वान् भएर वा धनी भएर वा राम्रा भएर वा शक्तिशाली भएर होइन रहेछ। बाआमा सिर्फ बाआमा भएका कारण श्रध्देय हुने रहेछन् । मेरा बा सिर्फ बा भएका कारण म उहाँलाई अभूतपूर्व श्रध्दा गर्छु ।

साधारण किसान भए पनि बाका केही असाधारण स्वभाव थिए। उहाँको खेतीपातीप्रतिको लगाव र सम्मान अचम्म लाग्ने खालको थियो।

उहाँ खेतीलाई ‘धरती माता’ भनेर पुकार्नुहुन्थ्यो । उहाँका करिब असी प्रतिशत कुराकानी खेतीपाती, मलबीउ र बस्तुभाउसँग सम्बन्धित हुन्थे।

हामीलाई सधैँ भन्नुहुन्थ्यो- “बाबुहो, हामीले धर्तीलाई हँसायौँ भने धर्ती माताले पनि हामीलाई हँसाउँछिन्। हामीले धर्तीलाई नाङ्गै बनायौँ भने हामी भोकै पर्छौं।” खेतीपाती खनजोत गर्यो, मलबीउ छर्यो र हराभरा बनायो भने धर्ती माता हाँस्छिन् भन्नुहुन्थ्यो ।

हामी पढ्दै गएपछि कोदाली छोड्दै गयौं। जागिर खाएपछि त जिमिनबाट झन् टाढा भयौं । तर उहाँले जीवनको अन्तिम घडीसम्म धूलीमाटी खेलिरहनुभयो । उमेर चढेसँगै हलोकोदाली कम गर्नुभयो तर खेतीप्रतिको लगाव एक रत्ती घटाउनुभएन। खेतीमा नटेकी उहाँलाई निद्रै नलाग्ने । खेतबारीमा टेक्न नपाए घरबाट अलि पर डाँडामा निस्केर आँखामा हत्केलाको ढकनी बनाएर धीत मरुन्जेल खेती हेर्नुहुन्थ्यो र उज्यालो मुख लाएर घर आउनुहुन्थ्यो ।

“ए बा! अब त खेती खेती भन्न छोड्नुस्, हामी सहरमा लगेर सुख कटाएर पाल्छौं । असी वर्ष उमेर घर्किसक्दा पनि केका लागि खेतबारी धाउनुहुन्छ?” हामी छोराछोरी बारम्बार भन्थ्यौं।

तर उहाँ भन्नुहुन्थ्यो- “म खेतमा ग’को खान नपाइएला भनेर हो र? माटोको बास्ना सुँघ्न पो ग’को । खेतीलाई घृणा गर्न हुन्न बाबुहो। माटोलाई घृणा गर्ने मान्छेलाई भगवान्ले भलो मान्दैनन् । तिमीहरू खेती छोडेर ठूलो मान्छे भइन्छ भन्ने सोच्छौ भने गलत हो। खेतीलाई चटक्क छोड्यौ भने एक दिन धोका पाउँछौ । धरती छोडेको हवाईजहाज कतिन्जेल हावामा मात्रै उडिरहन सक्छ? कि त ढिलो चाँडो धरतीमै बस्न आउनुपर्छ कि त इन्धन सकिएर आकाशमै जल्छ।”

जसरी चरो चाहारा बटुल्न दिनभरि अनेकतिर जान्छ र रात बस्न आफ्नै गुँडमा फर्कन्छ त्यसै गरी मान्छे पनि उमेरमा लेखपढ गर्न, जागिर खान, उन्नति-प्रगति गर्न देशविदेश जानुपर्छ तर खेतीपातीलाई चटक्क माया मार्न हुन्न भन्ने उहाँको मान्यता थियो ।

हाम्रा बा खेतीकिसानीलाई ‘पेसा’ होइन ‘धर्म’ भन्ने गर्नुहुन्थ्यो ।
“तिमरु जागिर खाएर के गर्छौ- आफ्नो ज्यान पाल्छौ, परिवार पाल्छौ, त्यही होइन? तर किसानीले कतिलाई पाल्छ थाहा छ? चराचुरुङ्गी, मुसाछुचुन्द्रा, कीराफट्याङ्ग्रा, जोगीसन्न्यासी, राजोदेउतो सबलाई पाल्छ। त्येसैले खेती गर्नु त यज्ञ गर्नुजस्तै हो । योभन्दा ठूलो धर्म के छ?”

मंसिर मासमा चराहरूको बथान लहलह पाकेको धानमा पस्थ्यो र भकाभक खान थाल्थ्यो । हामी भुराहरू ढुंगामूढा गरेर, टिन ठटाएर चरा धपाउँथ्यौं । तर बा हामीलाई हप्काउँदै आउनुहुन्थ्यो- “ए केटाकेटीहो! चरालाई ढुंगा नहन त। तिमरु यता आओ।”

हामी उहाँ भएतिर लुरुक्क जान्थ्यौं ।

“ल यहाँ बस” उहाँ हाम्रा हात समाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो- “हेर बाबुहो, तिमीहरूलाई यो धान हामीले मात्रै फलाएको जस्तो लाग्छ होला होइन? तर कुरो त्यसो होइन नि। हामीले धानको बीउ जस्तो रोपेका थियौं त्यस्तै ठिङ्ग उभिएको भए, यसमा धानको गेडो नपसेको भए हाम्रो के लाग्थ्यो ? धानको बीउ पो हामीले रोप्यौं, बालोगेडो लगाइदिएको त भगवान्ले हो नि। अनि यसमा हाम्रो मात्रै हक छ त? भगवान्को भाग छैन? फेरि भगवान्ले पाल्नुपर्ने हामी मान्छेलाई मात्रै हो र? यत्रा जीवजन्तु, चराचुरुङ्गी पनि त पाल्नुपर्यो । तिनीहरूले चैं के खाऊन् बिचरा? भगवान्ले पनि हामी मान्छेले जस्तै आफू मात्रै खाने, आफ्नो परिवार मात्रै पाल्ने गर्न थाले भने सृष्टि कसरी चल्छ?”

“यी चराले कति पो खालान् र? हद्द खाए दुई-चार मुरी। त्यति खाएर हामी भोकै त पर्दैनौं नि । बरु यिनले खाएर हुने नोक्सानीबराबर उब्जनी हुने पाखो बिराऊँ। नयाँ बीउबीजन लगाऊँ । अलि राम्रो गोडमेल गरौँ । उब्जनी बढाऔं । अनि त उत्तिको उत्ति भैहाल्यो नि। ल, चरसरा धपाउन छोडेर घरतिर जाओ।”

बा खाली हात बसेको मैले कहिल्यै देखिनँ। गफ गरेर बस्दा पनि कि त मकै छोडाइराख्ने कि बाबियो वा पाटको डोरी बाटिराख्ने कि त कोदलाकोदालीको बिँड बनाइराख्ने । ‘शरीरले नसके बेग्लै हो। नत्र अल्छी गर्नु पाप हो’ भन्ने उहाँको मान्यता थियो ।

उहाँले अन्नका गेडालाई र हामी छोराछोरीलाई सायद उत्तिकै माया गर्नुहुन्थ्यो । एक गेडो अन्न वा एक सितो भात फ्याँक्यौं भने हाम्रो सातो खाँदै भन्नुहुन्थ्यो- “अन्न प्राणेश्वर हो, फाल्यो भने पाप लाग्छ । यो एक गेडो अन्न फल्न कति महिना लागेको छ, कति हलोकोदाली गर्नुपरेको छ, कति रगतपसिना चुहाउनुपरेको छ थाहा छ तिमर्लाई? भगवान्ले के भन्छन्?”

उहाँले साँच्चिकै थुक लगाएर गेडा टिपेको मैले देखेको छु।

सानो छँदा ‘यी बूढा कतिसाह्रो कन्जुस हुन्’ जस्तो लाग्थ्यो। अहिले आएर उहाँका कुरा गल लाग्छन् ।

बा यति धेरै परिश्रम गर्नुहुन्थ्यो कि भनिसाध्य छैन। चार बीस उमेर खाइसक्दा पनि उहाँको खटाइ सोह्रवर्षेको भन्दा कम थिएन । उहाँसँग हिंड्न, काम गर्न जो पायो उसैले सक्तैनथ्यो। सायद तेही भएर होला जीवनको अन्तिम घडीसम्म पनि उहाँ तगडा नै हुनुहुन्थ्यो।

कहिलेकाहीं त बाले हामीलाई भन्दा अरूलाई नै बढी माया गर्नुहुन्छ कि जस्तो लाग्थ्यो। घरमा कोही दाजुभाई वा इष्टमित्र आयो भने पाकेको खाना पहिला उनीहरूलाई खुवाउने, दूधदही जे छ उनीहरूलाई दिने। कहिलेकहीँ त हामीलाई रहँदै नरहने। फेरि पकाउनुपर्ने। भन्नुहुन्थ्यो– “आफ्ना त आफ्ना भैहालेउ नि । यत्रो श्रीसम्पत्ति तिमीहरूकै तो हो नि। पाहुना भनेका बेलामौकामा आउने हुन् । दिएर, ख्वाएर कहिल्यै सकिन्न बाबुहो ।”

बा अन्तिम घडीमा अएर गम्भीर रोगले थलिनुभो। केही दिन त ओछ्यानमै पर्नुभो । उहाँलाई भेट्न थुप्रै शुभचिन्तकहरू आउनुभयो। बोल्न पनि मुस्किल पर्ने त्यस क्षणमा उहाँले बोल्ने सिर्फ एउटै कुरा थियो- “खान खायौ? फलफूल, चिया, खाना खाएर जाओ है। खाली मुख कोही नजाओस् है ।” अहिले पनि दाजुभाई इस्टमित्रहरू बाका तिनै शब्दहरू सम्झेर मुटुमा भक्कानो पार्नुहुन्छ।

बाका अन्तिम दिनहरूमध्ये केही दिन म उहाँको साथमा रहन सकिनँ। एउटा कामको सिलसिलामा अचानक श्रीलंका जानुपर्यो । फर्कनासाथ म उहाँको ओछ्यानको छेउमा बसेँ। बाले मेरो हात च्याप्प समाउनुभयो, एक छिन थरथर ओठ कमाउनुभयो, केही बोल्न खोजेजस्तो गर्नुभयो र मुस्किलले भन्नुभयो-“मलाई लिन हिजै आएका थिए। तर म हिजो गइनँ। तँलाई कुरेर बसेको । तेरो मुख देखिहालेँ- अब म जान्छु है।”

त्यसो भनेर बाले लामो सास तान्नुभयो र निर्धक्क खुट्टा तन्काउनुभयो । अनि मस्त निद्रामा परेजस्तो देखिनुभयो । आफूले मागेजस्तै खेलौना पाएपछि बालकको अनुहार जसरी खुसीले चम्कन्छ त्यसै गरी आनन्दमा लीन भएजस्तो देखिनुभयो ।

त्यसपछि उहाँ सिर्फ एक पल्ट बोल्नुभयो- “मलाई तुरुन्त तुलसाको मोठमा लागिहाल ।”

म सानो छँदा बाले मलाई खाटमाथि उभ्याउनुहुन्थ्यो अनि आफू भुइँमा कक्रक्क परेर बस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो- “ल हेर, मेरो छोरो त मभन्दा अग्लो भैसकेछ।” तर उहाँ लामो हुनुहुन्थ्यो। कति लामो भने तुलसीको मठबाट बलेँसीसम्म- करिब छ फिट। यतिखेर उहाँ कक्रक्क पर्नुभएको थिएन, खुट्टा खुम्च्याउनु भएको पनि थिएन। तन्काएको तन्काइ। तन्काएको तन्काइ।

बा मलाई काँधमा बोकेर हिँड्नुहुन्थ्यो- खेतीपाती, बिहेबारी, गाउँघर, मामाघर जहाँ जाँदा पनि। अनि कस्सैले नसोधे पनि हँसिलो आवाज पारेर भन्नुहुन्थ्यो- “यो मेरो छोरो। चार-चार ओटी छोरीपछि बूढेस कालमा जन्मेको। अलि पुलपुलिएको छ। हिँडनै मान्दैन भन्या।”

तर वास्तविकता अर्कै थियो। ‘म हिँड्छु बा’ भन्दा पनि उहाँ मलाई हिँड्नै दिनुहुन्थेन।

“आइज आइज म बोक्छु। तँ हिँड्न सक्तैनस्।” धोद्रो धोद्रो बोली पारेर उहाँ मलाई हकार्नुहुन्थ्यो । अनि बाँसजत्तिकै अग्लो आफ्नो काँधमा मलाई जुरुक्क उचाल्नुहुन्थ्यो।

“तपाईंलाई गाह्रो भो के बा।” म काँधबाटै चिच्च्याउँथे।

उहाँ भन्नुहुन्थ्यो- “तँलाई पनि गाह्रो हुने दिन आउँछ, धेरै नकरा। मलाई पनि तैँले यसै गरी बोक्नुपर्छ।”

म अचम्म मानेर सोच्थेँ- ‘यत्रा बाउलाई म भुराले कसरी बोक्नु होला । हाम्रा बा पनि के भन्छन् के।’

तर आज बालाई काँध हाल्ने दिन आयो।

फरक यत्ति थियो- बा मलाई काँधमा हालेर जहाँ लागे पनि घरमै लिएर आउनुहुन्थ्यो। बरु आफैँलाई फ्याँक्नुहुन्थ्यो होला तर मलाई काँधबाट खस्न दिनुहुन्नथ्यो। तर म बालाई फेरि कहिल्यै घरमा नल्याउने हिसाबले काँधमा बोकेर दौडिरहेको थिएँ।

बरु बाले मलाई गाली गरी-गरी कुटी-कुटी हुर्काएको भए सायद बालाई बोकेर कुद्दै गर्दा बाटो त राम्रोसँग देख्दो हुँजस्तो लाग्दै थियो मनमा।

बा! ‘सोझाको सहाय दैव’ भन्ने गर्नुहुन्थ्यो । सायद भगवानसँगै हुनुहुन्छ होला। आनन्दले रहनुस् है।

कृष्ण प्रशाद ढकालले आफनै बुवाको प्रथम बार्षिकीको अवसरमा आफनो फेसबुक पेजमा सार्वजनिक गर्नुभएका बा प्रर्ति सर्मपित अमुल्य शब्हदरुबाट लिईएको ।